
दीननाथ बराल,
पोखरा, ९ कार्तिक,
पोखरामा भोलि (आइतबार) छठ पर्व धुमधामका साथ मनाइने तयारी गरिएकोे छ । तराई–मधेश समुदायका श्रद्धालुहरूले पोखरामै सहज रूपमा सूर्य उपासना गर्न सकून् भन्ने उद्देश्यले यस वर्ष पनि चार प्रमुख स्थानमा विशेष छठको पूजा गर्ने गरी तयारी गरिएको हो ।

छठ पर्व मनाउन पोखराको लेकसाइडस्थित बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाट त्रिवेणीधाम (कालिखोला), सेतीनदी किनार र कमलपोखरी (भद्रकाली मन्दिर परिसर तल) गरी चार स्थानलाई विशेष रूपमा सजाइएका छन्। यी स्थानहरूमा शनिबारदेखि सरसफाइ, बत्ती सजावट र फूलले ढकमक्क पार्ने कार्य सुरु गरिएको नारायणथान मन्दिर संरक्षण समितिका उपाध्यक्ष विनोद गुप्ताले पोखराक्लिकलाई जानकारी दिनुभयो।
उहाँका अनुसार सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिइने र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने तयारी गरिएको छ । पूजा स्थलहरूमा फूलमाला, रंगीन बत्ती र टेन्ट जडान गरी श्रद्धालुका लागि बस्ने व्यवस्था मिलाइँदै छ । पोखरामै छठ पर्व मनाउने भक्तहरूका लागि सहज वातावरण सृजना गर्न समितिहरू सरसफाइदेखि आन्तरिक व्यवस्थापनसम्ममा जुटेका छन्।
नेपाल भारत व्यवसायी संघ (एन.बी.) छठ पूजा समितिको आयोजनामा हुने केदारेश्वर क्षेत्रको मुख्य पूजालाई व्यवस्थित बनाउन शनिबारदेखि सरसफाइ कार्य सुरु गरिएको समितिका अध्यक्ष विश्राम कुशवाहाले पोखराक्लिकलाई बताउनुभयो। उहाँका अनुसार कार्तिक १० गते अपराह्न साढे ३ बजेदेखि साँझ ७ बजेसम्म र ११ गते बिहान साढे ३ बजेदेखि ७ बजेसम्म छठ पूजा सञ्चालन हुनेछ।
एन.बी. व्यवसायी संघ कास्कीका पूर्वअध्यक्ष भुनेस कुमारका अनुसार पेशा र व्यवसायका कारण पोखरामै बसोबास गरिरहेका तराई–मधेशका समुदायका श्रद्धालुहरूले पछिल्ला वर्षहरूमा पोखरामै छठ पर्व मनाउने परम्परा स्थापन गर्न सफल भएका छन्। यसले उनीहरूलाई आफ्नै सांस्कृतिक पर्व आफ्नै सहरमा मनाउन सहज बनाएको उहाँको भनाइ छ।
कालिखोला रिठ्ठाघाट छठ पूजा समितिका अध्यक्ष हरिश्चन्द्र पेसाद कुशवाहाले सेती र कालिखोला किनारमा टेन्ट, झिलिमिली बत्ती र भक्तका लागि बस्ने व्यवस्था मिलाइएको बताउनुभयो। साथै भोलि बेलुकादेखि खाजा र मंगलबार बिहानको प्रसाद वितरणका लागि स्वयंसेवक टोली खटाइएको उहाँले जानकारी दिनुभयो। पछिल्लो समय पहाडी समुदायका केही श्रद्धालुहरूले पनि छठ पूजा गर्न थालेको उहाँको भनाइ छ।
भद्रकाली छठ पूजा समितिका अध्यक्ष तारानन्द शर्माका अनुसार भक्तजनहरूले पञ्चमीका दिन व्रत बस्ने (खड्ना) र राति पूजा गर्ने परम्परा रहेको छ । केराको खम्बा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफूलका बोटहरूबाट मण्डप सजाइने र सूर्यदेवलाई भगवानको रूपमा पूजा गरेर मनोकामना पूर्ति हुने विश्वासका साथ उपासना गरिने बताउनुभयो।
पोखराका यी चार मुख्य स्थानहरूमा भोलिदेखि सुरु हुने छठ पर्वले धार्मिक, सांस्कृतिक र सामुदायिक सौहार्दका रंगहरू थप्ने अपेक्षा गरिएको छ । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ छठ पूजा गर्ने प्रचलन रहिआएको छ ।





