पोखराको एक होटलमा हत्या गरेको आरोपमा करिब ९ महिना पछि संजय बि.क.पक्राउ, भिडियो सहित

-


     पोखरा क्लिक     
     श्रावण ४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ४, साउन,

पोखराको एक होटलमा हत्या गरेको आरोपमा बाग्लुङका संजय बि.क. करिब ९ महिना पछि पक्राउ पर्नु भएको छ । गत मंसिर ५ गते पोखरा ८ नागढुङ्गाको एक होटलमा ३२ बर्षीया सुकु बि.क.को हत्या गरेको आरोपमा कास्की प्रहरीले २९ बर्षका संजयलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

बाग्लुङ गल्कोट न.पा.९ मल्म घर भई पोखरा ७ घारीपाटन, सेती नागवेली मार्ग गल्ली नं.४ बस्ने संजयले सुकुको सुनको सिक्रि र मोवाइल फोनको प्रलोभमा सिरेकले मुख थुनेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा जानकारी गराउदै कास्कीका प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले सुन र मोवाइल फोनको प्रलोभवनमा उक्त महिलाको हत्या भएको हुन सक्ने दाबी गर्नु भयो । भिडियो ।

तनहुँ भिमाद घर भई पोखरा ८ नागढुङ्गामा रहेको शिला रेष्टुरेण्टमा काम गर्दै आउनु भएको सुकु पोखरा ८ मा रहेको युनिक होटलको कोठा नं.२०२ मा अचेत अवस्थामा मंसिर ८ गते भेटिएसंगै उहाँको हत्या भएको हुन सक्ने आंशकामा प्रहरीले अनुसन्धान अघि बढाएको एसपी थापाले जनाउनु भयो । सुकुको उपचारको लागि अस्पताल पुर्याएसंगै अस्पतालले मृत घोषणा गरेको थियो । कक्षा ३ पास गर्नु भएको संजयले मजदुरी पेशा गर्दै आए पनि सुकु बि.क.को हत्या पश्चात चोरी गरेको मोवाइल फोन (थटिन (१३) प्रो म्याक्स) महोत्तरी बर्दीवास नगरपालिका वडा नं.७ घर भएका वर्ष २६ का राजेश बुढाथोकीलाई ४० हजार ५ सयमा बिक्रि गरे पछि केन्द्रिय अनुसन्धान ब्यूरो काठमाण्डौको टोलीले उक्त घटनामा संलग्न व्यक्तिको पहिचान गर्न सफल भएको हो ।

संजय बि.क.को डेरा कोठाबाट सुकु बि.क.को मोबाईल नं. स्क्रिनसट गरी राखिएको तस्वीर, सुकु बि.क.को, मोबाईल समाई फोटो खिचेको तस्वीर समेत फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा संकलन भएका तस्वीरमा देखिएका ब्यक्ति र होटल युनिकको कोठा नं.२०२ मा सुकु बि.क.लाई लिई गएका व्यक्ति संजय बि.क. रहेको भन्ने होटल संचालक÷ देख्ने साथी÷ आफन्तहरुले समेत सनाखत गरेकोले उक्त घटनामा संजयको संलग्नता भएको थप पुष्टि भएको कास्कीका एसपी थापाले दाबी गर्नु भयो।

हत्या गरेकोको आरोपमा संजय बि.क. रहेको पुष्टी भएको हुदाँ जाहेरवालाबाट किटानी जाहेरी दरखास्त लिई संजय बि.क.को नाममा मिति गत पुष १ गते कास्की जिल्ला अदालतबाट पक्राउ अनुमती समेत लिई बिभिन्न स्थानमा पक्राउको लागि प्रहरी टोलि खटाईएको थियो ।

पोखरामा बस्दै आएका संजय श्रीमती र छोरालाई छाडी नवपलरासी (पुर्व) गैडाकोट नगरपालिका वडा नं.१२ हर्कपुर स्थितमा डेरा कोठा लिई लुकिछिपी कोही कसैको सम्पर्कमा नरही बसेको खुल्न आएको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । हत्या गरेका संजय केही समय भारतसम्म पुगेर पुनः नेपाल समेत फर्किएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।