
पोखरा,
पोखरामा शुक्रवार बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विहिबार एक सूचना जारी गर्दै बिहीबार (भदौ २६) साँझ ७ बजेदेखि शुक्रवार बिहान ५ः०० बजेसम्म पोखरामा शुक्रवार बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको उल्लेख गरेको छ । उक्त समयमा घर बाहिर ननिस्कन प्रशासनले पोखरेलीहरुमा आग्रह गरेको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कर्फ्यु आदेश जारी गरेको सूचनामा शुक्रवार बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने उल्लेख गर्नु भएको छ । कास्की जिल्लामा हाल देखिएको घटनाक्रमबाट हुनसक्ने विरोध प्रदर्शन, तोडफोड, हुलदंगाका कारण शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै बिहीबारको जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
पोखरा महानगरपालिका १ देखि ३३ वटा वडामा कफ्र्यु आदेश जारी गरिएको प्रशासनले पोखराक्लिकलाई जनाएको छ ।कर्फ्युको समयमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइने छैन । एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालन हुनसक्ने आदेशमा छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नुहुने नेपाली सेनाले स्पष्ट गरेको छ । सेनाले आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध समेत गरेको छ । जेनजी आन्दोलनको क्रममा केही ठाँउहरुमा चोरीका घटना भढेकोले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।



