तिहारमा पोखराका उपभोक्ता फूलमा ठगिए, ६ गुणा बढी मूल्य तिर्न बाध्य

-


     पोखरा क्लिक     
     कार्तिक ८ गते २०८२ मा प्रकाशित



दीननाथ बराल,
पोखरा, ८ कार्तिक,

तिहारको रौनकमा पोखराका उपभोक्ता सयपत्री फूल र मालामा ठगिएका छन्। पोखरा महानगरपालिका, कृषि सञ्जाल र फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्कीले फूलको मूल्य निर्धारण र बिक्री केन्द्र तोके पनि बजारमा तोकिएको मूल्यभन्दा ६ गुणा बढीमा फूल बिक्री भएको पाइएको छ।

महानगरले तोकेको दरअनुसार ‘ए’ ग्रेडको सयपत्री मालाको खुद्रा मूल्य अधिकतम १५० रुपैयाँ थियो। तर तिहार नजिकिँदै गर्दा सोही माला ९ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री हुँदा उपभोक्ता आक्रोशित बनेका छन्। पोखराकी उपभोक्ता विमला भण्डारीले दुई माला खरिद गर्दा १ हजार ८ सय रुपैयाँ तिर्नु परेको अनुभव सुनाउँदै फेसबुकमा लेखेकी छन्, “फूलमा आत्मनिर्भर भनिएको पोखरामा दुई वटा सयपत्री मालाको बिल १८ सय पर्यो। माला यही, बिल यही — सबै तिर यस्तै छ कि के हो ।”

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर खडरियाले बजारमा देखिएको मूल्यवृद्धिका लागि बिचौलियाको भूमिका रहेको पोखराक्लिकलाई बताए। “हामीले बजार सहज बनाउन बिक्री केन्द्र तोकेर मूल्य निर्धारण गरेका थियौं,” उनले भने, “तर केही व्यापारीहरूले फूल खरिद गरी भण्डारण गरेर कृत्रिम अभाव सिर्जना गरे, जसको प्रत्यक्ष असर उपभोक्तामा प¥यो।”

खडरियाका अनुसार यस वर्ष करिब ३ सय रोपनीमा सयपत्री खेती गरिएको थियो र करिब ३ लाख माला उत्पादन हुने अनुमान गरिएको थियो। महानगरले १६ भन्दा बढी स्थानमा बिक्री केन्द्र तोकेर कात्तिक ३, ४ र ५ गते फूल बिक्रीको व्यवस्था गरेको थियो। फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीका अध्यक्ष श्रीराम सुवेदीका अनुसार पोखरामा प्रयोग हुने फूलमध्ये करिब ९० प्रतिशत स्थानीय उत्पादनबाटै पूरा भएको छ, बाँकी धादिङ, गोर्खा, पाल्पा र वनेपाबाट भित्रिएको हो। यसैबीच, पोखरा–१३ वडा कार्यालयले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न “सयपत्री फूल मेला” आयोजना गरेको थियो। वडा अध्यक्ष किरण बरालका अनुसार मेलाको उद्देश्य स्थानीय उत्पादकलाई बजारसम्म जोड्ने र उपभोक्तालाई उचित मूल्यमा फूल उपलब्ध गराउने थियो।

पोखराका मेयर धनराज आचार्यले स्वदेशी फूलको प्रयोग गर्न आग्रह गर्दै प्लास्टिकजन्य फूलमालाको प्रयोग बन्द गर्न सबैलाई आह्वान गरेका थिए। तर, सार्वजनिक बिदाको समयमा बिचौलियाले बजार नियन्त्रण गरेपछि उपभोक्ता मारमा परेका छन्। तोकिएको मूल्य १५० रुपैयाँको माला ९ सयमा किन्नुपरेपछि पोखराका उपभोक्ता तिहारमा ६ गुणा बढी मूल्य तिर्न बाध्य भएका छन्।