पोखरा, असार १०
पोखरा महानगरपालिले आर्थिक २०८१÷८२ का लागि रु। ७ अर्व ५१ करोड ३२ लाख ८३ हजार को बजेट प्रस्ताव गरेको छ । पोखरा महानगरको १५ औँ नगर सभामा पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी गुुरुङले बजेट पेश गर्दै संघीय सरकार अनुदानवाट रू ४ अर्व २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानवाट रू ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयवाट रू १ अर्व ५५ करोड ५१ लाख ४० हजार व्यहोरिनेछ बताउनुुभयो ।
त्यसै गरी संघीय राजश्व बाडँफाँटबाट रू ३८ करोड ३३ लाख ७५ हजार व्यहोरिने छ भने प्रदेश राजश्व वाँडफाँट ९ करोड ७२ लाख २० हजार व्यहोरिने छ । स्थानिय राजस्व बाँडफाँटबाट रु १ अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट रू ५४ लाख २४ हजार प्राप्त हुने अनुुमान गरिएको छ । नगर विकास कोष ऋण रू ४ करोड ४८ लाख ८० हजार व्यहोरिने अनुमान छ। प्रस्तुत बजेट अन्र्तगत शिक्षा, खेलकूद तथा यूवा र प्रज्ञा प्रतिष्ठान सम्वन्धी कार्यक्रम सञ्चालन गर्न रु। १ अर्ब ६५ करोड, स्वास्थ्यमा रु ३५ करोड, पर्यटन तथा शहरी विकासका कार्यक्रम सञ्चालनका लागि कुल रू। ५६ करोड, सामाजिक विकास अन्तर्गत लक्षित वर्ग तर्फ कुल रू ६ करोड र संस्थागत विकास तर्फ रू २ करोड बिनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुुभयो ।
बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार,हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास,मूल्य शृंखला सवलिकरण र बजार प्रणाली सुदृढीकरण,न्यून कार्बन समाज र कार्बन तटस्थता, सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवउद्यम ९स्टार्टअप० प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास,स्वस्थ्य र उत्पादनशील जनशक्ति तयार,वित्तीय सुशासन तथा राजस्व परिचालन रमहिला, विपन्न र सिमान्तिकृत समुदायको आर्थिक सशक्तिकरणलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उपप्रमुख गुुरुङले बताउनुुभयो ।
पूर्वाधार तर्फ मुस्ताङचोक–सहिदचोक खण्ड, चिप्लेढुङ्गा–सभागृह खण्ड र जिरो–विन्ध्यवासिनि खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि रू ३ करोड बजेट, फेवा फेरो पदमार्ग निर्माणलाई रू ५० लाख र ड्यामसाइड पञ्चासे पर्यटकीय मार्ग विकासका लागि रू ९० लाख, एशियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने शहरी उत्थानशिलता तथा जिविकोपार्जन सुधार आयोजनाका लागि रू २६ करोड १६ लाख, पर्यटन लक्षित कार्यक्रमहरू सञ्चालन गर्न रू। १ करोड ५० लाख, फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा विच निर्माणको काम शुरुआत गर्न रू। २ करोड, सिद्वार्थचोक—विन्ध्यवासिनी सडक खण्डमा पर्ने सम्पदा वस्तीको संरक्षण, विकास तथा प्रवर्द्धनका लागि रू १ करोड विनियोजन गरिएको उपप्रमुख गुुरुङ बताउनुुभयो ।
त्यस्तै पूर्वाधार विकासमा बीपी मार्ग सडक स्तरोन्नती गर्न रू ८ करोडल र विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि रू १ अर्ब ६५ करोड विनियोजन गरिएको छ । शिक्षा तर्फ सामुदायिक विद्यालयहरुको व्यवस्थापन र शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन लागि रू ८४ लाख र विद्यार्थीको दिवा खाजाको लागि नेपाल सरकारले प्रदान गरेको प्रति विद्यार्थी प्रतिदिन रू १५ मा महानगरपालिकाबाट रू १० थप गरी प्रतिदिन रू २५ पुर्याउनका लागि रू ४ करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।
