पोखरामा छठ पर्व मनाउन सुरु, चार मुख्य घाटमा तयारी तीव्र

-


     पोखरा क्लिक     
     कार्तिक ८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ८ कार्तिक

पोखरामा यस वर्षको छठ पर्व चार मुख्य घाटमा धुमधामका साथ मनाइने तयारी भइरहेको छ। मधेश–तराई समुदायलाई पोखरामै सूर्य उपासना गर्न सहज होस् भन्ने उद्देश्यले तयारी तीव्र पारिएको छठ पूजा समितिहरुले पोखराक्लिकलाई बताएका छन् ।

छठ पर्व फेवाताल किनारको केदारेश्वर महादेवमणि मन्दिर परिसर, रिठ्ठाघाट त्रिवेणी धाम (कालिखोला), सेतीनदी किनार, र कमलपोखरी (भद्रकाली मन्दिर तल) गरी चार स्थानमा मनाइँदै छ। नारायणथान मन्दिर संरक्षण समितिका उपाध्यक्ष विनोद गुप्ताका अनुसार शनिबारदेखि नै सबै पूजास्थलमा सरसफाई र झिलिमिली बत्तीको सजावट सुरु गरिएको छ। उनका अनुसार सोमबार अस्ताउँदो र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा सम्पन्न गरिनेछ।

नेपाल भारत व्यवसायी संघ (एनबी) छठ पूजा समितिका अध्यक्ष विश्राम कुशवाहाले केदारेश्वर क्षेत्रको सरसफाई सुरु गरिएको बताए। उनका अनुसार कार्तिक १० गते अपरान्ह र ११ गते बिहान पूजा गरिनेछ। एनबी व्यवसायी संघका पूर्वअध्यक्ष भुनेस कुमारका अनुसार अहिले पोखरामै धेरै भक्तजन छठ मनाउने गरेका छन्। “यहाँ व्यवस्थापन राम्रो भएकाले सबैलाई सहज भएको छ,” उनले भने।

भद्रकाली छठ पूजा समितिका अध्यक्ष तारानन्द शर्माका अनुसार भक्तजनले आइतबार ‘खरना’ गरी व्रत बस्ने र राति पूजा गर्ने छन्। पूजामा केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफूल प्रयोग गरिने उनले बताए। सूर्यलाई अर्घ दिँदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको पनि उनले जोड दिए।