सुशिला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन जेनजी गण्डकी प्रदेशको माग (भिडियो सहित )

-


     पोखरा क्लिक     
     भाद्र २६ गते २०८२ मा प्रकाशित


पोखरा,

गण्डकी प्रदेशका जेनजी युवाहरूले देशको विद्यमान राजनीतिक संकट समाधान गर्नका लागि तत्काल संघीय संसद विघटन गरी नयाँ राजनीतिक संरचना निर्माण गर्नुपर्ने माग गरेका छन्।

राष्ट्रपतिले आह्वान गर्ने संवाद प्रक्रियामा नेपाली सेनाका प्रधानसेनापतिसँग हुने वार्तामा, नेपालकी पहिलो महिला प्रधानन्यायाधीशको रूपमा काम गरिसकेकी सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्नुपर्ने स्पष्ट प्रस्तावसहित समर्थन जनाएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । जेनजी युवाहरूले भदौ २३ र २४ मा देशव्यापी रूपमा सञ्चालन गरिएको एन्टि–करप्सन मुभमेन्ट का क्रममा ज्यान गुमाएका युवाहरूको हत्या गराउन आदेश दिने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षासम्बन्धी उच्च पदाधिकारीहरूलाई ३० दिनभित्र छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले आन्दोलनकै क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, जीवन आहुति दिने सबै युवाहरूलाई शहीद घोषणा गर्न र आन्दोलन सुरु भएको दिनलाई ‘जेन९जी० दिवस’का रूपमा घोषणा गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

युवाहरूले यससँगै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न, समानुपातिक निर्वाचन प्रणाली खारेज गरी प्रतिनिधि तथा प्रदेशसभामा सांसदहरूको संख्या पुनर्विचार गर्न, राष्ट्रिय सभालाई गैरदलीय बनाउन, संवैधानिक आयोगहरूलाई स्वतन्त्र र स्वायत्त बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पुनर्गठन गर्नुपर्ने माग पनि राखेका छन्। त्यस्तै, दल–निकट संगठन तथा ट्रेड युनियनहरू तत्काल खारेज गर्न, विश्वविद्यालय तहमा विद्यार्थीहरूको स्वतन्त्र परिषद् गठन गर्ने व्यवस्था मिलाउन, राजनीतिक दलहरूलाई नयाँ नाम र चुनाव चिन्ह लिएर मात्र आगामी निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि विज्ञप्तिमा समावेश छ।

राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यसहित उनीहरूले स्पष्ट लक्ष्य र दीर्घकालीन दृष्टिकोणयुक्त अर्थ, उद्योग तथा वाणिज्य नीति निर्माण गर्न, राष्ट्रिय सुरक्षा र सार्वभौमिकतामा असर नपर्ने खालको विदेशी लगानी ल्याउन अनुकूल वातावरण बनाउन, साथै गैरकानुनी रूपमा विदेशमा लगानी गरिएका पूँजीहरू फिर्ता ल्याउने संयन्त्र तत्काल निर्माण गर्न माग गरेका छन्। प्रेस विज्ञप्तिमा जेनजी गण्डकी प्रदेशका आर्यान जैसवाल र विप्लवी न्यौपानेले सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनु पर्ने र गण्डकी प्रदेशका जेनजी युवाहरू त्यसका लागि एकजुट भइसकेको बताएका हुन् ।



This will close in 20 seconds