पोखराको हर्पन खोलामा पौडी खेल्दा सगरमाथा माविका दुई बिद्यार्थीको ज्यान गयो

-


     पोखरा क्लिक     
     श्रावण ४ गते २०८१ मा प्रकाशित


पोखरा ४, साउन,

पोखराको हर्पन खोलामा पौडी खेल्दा पोखराकै सगरमाथा माविका दुई जना बिद्यार्थीहरुको ज्यान गएको छ । पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा शुक्रबार दिउँसो ३ः४५ बजेतिर पौडी खेल्ने क्रममा डुबेर सगरमाथा मावि प्लस टु अध्ययनरत दुई बिद्यार्थीहरुको ज्यान गएको स्थानियले बताउनु भयो ।

मृत्यु हुनेहरुमा पोखरा–१ मोहरियाटोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा–२ बाग्लुङबसर्पाकका १८ वर्षीय स्वयम् ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
साथीहरुका साथमा पौडी खेल्न गएका दुबै जना युवा पौडी खेल्दाखेल्दै रहमा डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल कालिका गण पोखराबाट खटिएको गोताखोर सहितको टोलीले खोजी गरी साँझ ४ः४५ बजे शवलाई बाहिर निकालेको थियो ।

प्रहरीका अनुसार छ जना साथीहरु मिलेर हर्पन खोलामा पौडी खेल्न गएका थिए । अन्य चार जना भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल )मा राखिएको छ । अर्पन खोलामा यस अघि पनि विभिन्न युवाहरु पौडी खेल्दै मृत्यु भएको स्थानियले बताउनु भयो । उच्च सावधानि अपनाउन नसक्दा सो क्षेत्रमा पौडी खेल्दा युवाहरुले मृत्युवरण गर्नुपर्ने अबस्था रहेको स्थानिय शिव अधिकारीले बताउनु भयो ।