
पोखरा १४, भदौं,
कास्कीको माछापुच्छ्रे« गाउँपालिका–२ भुर्जुङखोलामा जारी श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा डेढ करोड संकलन भएको छ । भदौं ६ देखि जारी उक्त महायज्ञको आज समापन हुने भएको महायज्ञका प्रचार संयोजक कृष्ण गौतमले बताउनु भयो ।
भुर्जुङखोलाको खाँदरजुङ्गस्थ्ति घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले आयोजना भएको महायज्ञमा हालसम्म १ करोड ४५ लाख नगद र करिब १४ लाख सहयोग प्राप्त हुने आश्वासन प्राप्त भएको बताइएको छ ।
साविक सार्दिखोला गाविस वडा नं ४ घलेखर्क घर भई हाल अमेरिका निवासी पानबहादुर तामाङले महायज्ञमा रु दुई लाख दुई हजार दुई सय ५५ दान गर्नुभएको छ । पानबहादुरले स्व.आमा विविमाया तामाङको स्मृतिमा प्रदान गर्नुभएको सहयोग रकम उहाँका दाजु राजु तामाङले हस्तान्तण गर्नुभयो । महायज्ञको सहसंरक्षक समेत रहनुभएका वडाध्यक्ष गणेश आचार्यले पानबहादुर गर्नुभएको सहयोग रकम व्यक्तिगत रुपमा हालसम्मकै धेरै भएको बताउनुभयो ।
“अमेरिकामा बसेर आफ्नो ठाउँका लागि पानबहादुरले गर्नुभएको सहयोग प्रसंसनीय छ । उहाँले यसअघि समेत गाउँका हरेक क्रियाकलाप र गतिविधिमा सँधै सहयोग गर्दै आउनुभएको छ । महायज्ञ परिवार उहाँप्रति अत्यन्त कृतज्ञ छ ।” वडाध्यक्ष आचार्यले भन्नुभयो ।
महायज्ञमा माछापुच्छ्रे गाउँपालिकाका नौ वटै वडा तथा पोखराको पुरुनचौर तथा लामाचौरबाट समेत संघसंस्था, आमा समूह तथा भक्तजनहरुको बाक्लो उपस्थितिले आफूहरु उत्साहित भएको आयोजक शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङले जानकारी दिनुभयो ।