पोखराका बजारमा चहल पहल बढ्दो, देउसी भैलो खेल्न सुरु, बेलुका १०ः०० बजेसम्म देउसी भैलो खेल्न अनुमति

-


     पोखरा क्लिक     
     कार्तिक २ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २ कार्तिक,

तिहार पर्व सुरु भएसँगै पोखराका बजार क्षेत्रहरूमा चहल पहल ह्वात्तै बढेको छ । तिहार पर्व सुरुभएसंगै बजारमा किनमेल गर्नेहरूको भिडभाडले बजारमा चहल पहल ह्वातै बढेको व्यवसायीहरुले बताउनु हुन्छ ।

महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, पार्दीबिरौटा, बगर, रामबजार, छोरेपाटन, लामाचौर, न्यूरोड, नयाँबजार, सिद्धार्थचोक र पालिखेचोक लगायतका मुख्य बजार क्षेत्रहरूमा उपभोक्ताको घुइँचो लागेको छ । तिहारका लागि आवश्यक सामग्री, भाइटीका मसला, सरसामान र सजावटका वस्तु किन्नेहरूको भीडले बजार क्षेत्र गुलजार बनेको छ । काग तिहारदेखि नै बजारमा गतिविधि बढेको छ भने पछिल्ला दिनहरूमा महेन्द्रपुल र चिप्लेढुंगामा दोहोरो पार्किङका कारण पटक–पटक सडक जाम हुने स्थिति पनि देखिएको छ । साँझपख फुटपाथ व्यापारीहरूले पसल सडकमै राख्ने भएकाले भीड अझ बढेको छ ।

दशैंको तुलनामा तिहारमा पोखरामा बढी चहल पहल हुने परम्परा यसपालि पनि दोहोरिएको छ । तिहार नजिकिँदै गर्दा देउसी–भैलोको माहोलले पोखरा झनै रंगिन बनेको छ । विभिन्न क्लब, आमा समूह र सामाजिक संघ–संस्थाहरूले संस्थागत देउसी–भैलो कार्यक्रम सुरु गरेका छन् । यसैबिच, जिल्ला प्रशासन कार्यालय, कास्कीले तिहार पर्व लक्षित गर्दै राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न अनुमति दिएको छ । साथै देउसी भैलो खेल्दा सार्वजनिक स्थानमा कसैलाई असरोध नहुने गरी सडक यातायात अबरुद्ध नहुने गरी खेल्न प्रशासनले सूचना जारी गरेको छ ।

तिहार पर्वको अवसरमा पटक, भुईचम्पा लगायतका बस्तुहरु बिक्रि वितरण तथा प्रयोग नगर्न कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले आग्रह गर्नु भएको छ । प्रशासनले जारी गरेको नियम उलंघन गरेमा कानून बमोजिम कार्वाही हुने प्रशासनले चेतावनी दिएको छ ।