कालिमाटी शान्ति स्तूपा टोल विकास संस्थाको अधिवेशन सम्पन्न, अध्यक्षमा दिनेश बराल चयन

-


     पोखरा क्लिक     
     श्रावण १० गते २०८२ मा प्रकाशित


पोखरा, साउन १०,

पोखरा २२ को कालिमाटी शान्ति स्तूपा टोल विकास संस्थाको चौथो अधिवेशन तथा वार्षिक साधारण सभा आज (शनिबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुदिप बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका–२२ का वडा अध्यक्ष हिमलाल बराल प्रमुख अतिथि रहनुभएको थियो।

विशेष अतिथिका रूपमा वडा सदस्य कृष्णकुमारी देवकोटा तथा अन्य अतिथिहरूमा संस्थापक अध्यक्ष राजु क्षेत्री, पूर्व अध्यक्ष तथा सल्लाहकार भिमबहादुर सुनार, टोल अन्तर्गतका विभिन्न क्लब, आमा समूह, सहकारी संस्था, वडा युवा परिषद, विद्यालय व्यवस्थापन समिति तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजु बरालले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष दिनेश बरालले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष बरालले संस्थाले निरन्तर रूपमा समुदायका लागि उत्कृष्ट कार्य गर्दै आएको उल्लेख गर्दै अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनहरू व्यवस्थित र पारदर्शी ढंगले सम्प्रेषण गरिएकोमा प्रशंसा व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि टोलको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष सुदिप बिकले आफ्नो कार्यकालमा संस्थाले गरेका कामहरूको समीक्षा गर्दै आगामी कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले संस्थाले सुरु गरेको सकारात्मक प्रयासलाई नयाँ समितिले अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।

नयाँ कार्यसमिति चयनका लागि गठित निर्वाचन मण्डलको संयोजक वडा सदस्य कृष्णकुमारी देवकोटा रहनुभएको थियो भने सदस्यहरूमा बोधराज बराल र भिमबहादुर सुनार रहेका थिए। सर्वसम्मत निर्णयका आधारमा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिमा अध्यक्षमा दिनेश बराल, उपाध्यक्षमा मिनबहादुर बिक, सचिवमा यशोदा सुवेदी बराल, कोषाध्यक्षमा शारदा बराल चयन भएका छन्। यस्तै सदस्यमा सुमित्रा सुनार, बोधराज बराल, ईश्वर थापा, निश्चल देवकोटा र झम्कनाथ देवकोटा रहेका छन्। नयाँ कार्यसमितिले आगामी दिनमा टोल विकास, सरसफाइ, पूर्वाधार, सामुदायिक सहकार्य लगायतका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने योजना रहेको संस्थाले जनाएको छ ।