
दीननाथ बराल,
पोखरा २, भदौ,
पोखरामा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको तथ्याङक संकलन गरिने भएको छ । पोखरा महानगरपालिकाले सडक मार्ग हुदै पोखरा आउने पयटकहरुको तथ्याङक संकलन गर्ने अन्तिम तयारीमा रहेको पोखराका मेयर धनराज आचार्यले आइतबार एक कार्यक्रममा बताउनु भयो ।

पर्यटनको राजधानि घोषणा भएको पोखरामा पर्यटनको बृहत बिकास गर्न पनि पहिला तथ्याङक आवश्यक भएकोले त्यसको खोजिमा आफुहरु लागेको उहाँको भनाई थियो । पोखरा आउने पर्यटकहरुको हालसम्म कुनै निकायले पनि यथार्थ विवरण संकलन नगरेकोले केही समय पश्चात पोखरा आउने पर्यटकहरुको तथ्याङक संकलन सहित उहाँहरुले पोखरामा चाहेको बिषयलाई प्रश्नको रुपमा समेत राखिने भएको मेयर आचार्यले जनाउनु भयो । ट्रेकिङ्ग एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा ट्रेकिङ पोटल गाईड (पथ प्रर्दशक) ट्रेनिङ २०८१ दुई हप्ते तालिमको आइतबार समापन गदै मेयर आचार्यले पोखरामा पर्यटन पूर्वाधार बिकासमा प्रदेश सरकारको सहकार्यमा केही काम गर्न लागेको जनाउनु भयो ।

पथ प्रदर्शकले के कस्तो व्यावहार गर्नुहुन्छ, त्यसले नेपालको पर्यटन व्यवसाय जोडिएकोले अनुशासन हुन उहाँले आग्रह गर्नु भयो । नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथुम) लाई पोखरामा ल्याउन तथा त्यसको शाखा पोखरामा विस्तार गर्न सुझाव दिदै मेयर आचार्यले आवश्यक सहयोग गर्ने बताउनु भयो । पोखरामा पद मार्गको संरक्षण गर्न रोयल ट्रेक पुनः मर्मत गर्ने उहाँले जनाउनु भयो । हरेक देशमा भएका बस्तुलाई पर्यटनसंग जोड्नुपर्नेमा मेयर आचार्यको जोड दिनु भयो । पोखरा सबै सिजनको गन्तव्य बनाउन पर्यटनको राजधानि घोषणा हुनुले मद्धत पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

नाथुमका कार्यकारी निर्देशक संगिता ओेझाले पर्यटनमा स्वच्छ प्रतिष्प्रर्धा गर्न आग्रह गर्नु भयो । पोखरामा उपयुक्त वातावरण भए नाथुमको शाखा बिस्तार हुन सक्ने उहाँले आशय व्यक्त गर्नुभयो । नाथुमले देशमा करिब ६२ हजार जनशक्ति उत्पादन गरेको ओझाको दाबी छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले गाईड पोटल पर्यटन उघोगमा महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । २०२५ मा पोखरामा १५ लाख पर्यटक भित्राउन स्वदेश र विदेशमा प्रचार प्रसार गर्न आवश्यक भएको उहाँले बताउनु भयो । परिषदलाई जिम्मा दिए २० लाख पर्यटक भित्राउने अध्यक्ष श्रेष्ठले दाबी गर्नु भयो ।

पूर्व अध्यक्ष डम्मरबहादुर केसीले पोखरालाई पर्यटनको राजधानि घोषणा भए पनि नयाँ पर्यटन पूर्वाधार निर्माण नभएको गुनासो गर्नु भयो । तालबराही माविका प्राचार्य तारा पोखरेलले बिद्यालयमा हस्पिटालिटि म्यानेजमेन्ट कोर्ष संचालन गर्दै आएको जनाउनु भयो । प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले मर्स्यादी, दोर्दी लगायतका क्षेत्रमा पदमार्ग पहिचान गरिएकोले प्रबर्द्धन गर्न आग्रह गर्नु भयो । सचिव तिर्थराज सुवेदीले यस बर्ष २ सय २७ जनालाई प्रशिक्षण गराईएको बताउनु भयो । साउन र भदौं महिनामा टानले जनशक्ति उत्पादन तथा पर्यटन सम्बद्ध व्यक्तिहरुको क्षमता अभिबृद्धि गर्न विभिन्न तालिम संचालन गर्दै आएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जनाउनु भयो ।