
दीननाथ बराल,
पोखरा, २८ असोज,
पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्वत मोदी गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा–२० भलाम बस्ने २४ वर्षीय सुजन विकलाई चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।
सोमबार राति करिब ८ः३० बजे पोखरा–१२ शितलादेवीकी स्थानीय महिला देविकला अधिकारीलाई नक्कली पेस्तोल देखाई सुन लुट्ने प्रयास गरेका उनलाई भाग्ने क्रममा प्रहरीले पक्राउ गरी अनुसन्धान बढि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । लुटपाटको क्रममा अधिकारीले प्रतिकार गरेपछि विक भागेको स्थानियले पोखराक्लिकलाई बताउनु भयो । स्थानीयवासीको तत्काल सहयोग र प्रहरीको सक्रियतामा वडा प्रहरी कार्यालय रामबजारको टोलीले भेटनरी नजिकैबाट बिकलार्ई नियन्त्रणमा लिन सफल भएको बस्नेतले उल्लेख गर्नुभयो ।
विकको साथबाट नक्कली पेस्तोल (खेलौना) र उनले प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको हो । पछिल्ला दिनमा पोखराका विभिन्न टोलहरूमा चोरी, लुटपाट र ठगीका घटनाहरू बढ्दै गएपछि नागरिक निगरानी टोलीहरू गठन गरी रात्री गस्ती सुरु गरिएको वडास्तरका प्रतिनिधिहरूले बताउनु भएको छ । जेनजी आन्दोलनपछि देशभर आपराधिक क्रियाकलापमा वृद्धि भएको देखिएको छ । त्यसै कारण पोखरामा पनि चोरी, लुटपाट र ठगीका घटनाहरू हुन थालेका छन्।
तिहार पर्व नजिकिँदै गर्दा, प्रहरी प्रशासनले बजार, बसोबास क्षेत्र र सवारी साधन क्षेत्रमा विशेष सतर्कता अपनाउन नागरिकमा आग्रह गरेको छ । कुनै शंकास्पद व्यक्तिहरु देखेमा प्रहरीलाई खबर गर्न सूचना अधिकारी बस्नेतले कस्केली नागरिकमा अनुरोध गर्नुभयो ।




