
पोखरा,
अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी दिलिसा रानालाई ट्र्याकसुट हस्तान्तरण गरिएको छ। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज पर्वको अवसरमा पोखरा १४ चाउँथेमा रहेको विशालनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको तीज विशेष तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको अवसरमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य राजेशकुमार गुरुङले पदकधारी खेलाडी रानालाई ट्र्याकसुट हस्तान्तरण गर्नुभएको हो।

अन्तर्राष्ट्रिय पदकधारी खेलाडीको हौसला स्वरूप आफूले केल्मी ब्रान्डको ट्र्याकसुट हस्तान्तरण गरेको पूर्वबोर्ड सदस्य गुरुङले जानकारी दिनुभयो। यस्ता खेलाडीलाई राज्यले उचित सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो। हालै भुटानको थिम्पुमा आयोजना भएको साउथ एसियन रिजन ब्याडमिन्टन च्याम्पियनसिपमा रानाले दुई रजत र दुई कास्य सहित ४ पदक दिलाउनु भएको हो ।
पोखराको मदरल्यान्ड मावि कक्षा ११ मा अध्ययनरत राना डाक्टर बन्ने लक्ष्यका साथ खेलकुद र अध्ययनलाई सँगसँगै अगाडि बढाउने लक्ष्यका साथ लागि पर्नु भएको छ । बाबा चिन राना र आमा उर्मिला थापाको प्रेरणाबाट खेलकुदमा लाग्नु भएको रानाले सानै उमेरमा राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय पदकहरू समेत दिलाउनुभएको छ।
यसैबिच, आयोजक संस्थाका अध्यक्ष हेनरी सुब्दार मेजर बलबहादुर थापा र सुमित्रा थापाको जोडीले डिबी सूर्यबेसी र सूर्य कलासको जोडीलाई डवल मिक्स तर्फको फाइनल खेलमा पराजित गर्नुभएको हो। त्यसैगरी अर्को मेन डबल तर्फको खेलमा एसपी सुनिल मल्ल र बलबहादुर शाहीको जोडिले होम बहादुर गुरुङ र ताराबहादुर घर्ती मगरको जोडीलाई पराजित गर्नुभएको थियो। क्लबले विगतदेखि यस्तै खालका विभिन्न कार्यक्रमहरू निरन्तर गर्दै आएको सचिव रामबहादुर गुरुङले बताउनुभयो।





