लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वका लागि जानुका नेतृत्व टोली घर–दैलो अभियानमा

-


     पोखरा क्लिक     
     श्रावण २५ गते २०८२ मा प्रकाशित


पोखरा,

लेखनाथ उद्योग वाणिज्य संघ (लेउवा संघ) को आगामी भदौ २० र २१ गते हुने २९ औँ साधारण सभा तथा १५ औँ अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदकी उम्मेदवार जानुका पराजुली अधिकारीको नेतृत्वमा रहेको प्यानल हिजो आज घर–दैलो अभियानमा सक्रिय भएको छ । संघका आवद्ध सदस्य र व्यवसायिक प्रतिष्ठानमा पुगेर आफ्नो एजेन्डा र भावी योजनाबारे प्रत्यक्ष संवाद गर्ने अभियानमा जानुका नेतृत्वको टोली जुटेको हो ।

संघको २८ वर्षे इतिहासमा पहिलो पटक सशक्त महिला नेतृका रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिएकी जानुकाले “इमानदारी, पारदर्शिता र लगनशीलता व्यवसायिक क्षेत्रमा सक्षम नेतृत्वको आधार” भन्ने नाराका साथ अभियान अघि बढाइरहेकी छन् । वर्तमान महासचिव समेत रहेकी उनले अनुभव, युवा जोश र समावेशीताको सन्तुलित संयोजन भएको प्यानल सार्वजनिक गर्दै व्यवसायीहरूको हकहित, महिला उद्यमीको सशक्तिकरण र समावेशी विकासको प्रतिबद्धता जनाएकी छन् । देशको विसम परिस्थितीबाट युवा पलायन हुदै व्यवसायमा देखिएको समस्याको समाधानको लागि समेत आवश्यक छलफल र बहस गर्न अग्रणि भूमिका खेल्ने उहाँको योजना रहेको छ ।

उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई, महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल, कोषाध्यक्षमा हरी बस्ताकोटी छन् । खुला सदस्यमा प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भूर्तेल, भविन्द्र पुन ९भविन०, सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना, सन्दीप बुढाथोकी, महिला सदस्यमा शर्मिला श्रेष्ठ र गंगा परियार, एसोसियट सदस्यमा दयाराज भण्डारी तथा संस्थागत सदस्यमा वीरभद्र कँडेल रहेका छन् ।

युवा नेतृत्व भएकाले उनको उम्मेदवारीले व्यवसायिक क्षेत्रमा नयाँ सोच, उद्यमशीलता प्रवर्द्धन र महिला सहभागितामा प्रेरणा दिने अपेक्षा गरिएको छ । जानुकाले आफ्नो टिममार्फत लेखनाथलाई पर्यटकीय हब बनाउने, पुँडिटारमा औद्योगिक क्षेत्र स्थापना गर्ने, वेगनास तालवराह मन्दिरको प्रचार गर्ने र कृषि क्षेत्रमा ब्रान्डिङ, प्याकेजिङ तथा बजारीकरणमा जोड दिने योजना अघि सारेकी छन् ।

यो प्यानलसँग हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको समूह प्रतिस्पर्धामा छ, जसले चुनावलाई थप प्रतिस्पर्धात्मक बनाएको छ । निर्वाचनलाई पारदर्शी र निष्पक्ष बनाउन वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको संघले जनाएको छ ।

२ हजार १९ सदस्य रहेको लेउवा संघको यस अधिवेशनलाई संगठनको भविष्य मात्र होइन, समग्र लेखनाथको व्यवसायिक समृद्धिमा निर्णायक मोडका रूपमा हेरिएको छ । जानुका र उनको टोलीको घर–दैलो अभियानले सदस्यहरूबीच उत्साह जगाएको छ र नयाँ इतिहास रच्ने संकेत दिएको पराजुलीको दाबी छ ।