बजेट प्रस्तुत गदै उपप्रमुख गुुरुङले महानगरवाट संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले उत्कृष्ट नतिजा हासिल गरेकाले शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि रु १ करोड ६५ लाख छुट्याइएको, बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीहरुका लागि तलब भत्ता अनुदान तर्फ रु। ४ करोड ७० लाख विनियोजन गरिएको छ । शिक्षा तफै महिला शिक्षकहरुको प्रसुती विदामा दैनिक शिक्षण सिकाई प्रभावित हुन नदिन सट्टा शिक्षक व्यवस्थापन गर्न रू २५ लाख, स्थानीय कला, संस्कृति, साहित्य, संगीत तथा प्राज्ञिक क्षेत्रमा क्रियाशील महानगरस्तरको पोखरा प्रज्ञा प्रतिष्ठानलाई आवश्यक बजेट व्यवस्था गरिएको छ ।
सामाजिक विकास तर्फ उपप्रमुखसंग महिला कार्यक्रम मार्फत विपन्न, एकल एवं लक्षित वर्गका महिलाहरुको उद्ययमशीलता विकासका लागि सञ्चालित चक्रीय कोषमा आधारित उपप्रमुखसँग महिला कार्यक्रमको निरन्तरताका लागि आगामी आर्थिक वर्ष थप रू। १ करोड व्यवस्था विनियोजन गरिएको छ भने शहरी गरिबी न्यूनिकरण कार्यक्रम अन्तर्गत लुमन्ती र महानगरपालिकाको साझेदारीमा बिपन्न वर्गको आयआर्जन र आवास निर्माणका लागि रू १५ करोड विनियोजन गरिएको छ ।
बजेटमा एकिकृत पञ्चासे क्षेत्र विकास योजना, ९ ताल जोड्ने साइकल मार्ग, फेवा लेक अर्गानिक ट्रेल, विन्ध्यवासिनि सम्पदा क्षेत्र विकास परियोजना लगायतका कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको उपप्रमुख गुुरुङले बताउनुुभयो ।
बजेटको पूर्णपाठ सहित ।
पोखरा महानगरपालिकाको १५ औ नगरसभाको सम्वत २०८१ असार १० गतेको बैठकमा नगर उप–प्रमुख श्री मञ्जुदेवी गुरूङले प्रस्तुत गर्नु भएको
आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य
पोखरा महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
न्यूरोड कास्की
२०८१
श्रद्धेय अध्यक्षज्यू,
नगर सभासदज्यूहरू
पत्रकार तथा उपस्थित महानुभावहरु
- संघीय गणतन्त्र नेपालको संवैधानिक व्यवस्था अनुरुप पोखरा महानगरपालिकाले सामाजिक–आर्थिक रूपान्तरणका लागि हरित, उत्थानशिल, दिगो र समावेशी विकासको अवधारणालाई आत्मसाथ गरी अगाडि बढेको छ। क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगरपालिका र तीव्र गतिमा विकास भइरहेका शहरमध्येको एक पोखरा महानगरपालिकाले वि.सं. २१०० सम्ममा कार्बन–तटस्थ समुन्नत शहर बन्ने दीर्घकालीन लक्ष्य तय गरी अगाडि बढेको छ ।
- स्थानीय जनसमुदायको तिव्र प्रगतिको आकांक्षा पूरा गर्न संविधान तथा कानुनले निर्दिष्ट गरे बमोजिम नीति, रणनीति र योजनाहरु तर्जुमा गरेर कार्यान्वयन भइरहेका छन् भने कतिपय नयाँ रणनीति तथा योजनाहरु तर्जुमाको चरणमा छन्।यसै सन्दर्भमा पोखरा महानगरपालिकाको १५ औ नगरसभामा आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय व्यय विवरण (बजेट) प्रस्तुत गर्न उपस्थित भएको छु।
- यस अवसरमा नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, संघीय गणतन्त्र र सामाजिक न्याय सहितको संमृद्ध नेपाल निर्माणको खातिर आफ्नो जिवन उत्सर्ग गर्नु भएका ज्ञातअज्ञात सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।नेपालको संविधानको धारा २३० बमोजिम प्रस्तुत बजेट सङ्घीयतालाई सबलीकरण गर्दै सामाजिक न्याय सहितको वातावरणमैत्री, दिगो र सन्तुलित विकास मार्फत समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने महानगरपालिकाको दिर्घकालिन सोच प्रति लक्ष्यित छ।
