
दीननाथ बराल,
पोखरा, १८ भदौ,
पर्यटनको राजधानि पोखराबाट भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि भुटान एयरलाइन्सले आउँदो असोज १२ गते (सेप्टेमबर २८ तारिख) देखि चार्टर्ड फ्लाइट सुरु गर्ने भएको छ । युनिभर्सल टुर्स एन्ड ट्राभल्स (युटिटि) को पहलमा पहिलो चरणमा ४ वटा उडान हुने जानकारी मंगलबार साँझ पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गराइएको हो ।
युटिटिका कार्यवाहक अध्यक्ष परासर प्रसाईले आफ्नो ५० वर्ष पुरानो कम्पनीले पोखराको पर्यटन सम्भावना देखेर सुरुमा ४ उडान गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले माग र व्यवसायीको सुझावअनुसार नियमित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । कम्पनीका सुमन मर्हजनले असोज १२, १६, २० र २४ गतेका लागि ४ रात ५ दिनको प्याकेज सार्वजनिक गरिएको जनाउँदै प्रति व्यक्ति १ लाख ८४ हजार ५ सय रुपैयाँमा होटल, यातायात र भ्रमण समेटिएको जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पहिलो चरणको उडानलाई सफल पार्न सबै पक्षसँग सहकार्य गर्न आग्रह गर्दै पोखरा विश्वकै आकर्षक गन्तव्य भएको उल्लेख गर्नुभयो । पोखरा महानगरका मेयर धनराज आचार्यले यसलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण पहलका रूपमा लिँदै पोखरामा अन्तर्राष्ट्रिय उडान सम्भावना बलियो भएको धारणा राख्नुभयो ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले सीधा उडानले दुवै देशबीच पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै व्यवसायीलाई दिगो प्याकेजको आग्रह गर्नुभयो । यसअघि पनि पोखराबाट सिचुवान र हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरिसकेकाले यो पहलले पोखरालाई अन्तर्राष्ट्रिय उडानको नयाँ गन्तव्यका रूपमा चिनाउने विश्वास व्यक्त गरिएको छ ।




