
दीननाथ बराल,
पोखरा, १९ असार,
अहिलेसम्म पोखरामा हचुवाका भरमा पर्यटक सङख्या सार्वजनिक गर्दै आए पनि अब भने आउँदो आर्थिक बर्षकोे साउन महिनाबाटै पर्यटकको तथ्याङक संकलन गरिने भएको छ । गण्डकी प्रदेश सरकारले विभिन्न निकायसंगको सहकार्यमा पोखरा आउने पर्यटकको तथ्याङक संकलन गर्ने भएको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव इन्द्रप्रसाद बस्यालले पोखराक्लिकलाई बताउनु भयो ।
पोखरालाई पर्यटनको राजधानि घोषणा भएको १६ महिना पछि यहाँ आउने विदेशी पर्यटकहरुको तथ्याङक राख्न आवश्यक भएकोले त्यसको सम्पूर्ण व्यबस्थापन गर्ने भएको उहाँले जनाउनु भयो । गण्डकी प्रदेशको मुख्य तीन वटा नाका रामदी, आवुखैरेनी र त्रिवेणीमा विदेशी पर्यटकहरू गण्डकी प्रदेशमा प्रवेश गर्दा उहाँहरूको तथ्याङ्क सङ्कलन गर्ने वा अध्यावधिक गरिने सचिव बस्यालले जनाउनु भयो । उक्त अभियानमा पोखरा महानगरपालिकाले समेत सहयोग गर्ने भएको छ । पोखराका मेयर धनराज आचार्यले पोखरा पर्यटनको राजधानि भएसंगै यहाँ आउने पर्यटकको तथ्याङक संकलन गर्ने कार्यमा आफुहरुले समेत सहयोग गर्ने बताउनु भयो ।
पोखराका पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठले पोखरामा पर्यटकहरूको तथ्याङ्क समयमा राख्न नसक्दा पोखराको विकास कसरी र कस्तो गर्ने भन्ने विषयमा अन्योल हुने गरेको बताउनु भयोे । पोखरामा कुन कुन देशका पर्यटकहरू कति मात्रामा आउँदा रहेछन र त्यसको आधारमा विभिन्न कार्ययोजना विकास र उहाँहरूको इच्छा र चाहना अनुसारको कार्यक्रम प्याकेजहरु निर्माण गर्न सहज हुने उहाँले दाबी गर्नुभयो । पोखरामा कुन कुन देशका कति पर्यटक भित्रिन्छन् र उनीहरूको इच्छा र चाहना अनुसारको रणनीतिक रुपमा कार्ययोजना बनाउन सके पोखराबाट पर्यटन क्षेत्रबाट धेरै लाभ लिन सकिने उहाँको भनार्ई थियो ।
अहिलेको अबस्थामा पोखरामा काठमाण्डौं आएका पर्यटकको करिब ४० प्रतिशत जसो पोखरा आउने गरेको हचुवाको भरमा दाबी गरिन्छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० चैत ४ गते औपचारिक रुपमा पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका गर्नु भएको थियो । हवाई मार्गबाट पोखरा भित्रिने पर्यटकहरूको सङख्या पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने गरेको छ भने त्यसैगरी पोखरामा सडक मार्ग हुँदै भित्रिने पर्यटकहरूको तथ्याङ्क राख्ने कुनै समेन्त्र स्थापना हुन नसकेकोमा पोखराका पर्यटन व्यावसायिको गुनासो छ ।
पोखरा जस्तो शहरमा कुन सिजनमा कुद देशका कस्तो प्रकारका पर्यटकहरु आउछन भन्ने कुराको ज्ञान भएमा सोही अनुसारको पर्यटन पूर्वाधार, पर्यटकको आकर्षण के हो उनीहरुको खानपिन र मनोरन्जनको बिषयमा समेत प्रष्ट हुने व्यवसायीहरुको भनाई छ ।