- संसारमा आकर्षक पर्यटकीय गन्तब्यहरूको सूचीमा अग्रस्थानमा रहँदै आएको पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएको छ।यससँगै स्थानीय नागरिकको विकासको चाहना पुरा गर्दै सुरक्षित, सुसंस्कृत र सभ्य सहर निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक माझ पोखराको ब्रान्डलाई थप उचाइमा पुर्याउँदै स्थानीय अर्थतन्त्रको सुदृढीकरण, उत्पादन तथा रोजगारी वृद्धि र आन्तरिक राजश्व परिचालनमा सहयोग पुग्ने क्षेत्रमा बजेट केन्द्रित गरिएको छ।
- संघीयतापछि निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकालमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै प्राप्त सिकाइलाई ग्रहण गरेर समुन्नति हासिल गर्न योगदान गर्ने उद्देश्यका साथ आ.व. २०८१/८२ को बजेट तथा प्रमुख रणनीतिक कार्यक्रम यस सम्मानित सभा समक्ष पेस गर्दछु।
- आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधान, सन् २०३० सम्ममा मध्यम आय भएको विकासशील राष्ट्रमा स्तरोन्नती हुने नेपालको दीर्घकालीन सोच, दिगो विकासका लक्ष्य, नेपाल सरकारको सोह्रौ योजना, प्रदेश सरकारको दोश्रो पञ्चवर्षीय योजना, पोखरा महानगरपालिकाको दीर्घकालीन सोच तथा दोश्रो पञ्चवर्षीय योजना, आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम, कार्यपालिकावाट प्राप्त सुझाव, पोखरा महानगरपालिकाको सहरी योजना आयोग तथा सल्लाहकार परिषदबाट प्राप्त सुझाव एवं निजि क्षेत्र, विभिन्न क्षेत्रका विषय बिज्ञ र सरोकारवालाहरूबाट प्राप्त सुझावहरूलाई मार्गदर्शनका रूपमा लिएको छु।
सभाध्यक्षज्यू
अव म महानगरपालिकाका गत आर्थिक वर्षसम्मको प्रमुख आर्थिक परिसूचकहरू प्रस्तुत गर्दछु।
- पोखरा महानगरपालिकाको प्रथम त्रिवर्षीय योजना (२०७७/७८-२०८०/८१)ले तिन वर्षको अवधीमा महानगरपालिका क्षेत्रमा कुल रु.२७ अर्ब ३० करोड लगानी हुने अनुमान गरेकोमा सो अवधीमा पोखरा महानगरपालिकाको तर्फबाट करिब रू. १६ अर्ब र संघ तथा प्रदेश सरकारका तर्फबाट करिब ९ अर्ब लगानी भएको अनुमान छ ।
- पोखराको आर्थिक विकासलाई विविधिकृत, समावेशी र समन्यायिक बनाउन गरिएका प्रयासबाट उत्पादन, उत्पादकत्व, रोजगारी र आयमा क्रमिक सुधार भएको देखिएको छ। कोभिड-१९को संक्रमण र विश्व आर्थिक मन्दीको प्रतिकुलताका बाबजुद स्थानीय अर्थतन्त्रको मेरुदण्ड पर्यटन, कृषि र सेवामूलक उद्योग व्यवसायमा सन्तोषजनक सुधार भएको छ।
- आर्थिक वर्ष २०७७/७८ मा १६०५ अमेरिकी डलर रहेको महानगरपालिकाको प्रतिव्यक्ति आय आर्थिक वर्ष २०७९/८० मा १८८८ पुगेको छ भने २०८०/८१ मा २०७७ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
- आर्थिक वर्ष २०७७/७८ मा रु. १ खर्ब १० अर्ब ५३ करोड रहेको महानगरपालिकाको कुल उत्पादन (GMP) आर्थिक वर्ष २०७९/८० मा रु. एक खर्ब २६ अर्ब ७ करोड पुगेको छ भने चालु आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ३६ अर्ब १६ करोड पुग्ने अनुमान छ ।
सभाध्यक्षज्यू
अब म चालु आर्थिक वर्षको आर्थिक गतिविधि तथा बजेट कार्यान्वयन समीक्षा प्रस्तुत गर्दछु।
- चालु आर्थिक वर्षका लागि रू= ७ अर्ब ८ करोड ३४ लाख २४ हजार बजेट विनियोजन भएकोमा जेठ मसान्तसम्म ४ अर्ब १२ करोड ९ लाख ४७ हजार खर्च भई ५८.१७ प्रतिशत प्रगति भएको छ। आषाढ मसान्तसम्म ७५ प्रतिशत खर्च हुने अनुमान छ।
- चालु आर्थिक वर्षमा कुल विनियोजित रकममध्ये आन्तरिक स्रोतबाट रू २ अर्ब २७ करोड ८७ लाख व्यहोर्ने अनुमान गरिएकोमा जेठ मसान्तसम्म रू. ८७ करोड २७ लाख ४० हजार संकलन भई ३८.३० प्रतिशत प्रगति हासिल भएको छ।
