ओमानमाथि नेपालको प्रभावशाली जित, लगातार दोस्रो पटक टी–२० विश्वकपमा प्रवेश

-


     पोखरा क्लिक     
     असाेज ३० गते २०८२ मा प्रकाशित


पोखरा, असोज ३०,

नेपालले शानदार प्रदर्शन गर्दै टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक ९भ्ब्ए० छनोटको सुपर सिक्स चरणमा ओमानलाई ३८ रनले पराजित गरेको छ । यस जितसँगै नेपालले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने आइसीसी टी–२० विश्वकप २०२६ का लागि आफ्नो स्थान सुनिश्चित गरेको छ ।

ओमानको अल अमिरातस्थित क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा आज सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित ६९ रनको उत्कृष्ट इनिङ खेले । उनका अलावा आसिफ शेखले २४ रन, गुल्शन झाले १८ रन र आदिल आलमले १६ रन जोडे ।

ओमानका बलर नदीम खानले चार विकेट, जबकि शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुई–दुई विकेट लिए । १५२ रनको लक्ष्य पछ्याउन उत्रिएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो । ओमानका लागि विनायक शुम्लाले ३२ रन र मोहम्मद नदीमले २५ रन जोडे ।

नेपालका बलरमध्ये गुल्शन झाले तीन विकेट, नन्दन यादव र सोमपाल कामीले समान दुई–दुई विकेट, र सन्दीप लामिछानेले एक विकेट हात पारे । यसअघि आजको अर्को खेलमा युएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपालको विश्वकप यात्रा सहज बनेको थियो । उक्त नतिजासँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ र आठ अंकसहित उपाधि नजिक पुगेको छ ।

नेपालले यसअघि सन् २०१४ र २०२४ को टी–२० विश्वकपमा सहभागिता जनाइसकेको थियो । यस वर्षको छनोट सफलतासँगै नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्ने अवसर प्राप्त गरेको हो ।

अब नेपालले सुपर सिक्स चरणको अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ । ओमान पनि शीर्ष तीनमा स्थान बनाउँदै विश्वकपका लागि छनोट हुने दोस्रो टोली बनेको छ ।