
पोखरा,
गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। ७६ वर्षको उमेरमा उहाँको आज बिहान ८ बजे चितवनको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
कांग्रेसका नेता समेत रहनु भएका गुरुङ विगत केही वर्षदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो। स्वास्थ्य अवस्था बिग्रँदै जाँदा अन्ततः आज उहाँले प्राण त्याग गर्नुभएको हो। पृथ्वीमान गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो। त्यसअघि नेपाली कांग्रेस चितवनका सभापति समेत रहनुभएको उहाँ नेपाली कांग्रेस विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसबाट जिल्ला सभापति बन्नुभएको थियो। विसं २०४६ को जनआन्दोलनका बेला उहाँ जनआन्दोलन परिचालन समितिमा समेत सक्रिय हुनुहुन्थ्यो।
गुरुङले नवलपरासीको भूमि आयोगको अध्यक्षका रुपमा पनि काम गर्नुभएको थियो। उहाँको दीर्घकालीन सक्रियता पार्टी र सार्वजनिक सेवा दुबै क्षेत्रमा स्मरणीय रह्यो।
विसं २००६ सालमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका, ल्वाङघलेलमा जन्मिनुभएका गुरुङ पछि चितवन बसाइँ सरेर स्थायी रूपमा त्यहीं बसोबास गर्न थाल्नुभएको थियो। उहाँका जेठो छोराको निधन भइसकेको छ भने कान्छा छोरा विदेशमा रहनुभएको र उहाँकी एक श्रीमती हुनुहुन्छ । परिवारका अनुसार गुरुङको अन्त्येष्टि आइतबार हुनेछ।







