पोखराबाट अब सुतेर पनि काठमाण्डौं जाने बस सेवा सुरु, भाडा शुल्क कति !

-


     पोखरा क्लिक     
     कार्तिक १२ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १२, कार्तिक,

पोखरा काठमाण्डौं रुटमा विभिन्न कम्पनीहरुले स्तरिय बस सेवा संचालन गर्दै आएको सन्र्दभमा पछिल्लो समयमा सुतेरै पनि यात्रा गर्न सकिने बस सेवा संचालन भएको छ । कोइली ट्राभल्स प्रालिले पोखरा २५ हेम्जादेखि काठमाण्डौंको भक्तपुरसम्म सञ्चालन हुनेगरी थप दुई सिल्पर बस (सुतेर यात्रा गर्न मिल्ने बस) रहेकोे जसमा एसीसहित सोफा सिट जडान गरिएको कोइली ट्राभल्स प्रालिका सञ्चालक मेघराज त्रिपाठीले बताउनु भयो ।

सोमबार पोखरा जिरोकिलोमिटरबाट सुरु भएको डेमो हेमजा सम्म गरिएको थियो भने मंगलबारबाट व्यवसायीक रुपमा संचालन हुने भएको उहाँले बताउनु भयो । बसमा ८ वटा सिटमा सुतेर यात्रा गर्न सकिने भएको छ भने १६ वटा सोफा सहितको सुविधायुक्त सिट रहेका छन् । उक्त बसमा यात्रुले खाजा, पानी र चियाको समेत सेवा प्राप्त गर्नुहुने भएको कोइली ट्रभल्स प्रालिका अर्का सञ्चालक अशोक कुमार चौधरीले बताउनु भयो । उक्त बस सेवाको यात्रा गर्दा यात्रुले एक हजार ६ सय रुपैयाँ भाडा तिर्नुपर्ने छ । उक्त बस सेवा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गत संचालन हुने भएको हो । कोइली ट्राभल्स प्रालिले दुई करोड लगानीमा भित्राएको दुई वटा बस सेवा संचालनमा ल्याएको हो ।

यसैबिच, सोमबार उक्त बस सेवाको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले उद्घाटन गर्नु भएको थियो । बस सेवाको सुभारम्भ गर्दै उहाँले अव यात्रुले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आवद्ध बसहरुमा यात्रुले चाहे अनुसारको बस सेवा लिन सक्ने सुविधा प्राप्त भएको दाबी गर्नु भयो । वर्तमान जटिल अवस्थामा समेत पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रति विश्वास गरी व्यवसायीले लगानी गर्नु निजी क्षेत्रको लागि ठुलो उपलब्धि भएको उहाँले जनाउनु भयो । सुविधायुक्त बाटोघाटो र व्यवसायीक वातावरण राज्यले बनाउनुपर्नेमा उहाँले माग गर्नु भयो ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी मार्फत सुविधायुक्त बस थपिने क्रम जारी रहेको बताउनु भयो । अब देशभर प्राप्त हुने क्रम जारी रहेको जानकारी दिए । वर्तमान अवस्थामा पनि भविष्यको आसाले व्यवसायीले लगानी गरेको उहाँले जनाउनु भयो । प्रालि अन्र्तगत हाल ५० भन्दा बढी बस सेवा संचालन भएको अब बिस्तारी सुविधा सम्पन्न बसहरु नै थप्ने क्रम जारी रहेको उहाँले बताउनु भयो । यात्रुको सुविधा र व्यवसायीक हितका लागि आफुहरुले निरन्तर लागि रहेको अध्यक्ष केसीले उल्लेख गर्नु भयो । पोखरा काठमाण्डौं रुटमा खाजा, खाना, चिया, चिसो सहितको सेवामा २५ सय सम्मको शोभा बस सेवा संचालन भएको छ ।