गैह्रापाटन नेवा समाजलाई तायाःमचा नृत्य प्रतियोगिताको उपाधि

-


     पोखरा क्लिक     
     भाद्र १ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १, भदौं,

पोखराको लेखनाथ, शिशुवा बजारमा पहिलोपटक आयोजना गरिएको तायाःमचा नृत्य प्रतियोगिताको उपाधि गैह्रापाटन नेवा समाजले जितेको छ । शनिबार राति अबेर सम्पन्न प्रतियोगितामा २६ टिमलाई पछि पार्दै उपाधि सहित गैह्रापाटनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । नेवारी सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रतियोगितामा सरस्वती मन्दिर तायाःमचा समिति द्वितीय, मोहरिया नेवाः टोल तृतीय र नदीपुर तायाःमचा समितिले सान्त्वना स्थान प्राप्त गरेका छन् । द्वितीय सरस्वती मन्दिर समितिले ७५ हजार, तृतीय मोहरिया नेवाले ५० हजार र सान्त्वना नदीपुर समितिले २५ हजार प्राप्त गर्यो । त्यसै गरी महिलातर्फ भण्डारढिक नेवास् खल प्रथम हुँदै ४० हजार, समाज कल्याण नेवास् खल (राजाको चौतारा) द्वितीय हुँदै ३० हजार र लामाचौर नेवा खल गुठी तृतीय हुँदै २५ हजार नगदसहित ट्रफी प्राप्त गर्न सफल भएको छ ।

विजेताहरुलाई नेवास् खल कास्कीका अध्यक्ष अशोक पालिखे, शिशुवा नेवास् खलका अध्यक्ष अर्जुनकुमार ताम्राकार, पोखरा–३ का वडाध्यक्ष प्रकाश उदास, पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी लगायतले पुरस्कार वितरण गर्नुभयो ।

नेवास् खल कास्कीको आह्वानमा शिशुवा नेवास् खलले आयोजना गरेको प्रतियोगिता यसअघि पोखराका विभिन्न स्थानमा हुँदै आएको थियो । यसपटक भने पहिलोपटक लेखनाथ क्षेत्रमा आयोजना गरिएको हो ।

सन् २० वर्षदेखि निरन्तर हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यसअघि भैरबटोल, विन्ध्यवासिनी, तेर्सापट्टी, रानीपौवा, पृथ्वीचोक र रामबजारमा आयोजना गरिएको थियो । “लेखनाथले पहिलोपटक प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ, यसलाई ऐतिहासिक बनाउन हामी लागिपरेका छौं,” आयोजक समितिका संयोजक अर्जुनकुमार ताम्राकारले भन्नुभयो ।

नेवार समुदायमा परिवारका सदस्यको निधन भएको एक वर्षभित्र गाईजात्रा निकाल्ने परम्परा रहिआएको छ । गाईजात्रासँगै प्रस्तुत हुने बाजा र नृत्यलाई ‘तायाःमचा’ भनिन्छ । परम्पराअनुसार गाईजात्राका दिन घर–घरबाट तायाःमचा सहितको जुलुस निकालेर बजार परिक्रमा गराइन्छ । रात पर्न थालेपछि सहभागीलाई असुविधा हुने भएकाले गाईजात्रा सम्पन्न भएपछि पहिलो शनिबार नृत्य प्रतियोगिता आयोजना गर्ने चलन बसाइएको हो ।

अघिल्लो वर्ष प्रथम हुने टोलीलाई ३ लाख १ रुपैयाँ पुरस्कार दिइएको भए पनि यसपटक करिब दुई लाख रुपैयाँले घटाइएको छ । आयोजकको भनाइअनुसार पुरस्कार राशी घटे पनि यस वर्ष सहभागी संख्या र भव्यताका आधारमा प्रतियोगिता ऐतिहासिक बनेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा विभिन्न जातजाति र संस्कृतिको संगमस्थल भएको भन्दै विविध सांस्कृतिक धरोहरको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

साथै, उहाँले पोखरा–तालचोक–बेगनास सडकखण्डमा स्थानीयले अबरोध नगर्न आग्रह गर्दै भन्नुभयो, “५० वर्षदेखि यस्तै अवस्थामा रहेको यो बाटो डिसेम्बरसम्म पनि बनेन भने स्थानीयकै कारण बन्न नसक्ने अवस्था आउन सक्छ, त्यसैले विकास निर्माणमा बाधा पु¥याउन हुँदैन ।”