तेस्रो पटक मन्त्रिपरिषद्‌ विस्तार, दुई मन्त्रीले शपथ ग्रहण

-


     पोखरा क्लिक     
     कार्तिक ९ गते २०८२ मा प्रकाशित


काठमाडौं,

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्रिपरिषद्‌को तेस्रो विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गर्नुभएको छ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिनुभयो।

आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जनाको मात्र शपथ भएको हो। प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आजै दुवैजनालाई नियुक्त गर्नुभएको थियो।

डा. गौतम स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव हुनुहुन्छ भने गुप्ता ‘जेनजी आन्दोलन’का अगुवा र सामाजिक अभियन्ता हुन्।

यसअघि भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद्‌ विस्तार भएको थियो। आजको नियुक्तिसँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्‌ १० सदस्यीय भएको छ। स्रोतका अनुसार आगामी निर्वाचनसम्म यही टोलीले सरकार सञ्चालन गर्नेछ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरूको उपस्थिति थियो।