टान गण्डकीद्वारा चुमनुब्री गाउँपालिकाका अध्यक्षको स्वागत तथा मनास्लु पदमार्ग सम्बन्धी छलफल

-


     पोखरा क्लिक     
     कार्तिक १ गते २०८२ मा प्रकाशित


पोखरा, १, कार्तिक,

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले शुक्रबार एक विशेष स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै गोरखा जिल्लास्थित चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामालाई संस्थाको कार्यालय शान्तिपाटन, पोखरामा स्वागत गरेको छ। कार्यक्रममा गण्डकी प्रदेशका पर्यटनका समसामयिक विषयहरू, विशेषगरी मनास्लु पदमार्गमा पर्यटन विकासका सम्भावना, चुनौती र समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।

विदेशी तथा स्वदेशी पर्यटकहरूलाई मनास्लु क्षेत्रमा भ्रमणका लागि आवश्यक जानकारी अभाव भएको र त्यहाँ खटिने पथप्रदर्शकहरूले समेत पर्याप्त ज्ञानका साथ पर्यटक डुलाउन नसकिरहेको समस्या। मनास्लु क्षेत्रमा सञ्चालित होटल व्यवसायीहरूले गुणस्तरीय सेवा, स्वच्छ खाना तथा मेनु सुधार गर्नुपर्ने, आकस्मिक दुर्घटनाका अवस्थामा हेली–रेस्क्यु प्रक्रियालाई नेपाल सरकारले अझ सरल र व्यवस्थित बनाउनु पर्ने, पथप्रदर्शक र सहयोगीहरू (पोर्टर) का लागि पोर्टर सेल्टर निर्माण गर्नुपर्ने आवश्यकता, पदमार्गहरूको मर्मत–सम्भार, सरसफाइ र फोहोर व्यवस्थापनका लागि स्थानीयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, आगामी मे ०९ ,२०२६ मा ७० औं मनास्लु आरोहण दिवश कार्यक्रम सोही गाउँपालिकामा गएर मनाउने बिषयमा छलफल गरियो भने पथप्रदर्शक तथा सहयोगीहरूको सुरक्षा र बीमा व्यवस्थालाई सुदृढ बनाउन सुझाव दिइएको थियो । कार्यक्रममा वक्ताहरूले मनास्लु क्षेत्र नेपालको सबै भन्दा आकर्षक हिमाली ट्रेकिङ गन्तव्य मध्ये एक भएको र यो क्षेत्रमा बढ्दो पर्यटक चापले स्थानीय विकास र आयस्रोतमा सकारात्मक प्रभाव पारेको बताएका थिए। तर, नियमन, सूचना प्रवाह र व्यवस्थापन प्रणाली सुदृढ नहुँदा पर्यटनको दीर्घकालीन लाभ प्राप्त गर्न कठिनाइ भइरहेको पनि उल्लेख गरियो।

टान गण्डकीका अध्यक्ष आचार्यले चुमनुब्री गाउँपालिकाले विदेशी पदयात्रीबाट प्रतिव्यक्ति १ हजार र नेपाली पदयात्रीबाट २ सय उठाउने प्रणालीले पर्यटकहरूलाई झन्झटिलो बनाएको भन्दै एकद्वार प्रणालीबाट अनुमति जारी गर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले आगामी दिनमा टान गण्डकीले चुमनुब्री गाउँपालिका र सम्बन्धित निकायहरूसँग समन्वय गर्दै मनास्लु क्षेत्रको दिगो पर्यटन विकासका लागि काम गर्न तत्पर रहेको पनि बताउनुभयो। हाल मनास्लु सर्किट विश्वका आकर्षक हिमाली पदयात्रा मार्गमध्ये एकका रूपमा परिचित हुँदै आएको छ। यो मार्गले स्थानीय बासिन्दाको आय–आर्जन, होटल व्यवसाय, हस्तकला तथा यातायात क्षेत्रमा रोजगारी सिर्जना गर्दै गण्डकी प्रदेशको पर्यटन अर्थतन्त्रलाई सबल बनाएको छ। तथापि, मौसम, पूर्वाधार अभाव र व्यवस्थापनको कमजोरीले गर्दा यो सम्भावना पूर्णरूपमा उपयोग हुन नसकेको टान गण्डकीको मूल्यांकन छ।

कार्यक्रमले मनास्लु क्षेत्रमा दिगो, सुरक्षित र जिम्मेवार पर्यटन विकासको खाका तयार गर्ने दिशामा टान गण्डकीको पहललाई थप सशक्त बनाएको छ। संस्थाले स्थानीय निकाय, पर्यटन मन्त्रालय र सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै गण्डकी प्रदेशलाई हिमाली पर्यटनको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ।