पृथ्वी पत्रकारिता पुरस्कारबाट सुवेदी पुरस्कृत

-


     पोखरा क्लिक     
     भाद्र २० गते २०८२ मा प्रकाशित


पोखरा २०, भदौं,

पोखराका पत्रकार गोविन्द सुवेदी पृथ्वी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पृथ्वी होटल व्यवसायी समितिले आफ्नो १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनको उद्घाटन समारोहमा सुुवेदीलाई पर्यटन पत्रकारिता मार्फत पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै नगदसहित सम्मान पत्रले सम्मानित गरिएको हो ।

उनलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पान संयोजक गोपी बहादुर भट्टराई, पृथ्वी होटल व्यवसायी समिति अध्यक्ष अम्बिका घिमिरे ‘अमृत’ ,पूर्व अध्यक्ष बालकृष्ण न्युरे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले नगद र सम्मान पत्रले सम्मान गरेका थिए । केन्द्रभाग डटकमका प्रधान सम्पादक रहेका सुवेदी विगत दुइ दशक देखि पोखरामा पत्रकारिता गर्दै आएका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकीका निवर्तमान महासचिव सुवेदी यस अगाडि आर्थिक पत्रकारिता पुरस्कार, यातायात पत्रकारिता पुरस्कार, क्रियाशील युवा पत्रकारिता पुरस्कार, पर्यटन पत्रकारिता पुरस्कार लगायत विभिन्न संघ संस्थाले प्रदान गर्ने पुरस्कार र सम्मानबाट पुरस्कृत भइसकेका छन् । कार्यक्रममा बोल्दै पत्रकार सुवेदीले उक्त पुरस्कारले पत्रकारलाई थप प्रोत्साहन हुने जनाए । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख लामिछानेले समितिले पोखरा जाऔं प्रकृतिसंग रमाऔं भन्ने नारा सहित पोखराको प्रबद्र्धनमा लागेको अभियान निकै प्रंशम्सनीय रहेकोले त्यस अभियानलाई बोर्डले निरन्तर सहयोग गर्ने बताउनु भयो । पोखरा र लुम्बिनीलाई कनेक्टिङ गरी दुबै क्षेत्रको पर्यटन प्रबद्र्धनमा केही प्रभावकारी कार्यक्रम गर्ने तयारी गरेको उहाँले बताउनु भयो ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पोखरालाई पर्यटनको राजधानि घोषणा गरे पनि पोखरा सहित ग्रेटर पोखराको अवधारणामा अघि बढ्नु पर्ने सुझाव दिनुभयो । पोखरा भ्रमण बर्षका संयोजक भट्टराईले पोखरामा हुने गरेका विभिन्न खेलकुद गतिविधिबाट पोखराका पर्यटन तथा अन्य व्यवसायीहरुले लाभ लिन नसकेको गुनासो गर्नुभयो । पोखरा भ्रमण बर्ष मनाई रहदा हरेक पर्यटकीय क्षेत्र र पोखरा क्षेत्रमा सरसफाई, सीसी क्यामरा जडान सहित कानूनि मान्यता पूरा गर्न उहाँले आग्रह गर्नुभयो । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले समिति र संघ एकै बाबुका दुई छोरा जस्तै रहेको सोही अनुसारको व्यवाहार गर्दै अघि बढेको बताउनु भयो । समितिका अध्यक्ष घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका महासचिव शोभा गौतम, पोखरा च्याम्बर अफ कर्मसका अध्यक्ष उमाराज बाँस्तोला, समितिका सचिव शोभाकान्त चापागाई लगायतले बोल्नु भएको थियो ।