
पोखरा, ६ भाद्र,
विश्वबन्धुत्व र मानव एकताको सन्देश फैलाउने उद्देश्यका साथ प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको केन्द्रीय कार्यालय, फुलबारी पोखराद्वारा राष्ट्रव्यापी रक्तदान अभियानको शुभारम्भ गरिएको छ। पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणिजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापा प्रमुख अतिथि हुनुहुन्थ्यो भने राजयोगिनी ब्र.कु.गोमा दिदीले अध्यक्षता गर्नुभएको थियो।

उक्त कार्यक्रममा पोखरा–११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्य, रक्तसञ्चार समिति कास्कीका अध्यक्ष दण्डराज शर्मा, वरिष्ठ पत्रकार कृष्ण बास्तोला र ८२ पटक रक्तदान गरिसक्नुभएका सामाजिक अभियन्ता कृष्ण थापालगायतले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका महासचिव राजयोगी ब्र.कु. शैलेषराज बरालले अभियानको महत्वमाथि प्रकाश पार्दै भदौ ६ देखि ९ गतेसम्म (अगस्ट २२–२५) सञ्चालन हुने यस रक्तदान अभियानमा नेपाल र भारतका हजारौं ब्रह्माकुमारी सदस्यसँगै विभिन्न सामाजिक संस्था र संघ–संगठनहरूको सक्रिय सहकार्य रहने जानकारी दिनुभयो।
चार दिनमा १ लाख युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको यस अभियानलाई हालसम्मकै सबैभन्दा ठूलो रक्तदान अभियानका रूपमा लिइएको छ। उद्घाटन दिन अर्थात् भदौ ६ गते बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म ब्रह्माकुमारी दिव्य शान्ति अनुभूति केन्द्र, फुलबारीमा भएको कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन्।





