
दीननाथ बराल,
पोखरा, असोज १९,
होटल सङ्घ पोखरा नेपालले हालको प्रतिकूल मौसम र प्राकृतिक विपत्तिका कारण पर्यटनको राजधानि पोखरामा अलपत्र परेका तथा आर्थिक रूपमा बिखर्ची भएका पर्यटकका लागि निःशुल्क खाना र बस्ने व्यवस्था गर्ने घोषणा गरेको छ।

संघ द्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा अलपत्र परेका पर्यटकलाई निःशुल्क खाना तथा होटल आवासको व्यबस्था गरिने उल्लेख गरिएको छ । हाल मनसुनी गतिविधि तीव्र बनेसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र सडक अवरुद्धका कारण यात्रु तथा पर्यटकहरू आफ्नो गन्तव्यमा पुग्न नसकी अलपत्र परेका छन्। यस्तो अवस्थामा पोखरामा रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई निःशुल्क रूपमा होटल आवास र भोजनको व्यवस्था मिलाइने सङ्घले जनाएको छ।
देशको यो विसम परिस्थितीमा संघले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि सहज अबस्था नभएसम्मको लागि संघले होटल आवास सहित खानाको प्रबन्ध मिलाउने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । “जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म मनसुनी गतिविधि सक्रिय हुने चेतावनी जारी गरेको अवस्थालाई मध्यनजर गर्दै, देशको विषम परिस्थितिमा सकेको सहयोग गर्ने उद्देश्यले यो निर्णय गरिएको हो।” उहाँले भन्नुभयो, “अलपत्र परेका पर्यटकहरूलाई सामान्य अवस्था नफर्किएसम्म उचित रूपमा व्यवस्थापन गरिनेछ।”
यससँगै सङ्घले हाल पोखरा भ्रमणमा रहेका अन्य पर्यटकका लागि पनि होटलको प्रचलित दररेटमा २५ प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेको छ। दशैं टिकाको अघिल्लो दिनसम्म पोखराका होटलहरूमा ३५ प्रतिशत अकुपेन्सि रहेको भए पनि हाल त्यो घटेर करिब १५ प्रतिशतमा झरेको सङ्घले जनाएको छ।
विपत्तिका कारण ज्यान गुमाउन पुगेकाप्रति होटल सङ्घले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै, उद्धार तथा राहत कार्यमा सरकारको ध्यानाकर्षण गराएको छ। साथै, घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। नेपाल सरकारले असोज १९ र २० गतेका लागि सार्वजनिक बिदा घोषणा गरेको सन्दर्भमा सङ्घले सबै पर्यटकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।





