
दीननाथ बराल,
पोखरा २२, वैशाख,
व्यक्तिमा दृर्ण इच्छा शक्ति भए काम गर्न उमेरले पछि छेक्दैन भनेको हो रैछ । उमेरले ६६ बर्ष पुग्नु भएको कास्की रुपा गाउँपालिका ६ स्थित भिरकोट गाउँकी जानकी गुरुङ गाउँकै प्रेरणाको श्रोत भएकी छन् ।

हसिलो मुहार, खाइलाग्दो शारीर मौरी जस्तै बिहान देखि बेलुकासम्म केही न केही काममा व्यस्त हुने स्वभाव सायद अन्य व्यक्तिहरुको लागि उनी प्रेरणाको श्रोत हुन सक्छिन् । दुई छोरीकी आमा विगत ३८ बर्ष अघि श्रीमान गुमाउनु पर्यो । भिरचोक सामुदायिक होमस्टे करिब एक बर्ष अघि देखि संचालन हुदै आए पछि उनी र उनी जस्तै अन्य बुढेसकालमा पनि आफ्नै गाउँ फर्कियर मौरी पालन सहित होमस्टे गर्न थालेका छन् । आफ्नो बुढेसकालको सहारा मौरी र होमस्टे हुने भएको जानकीले पोखराक्लिक समक्ष बताइन् ।

गाउँमा जेन तेन कृषि पेशा गर्दै आएकी जानकी गुरुङ विगत २ बर्ष छोरी कमला गुरुङको घर पोखरामा बस्दै आए पनि आफ्नो गाउँ ठाँउको माटोले गाउँ फर्किायो । उनले विगत २०७४ साल देखि एउटा मौरीको घारबाट मौरी पालनको सुरुवात गरेकी थिइ् । आफ्नो गाउँमा केही घर परिवारमा मौरी पालन गरेको देखेर १० हजारमा मौरी घार सहित खरिद गरेकी गुरुङको घरमा हाल मौरीको २० घार पुगेको छ । गाउँमा मौरी पालन राम्रो हुन थाले पछि रुपा गाउँपालिकाले पनि गाउँमा मौरी पालन व्यवसायलाई थप प्रबद्र्धन गर्न मौरी पालन गर्ने घर घरमा सहुलियतमा मौरीका घार उपलब्ध गराउन सुरु गर्यो । मौरी पालनबाट केही मुनाफा लिन सुरु गरेकी जानकी जस्ता व्यक्तिको लागि गाउँपालिकाले दिएको सहुलियतको मौरी घार आफ्नो व्यवसाय बिस्तार गर्ने अर्को राम्रो माध्यम हुन पुग्यो । उनले गत बर्ष मात्र थप दुई वटा मौरीका घार ३ हजार ५ सयका दरमा ७ हजारमा सहुलियत दरमा खरिद गरेकी हुन् ।

