
पोखरा, साउन ११,
पोखरा महानगरपालिका–१२ स्थित हिल प्वाइन्ट माध्यमिक विद्यालयले कक्षा ११ मा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै ‘वेलकम कार्यक्रम–२०८२’ शनिबार पोखरामा सम्पन्न गरेको छ। विद्यालय जीवनको आरम्भमै विद्यार्थीहरूमा आत्मीयता, सकारात्मक ऊर्जा र मार्गदर्शनको अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
विविध सांस्कृतिक प्रस्तुति, अभिव्यक्ति र जानकारीमूलक सत्रमार्फत कार्यक्रमलाई रमाइलो र प्रेरणादायी बनाइएको थियो।कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजुली बहादुर गुरुङले गर्नुभयो। उहाँले विद्यार्थीको सफल भविष्य निर्माणमा विद्यालयको भूमिकालाई विशेष उल्लेख गर्दै, अनुशासन, निरन्तर अभ्यास र सकारात्मक सोचमार्फत अघि बढ्न विद्यार्थीहरूलाई प्रेरणा दिनुभयो।
विद्यालयका प्राचार्य दिवाकर जैशीले विद्यालयको स्थापना, विकास यात्रा तथा शैक्षिक दृष्टिकोणबारे प्रकाश पार्दै अध्ययनका साथै व्यवहारिक पक्षमा पनि विद्यार्थी सक्षम बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले “शिक्षा केवल किताबी ज्ञान नभई, समग्र व्यक्तित्व विकासको आधार हो” भन्दै विद्यार्थीहरूलाई आफ्नो क्षमताको पहिचान गर्न आग्रह गर्नुभयो।
सहायक प्राचार्य गंगाराम पौडेलले विद्यालयको संरचना, शैक्षिक नियम, पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापबारे नवप्रवेशी विद्यार्थीहरूलाई जानकारी गराउँदै, विद्यालयको प्रणालीप्रति सजग र अनुशासित बन्न आग्रह गर्नुभयो। कार्यक्रममा कक्षा १२ की छात्रा भोजमाया गुरुङले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन् भने नवप्रवेशी विद्यार्थीको प्रतिनिधित्व गर्दै कक्षा ११ की छात्रा रिश्ता गुरुङले धन्यवाद मन्तव्य दिँदै विद्यालयको वातावरणप्रति कृतज्ञता प्रकट गरेकी थिइन्।
सांस्कृतिक कार्यक्रमअन्तर्गत गीत, संगीत, नृत्य तथा अन्य सिर्जनात्मक प्रस्तुतीमार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यालय परिवार, व्यवस्थापन समिति सदस्य, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले आगामी दिनहरूमा यस्तै सिर्जनात्मक र प्रेरणादायी कार्यक्रमहरू मार्फत विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व बोध गराउने प्रयास गर्ने जनाएको छ।







