मुस्ताङमा चौथो संस्करणको “टप अफ द वल्र्ड गल्फ क्लासिक” हुने

-


     पोखरा क्लिक     
     भाद्र १५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १५ भदौ,

संसारकै उच्च स्थानको गल्फ कोर्ष मुस्ताङ गल्फ कोर्षमा यही भदौं अन्तिम साता “टप अफ द वल्र्ड गल्फ क्लासिक”को चौथो संस्करण हुने भएको छ । मुस्ताङको लोवथाङमा यही भदौ २८ र २९ गते उक्त प्रतियोगिता हुने भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

यस वर्ष नेपाल, अमेरिका, भारतसहित विभिन्न देशका करिब ५५ देखि ६० जना गल्फरहरुले सहभागिता जनाउने अपेक्षा गरिएको मुस्ताङ गल्फ कोर्सका प्रवन्ध निर्देशक इन्द्रधारा विष्टले बताउनु भयो । नेपालका उत्कृष्ट ४ जना प्रोफेसनल गल्फरहरुबीच छुट्टै प्रतिस्पर्धा गराइनेछ भने विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

संसारकै उच्च स्थान ४७ सय मिटर उचाइमा रहेको मुस्ताङ गल्फ कोर्षमा हुने प्रतियोगिताले विश्वका खेलाडीहरुलाई मनमोहक बनाउने प्रवन्ध निर्देशक विष्टले दाबी गर्नुभयो । “विगतका अनुभवबाट सिक्दै यसपटक प्रतियोगितामा केही नयाँपन थपिएको छ भने अघिल्ला वर्षमा ९ होल मात्र खेलाइएकोमा यस वर्ष १८ होलमा प्रतिस्पर्धा हुने भएको उहाँले जनाउनु भयो । प्रतियोगितामा बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, क्लोजेस्ट टू द पिन, मस्ट बर्डिज र लङ्गेस्ट ड्राइभसहित विभिन्न विधामा पुरस्कार प्रदान गरिने भएको छ । होल नम्बर ३ मा हुने ‘होल इन वान’ का लागि अनौठो पुरस्कार स्वरुप घोडा नै पुरस्कार राख्नुले विश्वमा चर्चा पाएको प्रवन्ध निर्देशक विष्टले जनाउनु भयो ।

यसपटक ‘टी फर क्लाइमेट’ भन्ने शीर्षकमा प्रतियोगिता आयोजना गर्न लागिएको र यसको उद्देश्य जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउनु रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “मुस्ताङ अहिले जलवायु संकटको चपेटामा छ, उच्च स्थानको यो गल्फ कोर्स मार्फत विश्वलाई सन्देश दिने प्रयास गरेका छौं, जलवायु परिवर्तनको पहिलो असर हिमाली क्षेत्रमा मानिसहरुले भोग्नु परेको छ ।”

प्रतियोगितामा नेपालका ख्यातिप्राप्त लोक, आधुनिक र सेलो कलाकारहरुको विशेष प्रस्तुति रहनेछ । खेलाडीहरुको ह्याण्डि क्याप सम्बन्धी विवाद नहुने गरी प्राविधिक टोली मार्फत निष्पक्ष निर्णय हुने व्यवस्था मिलाइएको छ । उक्त गल्फ कोर्षलार्ई विश्वकै गर्व गर्न लायक बनाउन गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउने प्रयास भइरहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो “संसारमै यति उच्च स्थानमा यस्तो मनमोहक गल्फ कोर्स अन्यत्र छैन, यसलाई मुस्ताङ र नेपालकै पर्यटन प्रवद्र्धनको माध्यम बनाउने हाम्रो उद्देश्य हो । ”

प्रतियोगिता सम्पन्न गर्न सरकारी तथा गैरसरकारी निकायहरुको सहयोग प्राप्त भएको प्रवन्ध निर्देशक विष्टले उल्लेख गर्नुभयो । लोमन्थाङ गाउँपालिका र गण्डकी प्रदेश सरकार प्रवद्र्धकका रुपमा रहेका छन् भने प्रभु बैंक, सिटी एक्सप्रेस, जर्मन बेकरी, सोल्टी पानी लगायतका संस्थाहरुको सहयोग प्राप्त भएको उहाँले जनाउनु भयो ।