- राजस्व बाँडफाँट तर्फ रू १ अर्ब ४६ करोड ६२ लाख अनुमान गरिएकोमा ९१ करोड ४२ लाख २० हजार आम्दानी भई ६२ प्रतिशत प्रगति भएको छ।
- आ.व. २०७९/८० को अन्तिम लेखापरिक्षण प्रतिवेदन प्राप्त भएको छ।चालु आ.व.मा ७८ करोड संपरिक्षण गर्न पेश भएकोमा ५३ करोड ३० लाख बेरुजु संपरिक्षण भएको छ।
- चालु आ.व. मा ऐन ३ वटा, कार्यविधि ५ वटा र मापदण्ड २ वटा गरी कुल १० वटा कानुनी दस्तावेजहरू स्वीकृत भएका छन्। चालु आ.व. को चैत्रसम्म दर्ता भएका ९८ विवाद मध्ये ३६ वटा निरूपण गरिएको छ भने १७ वटा मेलमिलाप प्रक्रियाबाट समाधान भएका छन्।
- चालु आर्थिक वर्षमा पोखराको ऐतिहाँसिक पक्ष उजागर गर्ने ६० भन्दा बढी चौतारी निर्माण तथा मर्मत सम्भार गरिएको छ, २३ सय भन्दा बढी विरूवा वृक्षारोपण गरिएको छ।
- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसको पोखरा भ्रमणबाट पोखराको पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनको विषम असरको विषयमा विश्वव्यापी सन्देश प्रवाह भएको छ।
- पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएको छ। अन्तरराष्ट्रीय बजारमा पोखराको पर्यटन प्रवर्द्धनका लागि ड्रागन बोट रेस, साइकल रेस लगायतका विभिन्न मैत्रिपूर्ण खेलहरू आयोजना गरिएको छ।
- महानगरपालिका भित्र विभिन्न स्थानहरूमा ५६ मठमन्दिर, गुम्बा, मस्जिद र पाटी पौवाहरूको निर्माण तथा मर्मत सम्भार गरिएको छ। दुई वटा सहलगानीका खानेपानी तथा सरसफाईका बहुवर्षीय आयोजना निर्माणको प्रक्रियामा छन्। १३ वटा खानेपानीका नयाँ स्रोत मुल दर्ता गरिएको छ भने २० वटा मुल नविकरण गरिएको छ।
- १२५ वटा विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरिएको छ। २० वटा विद्यालयका १०० कक्षाकोठामा आधुनिक शिक्षण सिकाइ उपकरण सहितको प्रविधि जडान गरिएको छ। विद्यालय तहको शिक्षा सुधारका लागि ५३ बुँदे मार्गदशन लागु गरिएको छ। २०३ वटा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरू सँग गरिएको कार्यसम्पादन सम्झौता तोकिएका सुचकहरुका आधारमा अनुगमन गरी मुल्यांकनको चरणमा रहेको छ।
- गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन अटोमोवाईल र सिभिल तर्फका विद्यार्थीले प्राविधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद्को सेमेस्टर परीक्षामा देशभरबाट उत्कृष्ट नतिजा हासिल गरेका छन् । शिक्षालयमा छोटो अवधिको तालिम लिएका ५० प्रतिशतभन्दा बढी विद्यार्थी रोजगार तथा व्यावसायिक क्षेत्रमा आबद्ध भएका छन् ।
- चालु आ.व. मा करिब ३० हजार बालबालिकालाई घरमै पुगेर आधारभुत खोप सेवा प्रदान गरिएको छ। शिसुवा अस्पताल, अर्मला र कृष्ती प्राथमिक स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको छ।
- अपांगता भएका व्यक्तिका परिवारको निःशुल्क स्वास्थ्य बिमा, अटिजम भएका बालबालिकाका अभिभावकलाई लामो अवधिको हेरचाह तालिम र सिकाई कक्षाका लागि कम्प्युटर र थेरापीका सामाग्रीहरू वितरण गरिएको छ ।
- महानगरपालिकाका ३३ वटै वडामा ब्लड प्रेसर, ब्लड सुगर, युरिन टेस्टका लागि प्रयोगशाला स्थापना तथा सञ्चालन प्रक्रिया शुभारम्भ गरिएको छ । मातृ मृत्युदर र नवजात शिशु मृत्युदर न्यून गर्न गर्भवती तथा सुत्केरी महिलाहरूका लागि ५० बेडको विश्राम स्थल (होस्टेल) सञ्चालन प्रक्रियाको शुभारम्भ गरिएको छ ।
- चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ३ वटा वडा कार्यालय भवन र प्रमुख प्रशासकीय अधिकृतको आवास निर्माण सम्पन्न गरिएको छ । एउटा सहरी स्वास्थ्य केन्द्र र एउटा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएका छन् । २ वटा स्वास्थ्य चौकी र एक शहरी स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न हुने चरणमा रहेका छन् । यसैगरी ५ वटा वडा कार्यालय भवन र गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माणको चरणमा रहेका छन्। पृथ्वीचोक स्थित पोखरा भवन, दमकलको बहुउद्देशीय भवन निर्माण शुरु भएको छ।
- सडक तर्फ चालु आर्थिक वर्षमा ३५ कि.मी. पक्की, ७ कि.मी. ग्राभेल, १० कि.मि. रिसिलिङ र ५ कि.मि. कच्ची सडक मर्मत गरिएको छ ।
- उपभोक्ता समितिका पदाधिकारीहरूलाई योजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण प्रदान गरी ५० प्रतिशत लागत सहभागितामा योजनाहरू सञ्चालन गरिएको छ ।
- स्थानीय तह परियोजना बैंक व्यवस्थापन सूचना प्रणाली विकास गरिएको छ । छिमेकी स्थानीय तहहरूसँग लागत साझेदारीमा योजनाहरू सञ्चालन गरिएको छ ।
- फेवातालको सिमांकन तथा संरक्षण सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि प्राविधिक कार्यदल गठन गरी फेवातालको पानीको उच्चतम (हाइफ्लोड) विन्दु पत्ता लगाउने र ६५ मिटरको सिमाना डिमार्केसन गर्ने कार्य भइरहेको छ ।
- महानगरपालिकाका मुख्यचोकहरुमा साझेदारीमा ट्राफिक लाइट जडान सम्पन्न भई सञ्चालनको क्रममा रहेका छन्। ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक सचेतामुलक अभियानहरू सञ्चालन गरिएको छ । ट्राफिक प्रहरीलाई साझेदारीमा आवश्यक स्रोत र साधन उपलब्ध गराइएको छ ।
- उपप्रमुखसँग महिला कार्यक्रमको चक्रीय कोषवाट हालसम्म ६५३ जना महिला, एकल महिला, दलित, जनजाती, मुस्लिम, द्धन्द्धपिडित, कृषक लगायतका महिलाहरुलाई रू १४ करोड ४५ लाख सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको छ ।
- विभिन्न १२ समूहलाई कानुनी सचेतना, निरक्षर महिलाहरूका लागि ३ महिने अनौपचारिक शिक्षा, लैङ्गिक हिंसा विरुद्ध ३ हजारभन्दा बढीलाई सचेतना अभिवृद्धि र आपत्कालीन अवस्थाका महिला तथा बालबालिकाहरूको उद्धार, राहत तथा पुनःस्थापना लगायतका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
- २० वटा ज्येष्ठ नागरिक मिलन केन्द्र मार्फत ज्येष्ठ नागरिकहरूलाई भजन कीर्तन, तनाव व्यवस्थापन लगायत कार्यक्रम सम्पन्न गरिएको छ।
- दलित समुदायका विपन्न महिला र पुरुष हरूलाई ड्राइभिङ तथा परम्परागत सांस्कृतिक बाजा बजाउने प्रशिक्षण सम्पन्न गरी र बाजाहरू वितरण गरिएका छन्। शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सिप विकास तालिम, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अभिभावकहरूलाई मौरीपालन तालिम प्रदान र घार वितरण गरिएको छ।
- दृस्टीबिहिनहरुका लागि प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम, श्रबण दृस्टीबिहिनहरुका लागि अमरसिंह माध्यमिक विद्यालयको श्रोत कक्षा सञ्चालन गर्न सेन्सरी रुम निर्माणमा सहयोग तथा ५ थान कम्प्युटर हस्तान्तरण गरिएको छ। लैङ्गिक अल्पसंख्यकहरूको क्षमता विकासका कार्यक्रमहरू सम्पन्न गरिएको छ ।
- श्रवण अपाङ्गता (बहिरा) भएका व्यक्तिहरूलाई साङ्केतिक भाषा तथा सिप विकास कार्यक्रम, मस्तिष्क पक्षघात, डाउन सिन्ड्रोमलगायतलाई सिकाई कक्षा, सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । हालसम्म ५८९ जनालाई पूर्ण अशक्त अपाङ्गता, ९१५ जना अति अशक्त अपाङ्गता, ३८२ जनालाई मध्यम अशक्त अपाङ्गता र ९८४ जनालाई सामान्य अशक्त अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ ।
