इक्यान कास्कीद्वारा दुबई अध्ययनका लागि शैक्षिक परामर्श तालिम, नेपाली विद्यार्थीका लागि दुबई नयाँ शैक्षिक गन्तव्य

-


     पोखरा क्लिक     
     श्रावण १० गते २०८२ मा प्रकाशित


पोखरा, १० साउन,

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले दुबई अध्ययन सम्बन्धी जानकारी मूलक शैक्षिक परामर्श तालिम पोखरामा सम्पन्न गरेको छ। इक्यान कास्कीले आफ्ना सदस्य तथा काउन्सिलरहरूलाई लक्षित गरी दुबईमा अध्ययनको सम्भावना, अवसर र चुनौतीबारे विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि एवं इक्यानका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेलले श्रमिकका रूपमा मात्र होइन, विद्यार्थीका रूपमा पनि दुबई नेपाली युवाहरूका लागि अब एक महत्वपूर्ण शैक्षिक गन्तव्य बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले दुबईले विश्वका उत्कृष्ट विश्वविद्यालयलाई स्वागत गरिरहेको र सन् २०३० पछिसम्म उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास हुन लागेको जानकारी दिनुभयो।

“कुनै समय दुबईबाट विद्यार्थीहरू फर्कनु परेको इतिहास छ,” पौडेलले भन्नुभयो, “तर अहिले कलेज छनोटमा सावधानी अपनाए शैक्षिक अवसरहरू उपयोग गर्न सकिन्छ।” इक्यानका द्वितीय उपाध्यक्ष भुवन बहादुर क्षेत्रीले अष्ट्रेलिया, अमेरिका, युरोप स्तरको शिक्षा अब दुबईमै पनि सुरक्षित र सुलभ रूपमा प्राप्त गर्न सकिने बताउनुभयो। उहाँले दुबईको शैक्षिक स्तर, अन्तर्राष्ट्रिय विद्यार्थीमैत्री वातावरण र विश्वस्तरको अवसरका कारण नेपाली विद्यार्थीहरूका लागि उत्कृष्ट विकल्प बन्न सक्ने धारणा राख्नुभयो।

इक्यान कास्की अध्यक्ष ओमप्रकाश गैरेले दुबईलाई सुरक्षा, शान्ति र अन्तर्राष्ट्रिय पहुँचको दृष्टिले पनि अब शैक्षिक गन्तव्यका रूपमा हेर्न सकिने बताए। उहाँले इक्यान कास्कीले चाँडै एजुकेशन फेयर आयोजना गर्ने तयारीसमेत गरिरहेको जानकारी दिनुभयो। इक्यान कास्की उपाध्यक्ष धनबहादुर शाही (सन्तोष) ले अष्ट्रेलिया, क्यानाडा, युकेजस्ता देशमा विभिन्न कारणले आवेदन दिन नसक्ने विद्यार्थीका लागि दुबई सहज विकल्प बन्ने विश्वास व्यक्त गर्नुभयो।

तालिम संयोजक राजन पन्थीले इक्यान कास्कीले आफ्ना सदस्यहरूलाई अन्तर्राष्ट्रिय शैक्षिक बजार अनुरूप समयसापेक्ष अभिमुखिकरण कार्यक्रम गर्दै आएको बताए।कार्यक्रममा रिगेन्ट मिडल इस्ट, एक्सप्लोर एजुकेशन र रोयल रोड युनिभर्सिटीका प्रतिनिधिहरूले दुबईको शैक्षिक अवस्था, अवसर, संरचना र नेपालका विद्यार्थीहरूका लागि उपलब्ध सुविधाहरूको बारेमा प्रस्तुति दिएका थिए। शैक्षिक परामर्श व्यवसायलाई गुणस्तरीय र विश्वसनीय बनाउने उद्देश्यले यस्तो कार्यक्रमले सशक्त आधार तयार गर्ने आयोजकहरूको विश्वास रहेको छ।