सहारा एकेडेमी सहयोगार्थ च्यारिटी डिनर नाइट हुने, यस बर्ष देउसी भैलो स्थगित

-


     पोखरा क्लिक     
     कार्तिक ३ गते २०८२ मा प्रकाशित


पोखरा, ३ कात्तिक,

सहारा क्लब पोखराले यस वर्ष च्यारिटी डिनर नाइट कार्यक्रम गर्ने भएको छ । क्लबद्वारा पोखरा–१७, दोबिल्लामा संचालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको क्लब अध्यक्ष केशवबहादुर थापाले बताए ।

DCIM\101MEDIA\DJI_0042.JPG

तिहारमा हरेक वर्ष आयोजित हुँदै आएको देउसी भैलो कार्यक्रम यसपालि स्थगित गरी च्यारिटी डिनर नाइट कार्यक्रम गर्न लागिएको उनले प्रस्ट पारे । कार्यक्रम यही कात्तिक १४ गते शुक्रबार पोखरा माटेपानीस्थित एस.आर.केसी ब्याङ्क्युटमा उक्त कार्यक्रम हुने भएको छ । जसमा स्थानीय कलाकारहरुले गायनका साथै हिमाली सांस्कृतिक परिवारले नृत्य प्रस्तुत गर्ने भएको हो ।

एकेडेमी सहयोगार्थ भएकाले कार्यक्रममा सहभागी हुन चाहनेले जनही २५ सय बुझाउनुपर्नेछ । त्यसवापत् खाना, खाना तथा विभिन्न सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पाइनेछ । कार्यक्रमबाट बचत हुन आएको रकम एकेडेमीमा खर्चिने क्लब अध्यक्ष थापाले बताए ।

सहारा एकेडेमीका हाल चौथो ब्याचमा १४ जिल्लाका कठिन परिस्थिति तथा विपन्न वर्गका ३० जना बालकहरु आश्रित छन् । उनीहरुलाई क्लबले निःशुल्क आवासीय सुविधा सहित शिक्षादीक्षा तथा फुटबल प्रशिक्षण दिँदैआएको छ । क्लवको स्थापनाकाल देखि हुदै आएको देउसी भैलो यस बर्ष स्थगित भएको क्लवले जनाएको छ ।