पोखरामा सुरु भयो सहुलियत पसल, ५ देखि १० प्रतिशत छुटमा खाद्यान्न लिनेहरुको भिड

-


     पोखरा क्लिक     
     भाद्र ३० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ३० भदौ,

पोखरामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा आएसंगै सामान लिनेहरुको भिड हुन थालेको छ। आगामी दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालयले सोमबारदेखि पोखराको पार्दी बिरौटामा सहुलियत पसल सुरु गरेसंगै सामान लिनेहरुको भिड नै हुन थालेको हो ।

उक्त पसल पसल बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म सञ्चालन हुने भएको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख कौशल घिमिरेले पोखराक्लिकलाई बताउनु भयो । बजार मूल्यभन्दा सस्तो दरमा आम उपभोक्तालाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यस सहुलियत पसलमा विभिन्न ब्राण्डका चामल, चिनी लगायतका अत्यावश्यक सामग्री बिक्रि हुन सुरु भएको छ । बजार मूल्यभन्दा चामल र चिनीमा ५ प्रतिशत तथा रैथाने चामलमा १० प्रतिशतसम्म छुट दिइएको छ। चिनी प्रतिकेजी ९५ रुपैयाँ, स्टिम जिरा मसिनो चामल प्रतिकेजी ८३, अरुवा सोना मंसुली चामल ५९, कागुनो र चिनो जातको चामल प्रतिकेजी २ सय ५५ रुपैयाँमा उपलब्ध गराइएको छ। त्यस्तै २५ केजीको बोरामा १ हजार ४ सय ७५ देखि ६ हजार ३ सय ७५ रुपैयाँसम्म पर्छ ।

सहुलियत मूल्यमा खाद्यान्न सामान लिन सोमबारदेखि उपभोक्ताहरूको भिडभाड देखिन थालेको छ। उपभोक्ताहरू विशेषगरी स्टिम जिरा मसिनो चामलप्रति आकर्षित देखिएका छन्, जसमा भिटामिन ए, बी१, बी३, बी६, बी९ र बी१२ सहित ८ प्रकारका पौष्टिक तत्त्व पाइने बताइएको छ। स्थानीय उपभोक्ताहरूले सहुलियत पसल सुरु भएपछि चाडपर्वको खर्च केही कम हुने आशा व्यक्त गरेका छन्। कम्पनीले चाडपर्व अवधिभर निरन्तर पसल सञ्चालन गर्ने जनाएको छ।



This will close in 20 seconds