
दीननाथ बराल,
पोखरा २६, असोज,
गण्डकी प्रादेशिक क्रिकेट संघले आइतबार आफ्नो चौथो वार्षिक साधारण सभाको अवसरमा ७ जना खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । विभिन्न उमेर समूहबाट राष्ट्रिय हुदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका प्रदेशका चार महिला र तीन पुरुष खेलाडीलाई पोखरामा आयोजित संघको साधारण सभाको अवसरमा खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान गरेको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले पोखराक्लिकलाई बताउनु भयो ।

सम्मानित हुने महिला खेलाडीहरुमा कुसुम गोदार, सिमना केसी, ज्योस्त्निका मरासिनी र रचना चौधरी रहनु भएको छ भने पुरुष तर्फ सोहेल कुँवर, सिब्रिन श्रेष्ठ र अपराजित पौडेल रहनु भएको छ । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले खेलाडी तथा खेलाडीहरुको अनुपस्थितीमा उहाँका आफन्तलाई सम्मान गर्नु भएको हो । खेलाडीहरुलाई जनही नगद १० हजार रुपैयाँ उहाँहरुको बैंक खातामा उपलब्ध गराइने भएको संघले जनाएको छ ।
मेयर आचार्यले नेपालमा सन् २०२७ मा आयोजना हुने यु १९ महिला विश्वकप क्रिकेटका लागि आफुहरु आवश्यक पूर्वाधार निर्माणको लागि सहजीकरण गर्न तयार रहेको बताउनु भयो । पूर्वाधारको सवालमा केहि समस्या आएको उल्लेख गर्दै उहाँले पोखरा रंगशालास्थित क्रिकेट मैदानका लागि महानगरले बजेट छुट्याउन तयार हुँदाहुँदै पनि मैदान महानगरको अधिकारभन्दा बाहिर रहेकाले समस्या रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो ‘हामी आईसिसी, एसिसी र क्यानका पदाधिकार संग पनि २०२७ को यु १९ विश्वकप क्रिकेटका लागि पूर्वाधार बारेमा छलफल गरेका छौं, महानगरपालिका यसमा सकरात्मक छ तर, पोखरा रंगशालाको अधिकार हामीलाई नभएकाले चाहेरपनि काम गर्न सक्ने अबस्थामा छैनौं, यदि स्थानिय तहलाई जिम्मेवार दिएमा हामी त्यसको सम्पूर्ण व्यबस्थापन गर्न सक्छौं । ”
नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले पूर्वाधार नहुदाँ चाहेर पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नसकिने दाबी गर्नु भयो । पूर्वाधारसहित सुरक्षा चुनौतिमा ध्यान दिन आग्रह गर्दै उहाँले जिल्ला र प्रदेश क्रिकेट संघ बलियो भएमात्रै केन्द्रीय संघ बलियो हुने तर्क गर्नुभयो ।
संघका केन्द्रीय सदस्य सुदिप शर्माले सन २०२७ मा महिला यु १९ विश्वकप आयोजना गर्ने संघारमा रहँदा पोखराको विकल्प नभएको बताउदै यसमा अभियानकै रुपमा अघि बढाउन सुझाव दिनुभयो । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको लागि काठमाण्डौं पछि अर्को विकल्प पोखरा रहेको तर्क गर्दै उहाँले त्यसको लागि पोखरामा पूर्वाधार निर्माण अत्यावश्यक भएको दाबी गर्नुभयो । संघले पूर्वाधार निर्माण गर्न नसक्ने बताउदै उहाँले स्थानीय तहले पनि पूर्वाधारमा लगनी गर्न शर्माले आग्रह गर्नुभयो ।
प्रदेश खेलकुद परिषद गण्डकीका बोर्ड सदस्य विनय थापाले प्रदेश सरकारले विनियोजन गर्ने बजेट पनि व्यवहारिक नभएको दाबी गर्नुभयो । रिजल्ट दिने खेललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउदै उहाँले सबै खेलसंघलाई एकै ढंगले हेर्न नहुने उल्लेख गर्नुभयो ।
साधारण सभामा कास्की,तनहुँ, पर्वत, बाग्लुङ, स्याङजा र नवलपुरका जिल्ला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संघका अध्यक्ष सन्जयकान्त सिग्देलको अध्यक्षतामा बसेको साधारण सभामा केही महिना अघि आयोजित महिला क्रिकेट प्रतियोगिता तर्फ सहभागि भएका कास्की, पर्वत, स्याङजा र नवलपुरका खेलाडीहरुलाई १६ थान क्रिकेट जुक्ता(रबर स्पाईक) हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङ लगायतले क्रिकेटको बारेमा चर्चा गर्नुभयो ।