- विभिन्न जातजातिहरूको सांस्कृतिक पहिचानलाई संरक्षण गर्न सामुदायिक क्षमता विकास तथा साझेदारीमा कार्यक्रमहरू सम्पन्न गरिएको छ। लोककवि अलि मिया, जनकवि केशरी धर्मराज थापा र कवि शिरोमणी लेखनाथ पौडेलको स्मृतिमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
- लुमन्ती परियजनको साझेदारीमा गरिब तथा विपन्न परिवारका लागि १३५ वटा आवास निर्माण तथा मर्मत गरिएको छ।साझेदारी कोष मार्फत आय आर्जन तर्फ ४७ जनालाई १ करोड ८७ लाख लगानी गरिएको छ । मानव सेवा आश्रमसँगको सहकार्यमा सडक मानवहरूको व्यवस्थापन गरिएको छ ।
- उत्पादक र उपभोक्ता दुवैले सेवा लिन मिल्ने गरी डिजिटल कृषि बजार व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको छ। यस प्रणालीमा महानगरद्वारा सञ्चालित कृषि एम्बुलेन्स मार्फत संकलित उत्पादनको विवरण, किसान बजार, कृषि उत्पादन खरिदकर्ता, न्यूनतम समर्थन मूल्य, मूल्यसूची र कृषि सामाग्रीहरूको विवरणहरू उपलब्ध गराईएको छ।
- कृषिमा यान्त्रीकरणको प्रयोगलाई प्रोत्साहन गर्न कृषकहरूलाई महानगरको ५० प्रतिशत लागत साझेदारीमा यन्त्र उपकरणहरु सहयोग गरिएको छ ।
- महानगरद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमा बिक्री भएको ७६१ कृषकको ९० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो सहित विभिन्न कृषि उपजहरूमा रु.२६ लाख ७९ हजार अनुदान उपलब्ध गराइएको छ।
- महानगरपालिकाका २० वटा वडामा एक वडा एक पकेट कृषि उत्पादन पहिचान गरी उत्पादकत्व बढाउन कृषकहरूलाई प्रोत्साहन गरिएको छ । ग्रामीण क्षेत्रका कृषकहरूले उत्पादन गरेको ३ हजार मेट्रिक टन भन्दा बढी तरकारी कृषि एम्बुलेन्स मार्फत संकलन गरी वितरण गरिएको छ ।
- कृषि बिमाका लागि कृषकहरूको सहजताका लागि सफ्टवेयर मार्फत सहजिकरण गरिएको छ । कृषि व्यवसायमा संलग्न १ हजार ५०३ (कृषक, कृषक समुह तथा फर्म) लाई कृषक परिचय पत्र वितरण गरिएको छ। शहरी क्षेत्रका वडाहरुमा कौशी खेति प्रवर्द्धन गर्न ३० हजार परिवार कौशी खेतिमा सम्लग्न छन्।
- पशु सेवा शाखा अन्तर्गत रहेका ९ वटा सेवा केन्द्रहरु मार्फत सेवा प्रवाह गरिएको छ । कुकुर दर्ता कार्यक्रम अन्तर्गत १,५६२ कुकुर दर्ता गरिएका छन् । ५,४९६ सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइएको छ । घाइते ४९५ कुकुर र ५३० गाईगोरुहरुको उपचार गरिएको छ ।
- दुध, मासु र अण्डामा महानगरपालिका आत्मनिर्भर भई निर्यात गर्ने अवस्थामा पुगेको छ । ८६४ जना पशुपालक व्यवसायिक कृषकहरु सूचिकृत भएका छन् । स्वच्छता मापदण्ड पुरा गरेका मासु पसललाई ग्रीन स्टिकर प्रदान गरिएको छ ।
- महानगरपालिकामा दर्ता भएका ३६४ वटा सहकारी संस्थाहरूको अनुगमन सम्पन्न गरिएको छ।केहि समस्याग्रस्त सहकारीहरुमा देखिएको अपचलन र अनियमितता नियन्त्रणका लागि अध्ययन गरी प्रतिवेदन तयार गरिएको छ ।
- सहकारीलाई उत्पादनमुखी क्रियाकलापमा जोड्दै रोजगारी सृजना गर्न ८५ वटा सहकारी संस्थाका संचालक र लेखा सुपरिवेक्षक समितिलाई आधारभुत लेखा तथा क्षमता विकास र कर्मचारीहरुलाई कोपोमिस संचालन तालिम प्रदान गरिएको छ ।
- सहकारी संस्थाको समस्या समाधानका लागि शेयर सदस्यहरुबीच छलफल, हिनामिना भएका सहकारीको अध्ययन अनुसन्धान, छानवीन समितिको प्रतिवेदनका आधारमा सम्पत्ति रोक्का गरिएको छ। साधारणसभा र लेखा परिक्षण नगरेका सहकारीलाई समयमा सम्पन्न गर्न निर्देशन दिइएको छ ।
- गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री रोजगार कार्यक्रम समेतको सहकार्यमा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरी, बेरोजगारहरूको लगत संकलन, सीप परिक्षण तथा रोजगारी प्राप्तीमा सहजीकरण, परामर्श, छलफल र अभिमुखीकरण लगायतका कार्यक्रमहरू सम्पन्न गरिएको छ ।
- लामो समय विभिन्न प्रतिष्ठानमा काम गरेका र सीप सिकेर आफै स्वरोजगार बन्दै अरूलाई समेत रोजगारी दिईरहेका अगुवा श्रमिकहरुलाई सम्मान गरिएको छ। ५२० जनालाई विभिन्न प्रकारको सीपमुलक तालिम प्रदान गरिएको छ ।
- पोखरा आईडिया मार्ट २०८१ सञ्चालन गरी सिर्जनशील नवउद्यम सम्बन्धी ७३ वटा नयाँ आइडियाहरु पोखरा आइडिया बैंकमा सूचिकृत गरिएको छ। उद्यमशिलता प्रवर्द्धनका लागि सफल उद्यमीको कथा, उद्यम क्लिनिक, लेखा तथा कर प्रणाली सुधार तालिम, लगानी कार्यशाला लगायतका कार्यक्रम सम्पन्न गरिएको छ ।
- चालु आर्थिक वर्षमा ५० वटा विपद्का घट्नाबाट प्रभावित परिवारलाई राहत प्रदान गरिएको छ। विपद् जोखिम न्यूनीकरणका लागि महानगरका ८० स्थानमा रु.१ करोड ६३ लाख ७६ हजार लगानीमा संरचना निर्माण तथा मर्मत गरिएको छ ।
- वडा स्तरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक सचेतना गोष्ठीहरू सम्पन्न गरिएका छन् । चालु आ.व २०८०/८१ मा महानगर क्षेत्रमा भएका २०६ वटा आगलागीका घट्नाहरु नियन्त्रणमा दमकल परिचालन गरिएको छ ।
- एकीकृत सेवा सहित विपद् जोखिम न्यूनीकरण इकाई सञ्चालनका लागि एसियाली विकास बैकसँग सम्झौता गरिएको छ ।
सभाध्यक्षज्यू,
अव म आ.व. २०८१/८२ को बजेटका सिद्वान्त तथा प्राथमिकता उल्लेख गर्ने अनुमति चाहन्छु ।
बजेटका मार्गनिर्देशक सिद्वान्तः
- हरित उत्थानशील र सन्तुलित सहरी विकास।
- समावेशी, समन्यायिक र विविधिकृत आर्थिक विकास।
- नागरिक सचेतना तथा जिम्मेवारीबोध।
- सामाजिक सद्भाव, र सहअस्तित्व।
- उच्च मानव विकास तथा मर्यादित जीवन।
- नतिजामा आधारित विकास व्यवस्थापन तथा पूर्वाधार सुशासन।
- लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण।
- संस्थागत सुशासन तथा सदाचार।
- विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय अनुशासन।
- समन्वय, साझेदारी र सहकार्य ।
बजेटका प्राथमिकताः
- पर्यटन, कृषि, उद्योग तथा व्यापार क्षेत्रको सम्वन्ध सुदृढीकरण,
- हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास,
- मूल्य शृंखला सवलिकरण र बजार प्रणाली सुदृढीकरण,
- न्यून कार्बन समाज र कार्बन तटस्थता,
- सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह,
- वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण,
- नवउद्यम (स्टार्टअप) प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास,
- स्वस्थ्य र उत्पादनशील जनशक्ति तयार,
- वित्तीय सुशासन तथा राजस्व परिचालन र
- महिला, विपन्न र सिमान्तिकृत समुदायको आर्थिक सशक्तिकरण ।
;efWoIfHo”,
अब म आर्थिक वर्ष २०८१/८२ को क्षेत्रगत बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आर्थिक विकास तर्फM
- भू-उपयोग नियमावली बमोजिम कृषि क्षेत्रमा वर्गिकृत भूभागमा सिचाई, कृषि सामग्री र यन्त्र उपकरणमा अनुदान प्राथमिकिकरण गरिनेछ ।
- सिँचाई सुविधा वृद्धि गरी उत्पादन बढाउनको लागि साना सिँचाई आयोजना निर्माण तथा मर्मतको लागि रु. ५० लाख विनियोजन गरेको छु।कृषि यान्त्रिकरण कार्यक्रमका लागि रु. ३५ लाख बजेट विनियोजन गरेको छु ।
