
काठमाण्डौं, २८ असोज,
सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शन हुँदा नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित हात पवार्न सफल भएको छ । अल अमेरात क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रनको योगफल तयार पारेको थियो। जवाफमा १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमै अलआउट भयो ।

नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चिँदै ५ विकेट झार्दै खेलमा चम्किए। उनको यो टी–२० अन्तर्राष्ट्रिय करियरको उत्कृष्ट प्रदर्शन मध्ये एक मानिएको छ। नन्दन यादवले २ विकेट र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
एक समय सहज जितको स्थितिमा पुगेको कतार ७६ रनको पहिलो विकेट साझेदारीपछि दबाबमा पर्यो। सन्दीपले ओपनर इमाल लियानागे (५६) र जुबेर अली (५२) को साझेदारी तोड्दै खेल नेपालको पक्षमा मोडिदिए। त्यसपछि दीपेन्द्र र आदिलको रनआउटले नेपाललाई पूर्ण रूपमा खेलमा फर्कायो। अन्तिम ओभरमा सन्दीपले निर्णायक विकेट लिँदा नेपालले ५ रनको जीत सुरक्षित गर्यो।
नेपालका कप्तान रोहित पौडेलले ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ४१ बलमा ७ चौका र १ छक्का सहित ५८ रन जोडे। दीपेन्द्रसिंह ऐरीले २५ रन बनाए भने गुलशन झाले अन्त्यतिर ८ बलमा १६ रनको उपयोगी योगदान दिए। कतारका बलर मिर्जा मोहम्मद बेग र ड्यानियल आर्चरले समान तीन–तीन विकेट लिए। यो जितसँगै नेपाल सुपर सिक्समा अपराजित रहँदै ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ। कतार भने लगातार तेस्रो पराजयसँगै अंकविहीन रह्यो। अब नेपालले आफ्नो अन्तिम सुपर सिक्स खेल ओमानविरुद्ध खेल्नेछ।





