
दीननाथ बराल,
पोखरा १६ , साउन,
नेपालमा उत्पादन हुने कपडा सहित पोशाक प्रबद्र्धन गर्न पोखरामा राष्ट्रिय पोशाक घरको शाखा विस्तार गरिएको छ । काठमाडौँमा विगत ८ वर्षदेखि राष्ट्रिय पोशाक घरबाट नेपाली उत्पादनमा आधारित विभिन्न डिजाइनका कपडा सहित पोशाकहरू उत्पादन गर्दै आएको उक्त घरले पोखरामा पनि त्यसको प्रबद्र्धन गर्न शाखा विस्तार गरेको हो ।

यसैबिच, बुधबार एक समारोहका बिच राष्ट्रिय चर्चीत गायक प्रकाश सपुत, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापती, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर उक्त राष्ट्रिय पोशाक घरको उद्घाटन गर्नु भएको हो । उक्त घरले नेपाली पोशाकको प्रबद्र्धन देखि यसले नेपाली पोशाकको महत्व समेत बढाउने गायक सपुतले दाबी गर्नु भयो ।

पोखरा लेकसाइडका युवा व्यवसायी राम कंडेल र काठमाण्डौंका युवा व्यवसायी श्याँम बजगाईको संयुक्त करिब एक करोड लगानीमा उक्त पोशाक घर पोखरामा संचालनमा आएको पोखराक्लिकलाई जनाउनु भयो । पोखराको न्यूरोडमा शाखा स्थापना गरिएको छ भने नेपाली अर्गानिक डिजाइनका ट्रेलर मेडमा निर्माण गरिने कपडाहरू मध्ये अल्लो, सिस्नो, खाँदी, कटन, उलन लगायतका कपडाहरू तथा त्यसबाट बनाइने विभिन्न साइज र डिजाइनका पोशाकहरु बनाउने दक्ष कर्मचारी आफुहरुसंग रहेको संचालक मध्यका एक राम कंडेलले पोखराक्लिकलाई बताउनु भयो ।

नेपाली उत्पादनलाई पहिलो प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय स्तरका ब्रान्डेड कपडाहरू समेत बिक्री वितरण समेत गर्दै आइरहेको उहाँले जनाउनु भयो । नेपाल सहित भारत, थाइल्याण्ड, स्कटल्यान्ड, जर्जीया लगायतका ६ वटा देशका ब्रान्डेड कपडाहरू र विभिन्न कपडाका पोशाकहरू समेत निर्माण गर्ने दक्ष कालीगढ समेत आफुहरुसंग रहेको उहाँले दाबी गर्नु भयो । त्यसै गरी जोर्जियो, भिटो, लुसियानो, भिबिसी, क्याभिनी लगायतका ब्रान्डेड कपडाहरु समेत आफुहरुसंग उपलब्ध भएको संचालक कंडेलले जनाउनु भयो ।

आम उपभोक्ताहरूको चाहना अनुसार र उहाँहरूको रोजाई अनुसारका विभिन्न डिजाइनमा पोशाकहरु निर्माण गर्ने संचालक कंडेलले बताउनु भयो । त्यसैगरी आफुहरुले विभिन्न पार्टी, सभा ,समारोहमा तथा विवाह, व्रतबन्ध लगायतका विभिन्न कार्यक्रममा लगाइने पोशाकहरु अडर गरेको केही दिनमै उपलब्ध गराउने भएको अर्का संचालक श्याँम बजगाईले जनाउनु भयो ।
यस राष्ट्रिय पोशाक घरले भारत, जापान, अस्ट्रेलिया, अमेरिका लगायतका देशहरूमा समेत आफ्नो विभिन्न डिजाइनका कपडाहरू निर्यात गर्दै आइरहेको उहाँले दाबी गर्नु भयो । देशको यो विषम परिस्थितिमा पनि सञ्चालनमा आएको राष्ट्रिय घरले हाल २० जनालाई रोजगार दिएको संचालक बजगाईले दाबी गर्नु भयो । नेपालमा यस्ता ब्रान्डेड नेपाली उत्पादनका कपडाको उच्च माग रहेपनि यहाँ उत्पादन हुने कपडाको लागि आवश्यक पर्ने कच्चा पदार्थको भने अभाव भएको उहाँको भनाई छ । राष्ट्रिय पोशाक घरमा आबद्ध करिब ३०% भारतीय र बाँकी रहेका ७०% नेपाली दक्ष कामदार आबद्ध हुनुहुन्छ ।

नेपालको राष्ट्रिय पोशाक भनेर राज्यले घोषणा गर्नुपर्ने, त्यसो गर्दा नेपाली पन, नेपाली मन र नेपाली पहिरनले नेपालको विश्व सामु छुट्टै पहिचान बनाउने कंडेल र बजगाईको माग रहेको छ । आफुहरुको उक्त व्यवसाय सुरु गर्नु २ बर्ष अघि देखि राष्ट्रिय पोशाकको महत्व र यसको प्रबद्र्धन गर्न लागेको आफुहरुको अभियान हाल पनि जारी रहेको उहाँहरुले जनाउनु भयो । नेपालमा उत्पादन भएका विभिन्न कपडा तथा पोशाकहरू विदेश निर्यात गर्न सकेको अवस्थामा नेपालको राष्ट्रियता झल्कने देखि नेपालको अर्थतन्त्रमा धेरै टेवा पुग्ने सञ्चालक कंडेल र बजगाइको विश्वास छ । आफुहरुले समय समयमा फेसन फेस्टिवल देखि राष्ट्रिय टोपी दिवस लगायतका विभिन्न कार्यक्रमहरु गर्दै त्यस्ता कार्यक्रमलाई प्रवर्द्धन समेत गर्दै आएको संचालक बजगाईले जनाउनु भयो । नेपाली राष्ट्रिय पोशाक दौरा, सुरवाल र टोपीलाई राज्यले केही बर्ष पहिला मान्यता दिएको थियो ।
