पोखराको सिर्जना बहिरा माविका बिद्यार्थी आन्दोलित, बिद्यालयमा तालाबन्दी सहित वडा कार्यालय घेराउ

-


     पोखरा क्लिक     
     भाद्र ८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ८, भदौ,

पोखरा २६ को सिर्जना बहिरा माविका बिद्यार्थीहरु यति वेला आन्दोलित भएका छन् । विद्यालय प्रशासनले निर्दोष विद्यार्थीलाई झुटो आरोप लगाएर कारागार चलान गरेको बिरोधमा विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

बहिरा बिद्यार्थीहरुले आइतबार बिरोध प्रर्दशन गर्दै विद्यालयमा तालाबन्दी सहित पोखरा २६ को वडा कार्यालय घेराउ समेत गरेका थिए । पोखरा, अर्घौचोक क्षेत्रमा केही समय बिद्यार्थीहरुले सडक समेत अबरुद्ध गरेका थिए । बिद्यार्थीहरुले भ्रष्टचारी प्र.अ.सुनिल भण्डारीलाई तत्काल कार्वाही गरियोस, आफ्नै अपाङ्ग बिद्यार्थीलाई कारागार पठाउने, दोषी प्र.अ.भण्डारी, सह प्र.अ.सावित्री बराल, शिक्षक प्रमिला थकाली, कर्मचारीहरु उदय भट्ट, धन माया श्रेष्ठलाई तत्काल सरुवा र कार्वाही गर्न प्लेकार्ड सहित जुलुस प्रर्दशन गरेका थिए ।

कक्षा ११ मा अध्ययनरत विजय बिकलाई विद्यालय प्रशासन तथा विद्यालयका प्रधानाध्यापक सुनिल भण्डारी लगायतको टिमले उनलाई झुटो आरोप लगाएर कारागार चलान गरेपछि विद्यार्थीहरु आन्दोलित हुँदै यसरी विद्यालयमा तालाबन्दी गरी उनीहरुमाथि कडा कारबाहीको माग समेत गरेका हुन् । कक्षा दशमा अध्ययनरत छात्रालाई विजय विकले करणी गरेको आरोपमा विद्यालय प्रशासनले अभिभावकलाई बिना जानकारी प्रहरी सामु पुर्याएको भन्दै विद्यार्थीहरूले प्र.अ. भण्डारी सहित पाँचजना शिक्षकलाई तत्काल सरुवा सहितको कारबाही गर्न माग गरेका छन् । त्यसैगरी विद्यार्थीहरूले विद्यालयका शिक्षक एवं कर्मचारीहरु सावित्री बराल, प्रमिला थकाली, उदय भट्ट र धनमाया श्रेष्ठलाई समेत कारबाहीको माग गरे । जिल्ला अदालत कास्कीले करिब ८ महिनापछि विकलाई सफाई दिएसंगै उनी कास्की कारागारबाट छुटेका थिए ।

त्यसैगरी विद्यालयमा १९ दिनको अन्तरालमा यस्तै प्रकृतिको घटनामा संलग्न एकजना छात्राले १४ वर्षको उमेरमा शिशुको जन्म दिएकी थिईन । आरोपित बालकलाई जिल्ला अदालत कास्कीले उनको अभिभावकको जिम्मा लगाएको छ । १४ वर्षमै बच्चा जन्माउने छात्रा र शिशु हाल अलपत्र अबस्थामा पुगेको उनका आफन्तले गुनासो गरे । विद्यालयमा तालाबन्दी भएसँगै वडा कार्यालय घेराउ गरेपछि पोखरा २६ का कार्यवाहक अध्यक्ष लक्ष्मी भट्टराईले सर्वपक्षीय बैठक बसेर यस विषयमा निर्णय गर्ने बताइन् । विद्यालयमा भएको विवादको विषयमा भोलि दिउँसो २ बजे बैठक बोलाइएको प्र.अ.भण्डारीले जानकारी दिए । गण्डकी बहिरा सङ्घका अध्यक्ष किसान तामाङले प्र.अ.भण्डारी लगायतको टिमलाई कारबाही गर्नुपर्ने माग गरे ।

त्यसैगरी विद्यालयमा बाहिरी राजनीतिक खेल र बालबालिकालाई खेलवाड गराउने काम भएको समेत उनले गुनासो गरे । यसैबीच विद्यालय व्यवस्थापन समितिको कार्यकाल यही भदौ २ गतेसम्म रहेको थियो तर हालसम्म नयाँ कार्यसमिति गठन हुन सकेको छैन । अपाङगता भएका बिद्यार्थीहरु अध्ययन गर्ने निकै सम्बेदनशिल उक्त बिद्यालयमा बिद्यालय प्रशासनबाट बिद्यार्थीको उचित निगरानी गर्न नसक्नु बिद्यालय प्रशासनको कमजोरी भएको स्थानीयले दाबी गरेका छन् ।