
विश्व पर्यटन दिवसको अवसरमा आउँदो असोज ४ गते हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेलम्बो नेपालले पनि सहकार्य गरेको छ । उक्त प्रतियोगिताका लागि नेलम्बो नेपालले मेडिकल सहयोग सहित तेस्रो पुरस्कार प्रायोजन गर्ने भएको हो ।
नेलम्बो नेपालले उक्त प्रतियोगितालाई सफल पार्न प्रतियोगिताको दिनमा आवश्यक मेडिकल टिमसहित हेल्थडेक्स राख्ने र तेस्रो पुरस्कार बापत १५ हजार रुपैयाँसमेत सहयोग गर्ने संस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी गराउनु भयो ।
पोखरा क्लिकका अध्यक्ष दीननाथ बराल र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
पहिलो संस्करणबाटै प्रतियोगितामा जोडिन पाउँदा निकै खुसी लागेको अध्यक्ष देवकोटाले बताउनु भयो । नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको बताउँदै उनले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेर नै पोखरा क्लिकसँग सहकार्यका लागि सम्झौता गरिएको जनाउनु भयो ।
उक्त प्रतियोगितामा नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय, पोखरा २ को सहकार्य रहेको छ । प्रतियोगिताको अफिसियल मिडिया पार्टनरमा सिटीवान टेलिभिजन रहेको छ । होटल मुस्ताङ लेते एण्ड थकाली किचन, परिचय एड्भर्टाइजिङ लगायतको सहयोग रहेको प्रतियोगिताका लागि आगामी भदौं पहिलो सातादेखि अनलाइन फर्ममार्फत् धावकले नाम दर्ता गर्न सक्ने व्यवस्थापक सागर सुनारले बताउनु भयो ।



