
दीननाथ बराल,
पोखरा, ७ साउन,
पोखरामा यस बर्ष साउन महिनाको पहिलो सोमबार बोलबम पर्व हर्स उल्लाहासका साथ मनाइएको छ । शिवका भक्तहरुले सोमबार पोखरा क्षेत्रमा शिवालय मन्दिरहरुमा दर्शन गरी शिवलिङगमा दुध चढाउर्दै पहिलो सोमबार हर्स उल्लाहासका साथ बोलबम पर्व मनाउनु भएको हो ।

केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामको आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउनको सोमबार बोलबम पदयात्रा भएकोे विश्वहिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष एवं बोलबम कार्यक्रम संयोजक शंकर खरालले बताउनु भयो । बिहानैबाट परेको पानीको समेत कुनै प्रवाह नगरी बोलबमका भक्तजनहरु उल्लेखनिय रुपमा सहभागि भएको उहाँले पोखराक्लिलाई जनाउनु भयो ।

पोखरामा करिब दुई दशकदेखि जारी उक्त कार्यक्रमले यहाँ धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्दै आएको उहाँले दाबी गर्नु भयो । ‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बगर शुक्लागण्डकी गाईघाट स्थित १०८ धारामा स्नान गरेर ८ किलोमिटर पैदल यात्रा सहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गर्नु भएको छ ।

बोलबम जलयात्रामा नौमती बाजा, भजनकीर्तन, झाँकी प्रस्तुत भएको सचिव ओमनाथ अधिकारीले बताउनु भयो । मध्याह्न षोडस उपचार सहित विशेष पूजा आराधनादेखि भजन कीर्तन समेत गरिएको थियो । सन्ध्याकालीन समयमा विशेष पूजासहित महाआरतीसँगै शिव साधना हुने भएको छ । राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान, विश्व हिन्दू महासंघ सांस्कृतिक समूह र विभिन्न भजन समूहद्वारा भजन प्रस्तुति भएको आयोजकले जनाएको छ ।

पोखराको सेतीनदी किनार गाईघाटमा भक्तजनहरुको सुरक्षाको लागि सुरक्षा निकायका तीनै अंग नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी वलको टिम खटिएको छ । बिहान ५ः०० बजे देखि भक्तजनहरुको गाईघाँट क्षेत्रमा दर्शनार्थीहरुको सहभागिता भएसंगै सुरक्षाकर्मीले सुरक्षा दिनु भएको थियो । पोखराको गाईघाट जाने मुल गेट र केदारेश्वर मन्दिरको मुल गेट अगाडी गाईको दुध, वेलपत्र, फुल बिक्रि गर्नेहरुको भिड लागेको छ ।