
दीननाथ बराल,
पोखरा १२, भदौ,
खेलकुदको शहर पोखरामा यही भदौं १७ गतेदेखि दोस्रो संस्करणका नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ हुने भएको छ । पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता यही भदौं २८ गतेसम्म हुने भएको आज (विहिबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट करिब १ सय २८ जना खेलाडीको सहभागिता हुने भएको आयोजक संस्थाका अध्यक्ष सोम बि.क.ले बताउनु भयो । गत वर्ष कास्की बाहेक अन्य जिल्लाबाट ५३ जना खेलाडी सहभागी भएका थिए भने यस वर्ष करिब ८० जना बाहिरी जिल्लाका खेलाडी आउने अनुमान गरिएको उहाँले जनाउनु भयो ।

प्रतियोगिताका विजेताले नगद २ लाख २ हजार २ सय २ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा दोश्रो हुनेलाई ८० हजार प्रदान गरिने भएको छ भने सेमिफाइनलमा प्रवेश गर्ने दुई खेलाडीलाई जनही २५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा हाइएस्ट ब्रेकरलाई २० हजार र प्रत्येक खेलमा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई ७ हजार ५ सय रुपैया प्रदान गरिने भएको छ । प्रतियोगितामा पुरस्कार राशी ३ लाख ५९ हजार ७ सय २ रहेको आयोजकले जनाएको छ ।
यस अघि २०८० सालमा पहिलो संस्करण भव्यतापूर्वक सम्पन्न भएपश्चात दोश्रो संस्करणको तयारी गरेको अध्यक्ष बि.क.ले जनाउनु भयो । गत संस्करणका विजेता इटहरीका आयुष गौतम हुनुहुन्थ्यो । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अध्यक्ष बि.क.ले जनाउनु भयो ।
प्रतियोगिताले पोखरा क्षेत्रको स्नूकर खेलको स्तरवृद्धि, पर्यटन प्रवद्र्धन र खेलकुद संस्कृतिको विकासमा योगदान पुग्ने फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.का अध्यक्ष सोम बि.क.ले विश्वास व्यक्त गर्नुभयो । साथै, पोखरालाई खेलकुद र पर्यटनको शहरको रुपमा स्थापित गर्न पनि यसले सहयोग गर्ने उहाँको भनाइ थियो । प्रालिका सञ्चालक प्रताप गुरुङले पनि यस प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै, कास्की बिलियार्ड स्नूकर तथा पुल संघका अध्यक्ष सागर कुमार शाही, वरिष्ठ उपाध्यक्ष राजु गुरुङ, प्रथम उपाध्यक्ष रामजी सुनार र महासचिव सविन जिसीले प्रतियोगितालाई सफल बनाउन सक्रिय भूमिका खेल्ने उल्लेख गर्दै स्नुकर खेललाई व्यबस्थित पार्न अझै राज्यको नियमन हुन आगश्वक भएकोमा जोड दिनुभयो । कार्यक्रममा ड्याम साइड क्लवका अध्यक्ष रमेशप्रसाद बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, मञ्चका उपाध्यक्ष एवं पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष राजाराम पौडेल लगायतको सहभागिता रहेको थियो ।