हिजोआज मौरीको रेखदेख देखि समय समयमा मह काट्ने र होमस्टेमा आगन्तुक पाहुनालाई स्वागत गर्ने दिन चर्या नै भएको छ जानकीको । हाल घरमा पारिवारीक रुपमा एकल भए पनि आफ्ना आफन्तको साथ र सहयोगले गर्दा ५ वटा होमस्टेका रुम समेत संचालन गर्दै एकै रातमा १० जना पाहुनालाई खानपानको व्यबस्था मिलाउन उनी समक्ष भएकी छन् । बर्षमा ३ पटक चौमासिक रुपमा मह काट्दा एक सिजनमा ४० देखि ५० माना मह उत्पादन हुने गरेको छ । उनले प्रति माना अर्गानीक मह भएका कारण १ हजारमा बिक्रि गर्दै आएकी छन । आफुहरुले उत्पादन गरेको मह बजारको कुनै समस्या नभएको बताउदै जानकीले आफ्नो घरमा उत्पादन भएको मह बढी भएमा आफ्ना आफन्तको घरमा भेट्न जादा उपहार स्वरुप मह लियर जान थालेको उनले सुनाइन् ।
२८ बर्षको यौवन अस्थामा श्रीमान गुमाएकी जानकीको हाल घुँडा दुःख्ने समस्या छ यद्यपी उनी बिहान ५ः०० बजे उठेर आफ्नो घरयासी काममा व्यस्त हुन्छिन भने दिनभरी जसो मौरीको रेखदेख, खेतवारीमा फलफुल तरकारी एवं अन्नवालीको संरक्षण गर्नु देखि कहिले काँहि आगन्तुक पाहुनालाई स्वागत गर्न पनि पछि पर्दैनन् । सामान्य पढाई लेखाई समेत गर्न नपाएकी जानकी केही समय पोखरा बस्दा आफ्नो घर गाउँको पाखो पखेरो आफ्नो जग्गामा कसैले घाँस काटेको स्मरणले सताउने गरेको सुनाइन् । हाल आफ्नो घरमा बस्दा सन्तुष्टि भएको बताउदै उनले मौरी पालन देखि होमस्टेमा आउने पाहुनाले गर्दा आफुहरुलाई निकै हौसला एवं प्रोत्साहन भएको बताइन् । आफ्नै घरमा बसेर स्वरोजगार हुदै मासिक करिब १५ हजार आम्दानी गर्न सक्षम बनेकी छन् । आफ्नो होम स्टेमा आगन्तुक पाहुनालाई स्थानिय रुपमा उत्पादन भएका अन्न वाली देखि फलफुल तरकारी उपलब्ध गराउने भएको उनले बताइन् ।
गत जेठ महिना देखि संचालन भएको होमस्टेमा काठमाण्डौं, चितवन, पोखरा सहितका पाहुनाहरु आफ्नो गाउँमा आउन थाले पछि अब विदेशी पाहुनाहरुलाई समेत ल्याउन केही पूर्वाधार तथा फर्निसिङमा सुधार गर्नु पर्छ भने पछि उनी र उनी जस्ता होमस्टे संचालकलाई राज्यको तर्फबाट प्रोत्साहन स्वरुप केही सहयोगको खाँचो छ । सौचालय करिब ७ फिट अग्लो, खाँट कम्तिमा साँढे ६ फिटको लामो र ३.५ मिटरको चौडाईको बनाउन उनीहरुलाई सुझाव आएको छ ।
आफ्नो गाउँलाई मौरी पकेट क्षेत्र बनाउने उद्धेश्यले मौरीमा सहुलियत दिन सुरु गरिएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । उनका अनुसार गाउँमा हाल ३५ हजार लिटर मह उत्पादन हुन सुरु भएको छ । केही बर्ष अघि बार्षिक ८ हजार लिटर मात्र मह उत्पादन भएकोमा हाल पालिकाले मह उतपादन गर्ने परिवारलाई सहुलियतमा मौरीको घार उपलब्ध गराएसंगै मह उत्पादन बढेको उनको दाबी छ । गाउँमा बस्ने वातावरण सृजना गर्न पालिकाले किसानहरुलाई बिउ विजन, मल देखि होमस्टे प्रबद्र्धन सहितका विभिन्न उत्पादन मुलक कार्यक्रममा सहयोग गर्दै आएको दाबी गरे । उनका अनुसार भिरकोट सामुदायिक होमस्टेमा हाल १० घरमा होमस्टे संचालन भएको छ । उक्त गाँउमा करिब ३० घर रहेका छन् ।
७ वटा वडा रहेको यस पालिकामा ३ हजार ६ सय ६३ घर परिवार रहेको उपाध्यक्ष लाल सुब्बा गुरुङ बताउछिन् । समुद्रि सतह देखि १ हजार २ सय ६५ मिटिर माथिको उचाईमा रहेको हतिमैता भ्यूटावर, झण्डा पार्क, हरियाली वनजंगल मौसम खुल्दा हिमश्रृखला अवलोकन देखि पोखरा, लेखनाथ लगायतको क्षेत्र अवलोकन गर्न सकिन्छ । कास्कीको रुपाकोट रिसोर्ट पनि भिरकोट समुदाय भन्दा नजिकै रहेको छ ।







