३० करोडको लागतमा धम्पुस–खानीगाउँ सडक स्तरोन्नति सुरू, ग्रामीण पर्यटन र अर्थतन्त्रमा नयाँ उचाइको अपेक्षा (भिडियो सहित)

-


     पोखरा क्लिक     
     श्रावण ९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ९ साउन,

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ मा पर्ने घट्टेखोला–देउराली–धम्पुस–खानीगाउँ सडकको स्तरोन्नतिको काम औपचारिक रूपमा सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारले ग्रामीण सम्पर्क सुधार परियोजना (आर.सी.आई पि.)अन्तर्गत दुई वर्षभित्र १३ किलोमिटर लामो उक्त सडक ३० करोड १८ लाख ९४ हजार रुपैयाँको लागतमा पिच गर्ने योजना अघि सारेको हो। आयोजनाका प्रमुख लक्ष्मिप्रसाद भण्डारीका अनुसार हाल ढुंगा निकाल्ने र साइड क्लियर गर्ने काम जारी छ।

शिलान्यास समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशबहादुर केसीले निर्माण कार्यमा कुनै ढिलाइ नगरी गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो। “धम्पुसको पर्यटन र अर्थतन्त्रमा यो सडक निर्माण कोसेढुङ्गा सावित हुनेछ,” मन्त्री केसीले बताउनुभयो।

प्रदेश सांसद गणेशमान गुरुङले स्थानीय जनप्रतिनिधि, सरकार र नागरिकको समन्वयमा योजनाको कार्यान्वयन सम्भव भएको बताउनुभयो। गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले सडक निर्माणमा कुनै अवरोध नगर्न स्थानीयलाई आग्रह गर्नुभयो भने मन्त्रालयका सचिव कमलकुमार अधिकारीले कार्यको गुणस्तरमा सम्झौता नहुने स्पष्ट पार्नुभयो।

सडक स्तरोन्नतिको शिलान्यास कार्यक्रम माछापुच्छ्रे–७ का वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। उहाँले सडकका लागि जग्गा दिने स्थानीयवासीप्रति आभार व्यक्त गर्दै सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो। निर्माण कम्पनीका प्रतिनिधि नरेन्द्र बाँस्तोलाले खानीगाउँबाट निर्माण कार्य सुरु भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार वर्षात्‍का बीच पनि कामलाई निरन्तरता दिइनेछ।

स्थानीय जगनबहादुर गुरुङका अनुसार यो सडकको ट्रयाक वि।सं। २०६१ मै खुलिसकेको भए पनि हाल आएर मात्रै पहिलोपटक सडक स्तरोन्नतिको काम सुरु भएको हो। धम्पुस पर्यटकीय गाउँ मात्र नभई अन्नपूर्ण आधार शिविर (एबिसी) जाने मुख्य प्रवेशद्वार पनि हो। पर्यटन व्यवसायी दलबहादुर गुरुङका अनुसार यो सडक धम्पुसको विकासको मेरुदण्ड बन्नेछ भने यदुनाथ अधिकारीले सडकले कृषि, यातायात र पर्यटन सबै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

पूर्व वडाध्यक्ष समबहादुर गुरुङका अनुसार धम्पुसबाट अन्नपूर्ण, माछापुच्छ्रे, मर्दी हिमाललगायतका दर्जनौं हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। गुरुङ संस्कृतिको मौलिकता, हरियाली वातावरण र होमस्टे व्यवसायका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दो छ। सडक स्तरोन्नतिसँगै धम्पुसले विकासको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।



This will close in 20 seconds