दार्जिलिङमा भव्य साहित्य उत्सव स् इजा स्मृति दिवसको १२ औँ संस्करण सम्पन्न

-


     पोखरा क्लिक     
     भाद्र ३ गते २०८२ मा प्रकाशित


देवेन्द्र कार्की
दार्जिलिङ, अगस्ट १०,

दार्जिलिङस्थित इजा प्रकाशनले आयोजना गर्ने ‘इजा स्मृति दिवस’ यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। दिवंगत इजा हाङ्मा सुब्बाको जन्मदिनको अवसरमा मनाइने यो साहित्यिक उत्सवको १२ औँ संस्करण नेपाली साहित्य सम्मेलनको सभाहलमा गरियो। नेपाल, सिक्किम, आसाम, खरसाङ, गान्तोकलगायत क्षेत्रका साहित्यकार र साहित्यानुरागीहरुको उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा दीप प्रज्वलन गर्दै इजाको तस्वीरमा पुष्प अर्पण गरिएको थियो। गायिका सोनु राईको सरस्वती वन्दना र साहित्यकार सुनिल राई प्रणामीको आकर्षक सञ्चालनले माहौल थप जीवन्त बनाएको थियो।

यस वर्षको ‘इजा स्मृति प्रतिभा सम्मान’ नृत्य प्रशिक्षक वसन्ती शाह र वरिष्ठ सङ्गीतकार राम विष्टलाई प्रदान गरियो। त्यस्तै, आसामका युवा लेखक सन्तोष राउतको कृति ऐन फ्रेङ्को देशमा लाई ‘युवा साहित्य सम्मान’ दिइयो। उनका पिता ज्ञानबहादुर छेत्रीले पुत्रको तर्फबाट सम्मान ग्रहण गरे। साहित्यकार मञ्जुला तामाङ सुब्बाको मुक्तक सङ्ग्रह अक्षर तरङ्ग र नुरन राई ‘जुदु’ को कथा सङ्ग्रह जिन्दगीले कुँदेका कथाहरु पनि यही अवसरमा सार्वजनिक गरियो। समीक्षक डा। योगेश खातीले प्रस्तुत गरेको ९ पृष्ठ लामो समीक्षा कार्यक्रमको अर्को विशेष आकर्षण बन्यो।

कार्यक्रममा इजा प्रकाशनकी संस्थापक मञ्जुला तामाङले भावुक सम्बोधन गर्दै छोरीको स्मृतिलाई पुस्तक र साहित्यमार्फत् जीवन्त राख्ने संकल्प सुनाइन्। १२ वर्षदेखि सक्रिय इजा प्रकाशनले अहिलेसम्म १५ वटा कृति प्रकाशित गर्दै दार्जिलिङमा नेपाली भाषा–साहित्यको साख उचो बनाएको छ। समारोहमा समाजशास्त्री तथा इतिहासकार डा। टी।बी। चन्द्र सुब्बाले २३ सय पृष्ठ लामो कृति विश्वमा मानव सभ्यता इजा प्रकाशनलाई हस्तान्तरण गरे। समापनमा ‘इजा स्मृति गीत’ प्रस्तुत गरिँदा दर्शकदीर्घा भावुक बन्यो। आयोजकका अनुसार, इजा स्मृति दिवस केवल स्मृतिको कार्यक्रम मात्र नभई नेपाली साहित्यिक जगतलाई नयाँ उर्जा दिने साझा मञ्चका रूपमा स्थापित भइसकेको छ।