
पोखरा,
पाँचदिने यमपञ्चक — तिहारको सुरुको दिन आज (आइतबार) काग तिहारका रूपमा देशभर मनाइँदैछ । खुशी, सम्झना र कृतज्ञताको प्रतीक यो पर्व आज कागलाई पूजा गरी मिठा मिठा खानेकुरा दिदै यो पर्व मनाइने गरिन्छ ।
शास्त्रअनुसार कागलाई मृत्युकै सन्देशवाहकका रूपमा मानिन्छ । पुरानो विश्वासअनुसार, कागले घरमा हुने शुभ–अशुभ घटनाको खबर ल्याउने भएकाले आजको दिन कागको आदर र सम्मानका साथ पूजा गरिन्छ, ताकि घरमा दुःखका खबर नआओस् र शुभ समाचारले मात्र भरियोस् भन्ने कामना गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यस वर्ष सूर्योदयकालमा त्रयोदशी परेकाले आज आइतबार काग तिहार मनाउन शास्त्रसम्मत् दिन हो । तिहारको रौनकसँगै बजार, गल्ली र घरघर झिलिमिलि बत्तीसँग सजिएका छन् । पोखरा लगायतका शहर बजारमा देउसी–भैलोको तयारी सुरु भइसकेको छ । कतिपय स्थानमा आजदेखि नै देउसी–भैलो खेल्न सुरु गरिएको छ ।
यसरी आज काग तिहारसँगै तिहार पर्वको आधिकारिक शुरुवात भएसँगै देशभर खुशी, सौन्दर्य र आपसी माया–सम्बन्धको माहोल छाएको छ ।





