
दीननाथ बराल,
पोखरा २६, चैत,
पोखरा देखि चिनको छेन्दु सिधा हवाई उडानको हाल व्यवसायिक चार्टर्ड उडाई जारी रहेकोले यसलाई दिगो रुपमा संचालन गर्न धेरै नेपालीहरु रहेका देशहरुको ट्रान्जिट प्वाइट समेत छेन्दु अन्तराष्ट्रिय विमानस्थललाई बनाउन पोखरेलीहरुले माग गर्नु भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा सहभागि पर्यटन व्यवसायीहरुले पोखरा देखि चिनको छेन्दुमा अन्तराष्ट्रिय ट्रान्जिट प्वाइट बनाउन सके दिगो रुपमा उक्त रुटमा पर्यटक ओहोर दोहोर हुने दाबी गर्नु भएको हो ।

पोखरा पर्यटन परिषदले पोखरामा सोमबार साँझ आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै परिषदका संस्थापक अध्यक्ष असोक पालिखेले चिन हाल विश्वकै नमुना देशको रुपमा विकसित भएको दाबी गर्नु भयो । पोखरा देखि चिन जाने विभिन्न पेशा तथा व्यवसायमा आबद्ध भएकाहरुलाई त्यहाँको ज्ञान र सिप समेत हस्तान्तरण हुने गरी व्यवसायीक प्रबद्र्धन गर्नुपर्ने उहाँको जोड थियो । विश्वका धेरै मुलुकहरु आफुले अवलोकन गरे पनि चिन भ्रमण गर्ने अवसर बल्ल मिलेको बताउदै संस्थापक अध्यक्ष पालिखेले पोखरा ल्हासा तर्फ जान तयार रहेको उल्लेख गर्नुभयो ।

पोखराका मेयर धनराज आचार्यको नेतृत्वमा पहिलो व्यवसायी चार्टर्ड उडानमा पोखरा देखि छेन्दु चैत ५ गते देखि १२ गतेसम्म पोखराका पर्यटन व्यवसायी, पत्रकार सहितको टोलीले भ्रमण गरेको परिषदका महासचिव जीवनराज सापकोटाले बताउनु भयो । टोलीले छेन्दु, लुजाउ, छोङछिङ लगायतका शहरहरुका पर्यटकीय गन्तव्यमा पुगेको थियो भने छेन्दु र छोङछिङमा व्यवसायीक प्रबद्र्धन गर्न सेल्स मिसन बिज्नेस टु बिज्नेस (बी टु बी) कार्यक्रमले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन हुने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताउनु भयो ।
पोखराका मेयर आचार्यले सिचुवान एअरलाइन्सको व्यवसायीक १० वटा फ्लाइट मध्य ३ वटा पोखरेलीहरुले चार्टर्ड गरेर देखाउनु पर्नेमा अब तेश्रो चार्टर्ड पोखरा देखि छेन्दु वैशाख २ गते हुने उक्त व्यवसायीक चार्टर्डमा सहभागि भई चिन घुम्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । चैत १९ गते उद्योग बाणिज्य संघको १ सय २० सदस्य टोली चिनको छेन्दु प्रस्थान गरेको थियो ।
पहिलो फ्लाइटमा सहभागिहरुले १ लाख २७ हजारको प्याकेजमा ७ रात ८ दिनको भ्रमण गर्नु भएको थियो भने दोश्रो उडानमा सहभागिहरुले ९९ हजार प्याकेजमा छेन्दु जानु भएको हो । टोली छेन्दु र इमाई मात्र प्याकेजमा ५ रात छेन्दुमा र टिकट पनि जहाँ गइन्छ आफै खर्च गर्ने गरी गरिएकोले गर्दा पहिलो टिमको भन्दा खर्चीलो भएको मेयर आचार्यले जनाउनु भयो ।
तेश्रो फ्लइट भर्न सबैले साथ सहयोग गरेर पोखराबाट एउटा टिम चिन भ्रमणमा विहिबार भित्र भिषा प्रकया अघि बढाउन मेयर आचार्यले आग्रह गर्नुभयो । पोखरा ल्हासा फ्लाइट समेत नियमित उडान गर्न अन्य देश तथा शहरमा भ्रमणमा जाने पर्यटकहरुलाई ल्हाला फ्लाइट गर्न समेत मेयर आचार्यले जनाउनु भयो । सहकारीको नेतृत्वमा तेश्रो व्यवसायीक चार्टर्ड फ्लाइट हुने तयारी भएको परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो ।
पोखरा देखि अन्तर्राष्ट्रिय उडानको सम्भावना भएर व्यावसायिक चार्टर्ड उडान गरिएको मेयर आचार्यको भनाई थियो । कुन्मिन, ल्हाला, छेन्दुबाट पोखरासम्म करिब ३ घण्टामै उडान गर्न सकिने छोटो रुट रहको उहाँले दाबी गर्नु भयो ।
छेन्दु, लुजाउ, छोङछिङ लगायत सहरमा भएका व्यवसायीक प्रबद्र्धन कार्यक्रमले दुुई देशबिचको सम्बन्धसँगै पर्यटकीय साझेदारीलाई उजागर गरेको बताउँदै मेयर आचार्यले सिचुवान एयरलायन्सको धेरै देशमा रहेको सञ्जालको अधिक प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । सम्बन्धित एअरलाइन्सहरुले पनि अब चासो देखाउदै सम्भावना भएका क्षेत्रमा सिधा उडानको लागि बिषेश पहल सहित नियमित स्याडुल प्रकाशन गर्नुपर्ने पोखरा भ्रमण बर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले बताउनु भयो । पोखराका नीजि क्षेत्रबाट सुरु भएको उक्त अभियान सरकार र सम्बन्धित एअरलाइनसहरुले अब अपनत्व लिनुपर्ने उहाँको भनाई छ ।