नेपालले अपराजित रहँदै आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्यो

-


     पोखरा क्लिक     
     असाेज ३१ गते २०८२ मा प्रकाशित


पोखरा, ३१ असोज,

नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक (EAP) छनोटको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। शुक्रबार ओमानको अल अमिरत क्रिकेट एकेडेमीमा भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।

यो जितसँगै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जित्दै उपाधि आफ्नाे नाममा लेखाएको छ। यस जितपछि नेपाली क्रिकेट समर्थकहरूमा खुसीयाली छाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको विशाल योगफल तयार पार्‍यो। नेपालका ओपनर आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रनको शानदार पारी खेले। त्यस्तै दीपेन्द्रसिंह ऐरीले २ चौका र ४ छक्कासहित ५३ रन जोडे। अन्त्यतिर लोकेश बमले ११ बलमा अविजित ३९ रन प्रहार गर्दै नेपाललाई ठूलो स्कोरमा पुर्‍याए। कप्तान रोहित पौडेल २१ रनमा नटआउट रहँदा कुशल भुर्तेलले १७ रन बनाए।

सामोआका लागि डानियल बर्गेस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले समान १–१ विकेट लिए। २१२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको सामोआ नेपालका बलरहरू अगाडि टिक्न सकेन। निर्धारित २० ओभरमा सामोआले ७ विकेटको क्षतिमा जम्मा ८७ रन मात्र बनाउन सक्यो। सामोआका सिन सोलियाले सर्वाधिक ४० रनको योगदान दिए। नेपालका स्पिनर ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछानेरोहित पौडेलले १–१ विकेट हात पारे। यो उपाधिसँगै नेपालले ११ वर्षपछि आइसिसीको कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने गौरव हासिल गरेको छ। यसअघि नेपालले सन् २०१४ मा आइसिसी डिभिजन–४ क्रिकेटको उपाधि जितेको थियो। त्यसपछि नेपालले विभिन्न छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिबाट वञ्चित रहँदै आएको थियो।

यसअघि समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गरेको थियो। सुपर सिक्समा पुगेर नेपालले क्रमशः यूएईलाई १ रन, कतारलाई ५ रनओमानलाई ३८ रनले हराउँदै उपाधि नजिक पुगेको थियो। अन्तिम खेलमा सामोआमाथिको ठुलो जितसँगै नेपाल अपराजित च्याम्पियन बनेको हो। छनोट प्रतियोगिताबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि टिकट पक्का गरिसकेका छन्। नेपालको यो जितले नेपाली क्रिकेटमा नयाँ ऊर्जा भरेको छ। देशभरका क्रिकेटप्रेमीहरू सामाजिक सञ्जालमा बधाई सन्देश पठाइरहेका छन्। राष्ट्रिय टोलीले अपराजित यात्रा पूरा गरेर उपाधि जित्दा देशभर ‘क्रिकेट फिभर’ फैलिएको छ।