
दीननाथ बराल,
पोखरा, ३० भदौ,
पोखरामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा आएसंगै सामान लिनेहरुको भिड हुन थालेको छ। आगामी दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालयले सोमबारदेखि पोखराको पार्दी बिरौटामा सहुलियत पसल सुरु गरेसंगै सामान लिनेहरुको भिड नै हुन थालेको हो ।

उक्त पसल पसल बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म सञ्चालन हुने भएको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख कौशल घिमिरेले पोखराक्लिकलाई बताउनु भयो । बजार मूल्यभन्दा सस्तो दरमा आम उपभोक्तालाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यस सहुलियत पसलमा विभिन्न ब्राण्डका चामल, चिनी लगायतका अत्यावश्यक सामग्री बिक्रि हुन सुरु भएको छ । बजार मूल्यभन्दा चामल र चिनीमा ५ प्रतिशत तथा रैथाने चामलमा १० प्रतिशतसम्म छुट दिइएको छ। चिनी प्रतिकेजी ९५ रुपैयाँ, स्टिम जिरा मसिनो चामल प्रतिकेजी ८३, अरुवा सोना मंसुली चामल ५९, कागुनो र चिनो जातको चामल प्रतिकेजी २ सय ५५ रुपैयाँमा उपलब्ध गराइएको छ। त्यस्तै २५ केजीको बोरामा १ हजार ४ सय ७५ देखि ६ हजार ३ सय ७५ रुपैयाँसम्म पर्छ ।
सहुलियत मूल्यमा खाद्यान्न सामान लिन सोमबारदेखि उपभोक्ताहरूको भिडभाड देखिन थालेको छ। उपभोक्ताहरू विशेषगरी स्टिम जिरा मसिनो चामलप्रति आकर्षित देखिएका छन्, जसमा भिटामिन ए, बी१, बी३, बी६, बी९ र बी१२ सहित ८ प्रकारका पौष्टिक तत्त्व पाइने बताइएको छ। स्थानीय उपभोक्ताहरूले सहुलियत पसल सुरु भएपछि चाडपर्वको खर्च केही कम हुने आशा व्यक्त गरेका छन्। कम्पनीले चाडपर्व अवधिभर निरन्तर पसल सञ्चालन गर्ने जनाएको छ।





