
पोखरा, २३ असोज,
बेलायतबाट साइकल यात्रामा पोखरा आएको जोडीलाई पोखरामा आज पनि स्वागत सहित सम्मान गरिएको छ । सात महिना सात दिनमा २० देश पार गर्दै करिब १४ हजार किलोमिटरको दूरी पूरा गरी मंगलबार पोखरा आइपुगेको ब्रुस जोडीलाई आज पनि पोखरामा स्वागत सहित सम्मान गरिएको हो ।
५१ वर्षीय थोस्टर ब्रुस र उनकी श्रीमती डा.एमा ब्रुसलाई विहिबार पोखराका पर्यटन व्यवसायीले स्वागत गरेका हुन् । उनीहरुलाई पोखरा पर्यटन भ्रमर्ण वर्षका संयोजक गोपी बहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया लगायतले अबिर खादाले स्वागत गरे ।
यसअघि नेपाल आइसकेका ब्रुस दम्पती यसपटक साइकल यात्रा गर्दै नेपाल आएका हुन् । नेपाल प्रकृति, संस्कृतिले धनी रहेको भन्दै साइकल यात्रीले नेपालको पर्यटन प्रर्वधनमा टेवा पुग्ने संयोजक भट्टराईले बताए । यसैबिच, रेन्बो चिल्ड्रेन होम नेपाल, नमुना आमा समुह, पर्यटन व्यवसायी र लेकसाइडका स्थानिय बासिले ब्रुस जोडीलाई मंगलबार स्वागत सहित सम्मान गरेका थिए ।





