कास्कीको माछापुच्छ्रे पुर्खोली घर भएका विश्वनाथ पौडेल राष्ट्र बैँकको गर्भनर

-


     पोखरा क्लिक     
     जेठ ७ गते २०८२ मा प्रकाशित


पोखरा,

सरकारले नेपाल राष्ट्र बैँकको गर्भनरमा अर्थशास्त्री विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

सत्ता गठबन्धनका नेकपा(एमाले) र नेपाली काँग्रेस बीचको कबिर डेढ महिनाको रस्साकस्सी बीच केन्द्रीय बैंकले १८ औं गभर्नर पाएको छ । केन्द्रीय बैंकमा गभर्नर पद रिक्त भएको करिब डेढ महिना पछि नयाँ गभर्नर नियुक्त गरिएको हो । सत्ताका प्रमुख घटक नेपाली काँग्रेस र एमालेबीच कसलाई गभर्नर नियुक्त गर्ने भन्नेमा निकै रस्साकस्सी चल्दा प्रक्रिया लम्बिएको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ धिताल पौडेलको पुर्खेयौली घर भएको माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सिता अधिकारीले बताइन् । सामाजिक संजालमा उनलाई बधाई आउन थालेको छ भने केहीले नेपालको अर्थतन्त्र अब लयमा फर्किने विश्वास गर्न थालेका छन् । पौडेलका बुबा विसं २०१८ तिर धितालबाट चितवन बसाई सरेका थिए । त्यस बेला धितालमा पानी र सडकको अभाव पछि पौडेलका बुबा सुविधा खोज्दै तराई झरेका हुन्। पौडेलको जन्म भने चितवनमै भएको हो ।

गभर्नरका रुपमा नियुक्त पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालीफोर्नियाबाट विद्यावारिधी गरेका छन भने उनले विषय विज्ञता अर्थशास्त्रका अलावा कृषिस्रोत, स्रोत व्यवस्थापन र श्रम अर्थतन्त्र र आर्थिक इतिहासमा छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि उनीसंग छ । नेपालको अर्थतन्त्रलाई पहिलाकै लयमा फर्काउने गरी विज्ञहरुको राय सल्लाह अनुसार अघि बढ्ने उनले बताए ।