
दीननाथ बराल,
पोखरा, ३० असोज,
पर्यटनको राजधानि पोखराको दिगो पर्यटनका लागि पोखरा आसपासका नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवर्द्धन गर्नुपर्ने (आज) विहिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिनुभएको छ । विहिबार पोखरामा आयोजित पोखरा पर्यटन परिषदको २५ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा वोल्ने वक्ताहरूले पोखराको दिगो पर्यटन बिकासको लागि पोखरा आसपास क्षेत्रको पर्यटन प्रवर्द्धन सहित पर्यटन पूर्वाधार निर्माण एवं विस्तार गर्नुपर्नेमा जोड दिनु भएको हो ।

दिगो पर्यटनको बिकास गर्न सके पोखरामा आउने पर्यटकहरुको बसाई अवधि लम्बाउन सकिने वक्ताहरुको भनाई थियो । परिषदका अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा पोखराको एक रिसोर्टमा सम्पन्न साधारण सभामा वक्ताहरुले लेकसाइड केन्द्रित पर्यटन गतिविधि भन्दा बाहिर निस्केर बृहत् ढंगले ग्रेटर पोखरा अवधारणामा अघि बढ्न सुझाव दिनु भएको हो।
परिषदका संस्थापक अध्यक्ष अशोक पालिखेले पोखराको पर्यटनलाई फेवाताल र हिमाल बेच्ने सीमित दृष्टिकोणबाट बाहिर निकाल्नुपर्ने बताउनु भयो । उहाँले भन्नुयो “अब हामीले लेखनाथदेखि घान्द्रुक, सिक्लेस र खुमाई डाँडा, मर्दी हिमाल लगायत क्षेत्रलाई समेत जोडेर नयाँ प्रोडक्ट विकास गर्नुपर्छ, यही बाटोबाट दिगो पर्यटन सम्भव हुन्छ।” जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावबारे चिन्ता व्यक्त गर्दै आन्दोलनको नाममा नाजायज फाइदा उठाउनेहरूलाई कारबाही गर्न उहाँले माग गर्नुभयो। पालिखेले व्यवसायिक कर तिर्न चाहने व्यवसायीहरूलाई अनावश्यक कागजी झन्झटमा पार्ने प्रवृत्ति तत्काल अन्त्य गर्न आग्रह गर्नुभयो। मालपोत कार्यालयमा डकुमेन्ट जलाएको घटनापछि नक्कली लालपुर्जा बन्ने जोखिमप्रति सचेत रहन व्यवसायीहरूलाई उहाँले ध्यानाकर्षण गराउनुभयो।
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले अब आफ्नो दुई महिना समय रहेकोले यस समयमा देशको अबस्थाले गर्दा पर्यटन प्रबद्र्धनमा केही कठिनाई भएको बताउनु भयो । सरकारसँगको समन्वयमा केही कामहरु गर्न कठिनाइ रहेको उल्लेख गर्दै उहाँले विनियोजित बजेट समयमा खर्च गर्न नसक्दा योजना प्रभावित भएको गुनासो गर्नुभयो । उनले लेकसाइड क्षेत्रमा करिब ८ देखि १० लाख रुपैयाँ लागतमा सिसी क्यामरा जडान गरिएको जानकारी दिँदै, पर्यटक सुरक्षाका लागि सबै व्यवसायीहरू सचेत रहन आग्रह गर्नुभयो ।
पूर्व अध्यक्ष डम्बरबहादुर केसीले माउन्टेन टुरिजमलाई विश्व बजारमा संरक्षण सहित प्रचार गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयकी महाशाखा प्रमुख हेमा पोखरेलले सबै पक्ष एक भएर कार्ययोजना अगाडि बढाउनुपर्ने बताउनु भयो । नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत सागर श्रेष्ठले सामाजिक सञ्जाललाई सकारात्मक ढंगले प्रयोग गरी पोखराको पर्यटन सुरक्षित रहेको सन्देश विश्व बजारमा व्यापक बनाउन सुझाव दिनुभयो । परिषदमा हाल १४ वटा पर्यटन संवद्ध संघ संस्थाहरु आबद्ध रहेकाछन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, पर्यटन विज्ञ सुवास मल्ल, परिषदका प्रथम उपाध्यक्ष हरिबहादुर भुजेल र महासचिव जीवनराज सापकोटाले वेलनेस टुरिजम र आन्तरिक पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । परिषदले यस बर्ष नेपाल–भारत पर्यटन प्रवद्र्धन गर्न हुने गरी नेपाल–भारत टुरिजम मिट आयोजना गर्ने भएको छ ।