- स्थानीय कृषि उत्पादनको प्रवर्द्धनका लागि न्यूनतम समर्थन मूल्य कार्यक्रमलाई निरन्तरता दिइ व्यवसायिक कृषकहरुलाई थप प्रोत्साहन दिनका लागि व्यवसायिक कृषि उत्पादन कार्यक्रमलाई रु.८६ लाख विनियोजन गरेको छु ।
- ग्रामिण क्षेत्रका कृषि उपजहरुको संकलन गरी उपभोक्ता समक्ष पुर्याउन प्रभावकारी मानिएको कृषि एम्बुलेन्स सेवा र विभिन्न स्थानका किसान हाट बजार, मेला, महोत्सव सहयोग लगायतका प्रवर्द्धनात्मक कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- कृषि प्रसार, संवाद, प्रविधि हस्तान्तरण अन्तर्गत आकस्मिक बाली संरक्षण, आइपीएम पाठशाला, प्राथमिक कृषि प्रविधि प्रचार जस्ता कार्यक्रमको लागि रु. ३२ लाख सहित कृषि क्षेत्रको लागि कुल रू ४ करोड ५ लाख विनियोजन गरेको छु ।
- व्यवसायिक पशुपंक्षी उत्पादन, पशु स्वास्थ्य प्रवर्द्धन, पशु पकेट कार्यक्रम, व्यवसायिक फर्म सुदृढिकरण तथा मत्स्य विकास लगायतका कार्यक्रमलाई रु.१ करोड ५० लाख विनियोजन गरेको छु ।
- सेवा केन्द्र मार्फत पशुपंक्षी उपचारको लागि निशुल्क औषधी व्यवस्थापनका लागि रू. ३० लाख बजेट विनियोजन गरिएको छ।
- बाँझो जमिनमा घाँस खेति विस्तारको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ।साथै छाडा पशु व्यवस्थापनको लागि पुष्करिणी गोकुलधामलाई रू ५५ लाख बजेट विनियोजन गरेको छु ।
- श्रम, रोजगारी तथा उद्यमशिलता प्रवर्द्धन र व्यवसायिक वातावरण सुधार तथा लगानी सहजिकरण कार्यक्रमका लागि कुल रु. १ करोड ५० लाख विनियोजन गरेको छु ।
- सहकारी संस्थाहरुको व्यवसायिक क्षमता विकास गरी वित्तीय सुशासन प्रवर्द्धन गर्दै सहकारीलाई उत्पादनसँग जोडिने छ। सहकारी मूल्य मान्यता विपरित कार्य गर्ने संस्थाहरुलाई कारवाहीको दायरामा ल्याईने छ। सहकारी क्षेत्रमा कुल रू १ करोड विनियोजन गरेको छु। यसबाट सहकारी क्षेत्रको सवलिकरण भइ सदस्यहरुबाट संकलित बचत उत्पादनशिल क्षेत्रमा परिचालित हुने विश्वास लिइएको छ ।
- विभिन्न वस्तु तथा सेवाहरुको गुणस्तर नियमन र उपभोक्ताको हित संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गरेको छु ।
lzIff tkm{M
- सामुदायिक विद्यालयहरुको व्यवस्थापन र शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन लागि रू ८४ लाख र विद्यार्थीको दिवा खाजाको लागि नेपाल सरकारले प्रदान गरेको प्रति विद्यार्थी प्रतिदिन रू १५ मा महानगरपालिकाबाट रू १० थप गरी प्रतिदिन रू २५ पुर्याउनका लागि रू ४ करोड ३० लाख बजेट विनियोजन गरेको छु ।
- महानगरवाट संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले उत्कृष्ट नतिजा हासिल गरिरहेको छ । सो शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि रु १ करोड ६५ लाख छुट्याइएको छ ।
- बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीहरुका लागि तलब भत्ता अनुदान तर्फ रु. ४ करोड ७० लाख विनियोजन गरिएको छ ।
- महिला शिक्षकहरुको प्रसुती विदामा दैनिक शिक्षण सिकाई प्रभावित हुन नदिन सट्टा शिक्षक व्यवस्थापन गर्न रू २५ लाख विनियोजन गरिएको छ ।
- स्थानीय कला, संस्कृति, साहित्य, संगीत तथा प्राज्ञिक क्षेत्रमा क्रियाशील महानगरस्तरको पोखरा प्रज्ञा प्रतिष्ठानलाई आवश्यक बजेट व्यवस्था गरिएको छ ।
- महानगरपालिकाले खेलकुदको प्रवर्द्धन र विकासका लागि विद्यालय तहदेखि राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना तथा सहकार्य गरिरहेको छ । खेलकुद प्रवर्द्धन कार्यका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
- कक्षा ६ देखि १२ सम्मका छात्राका लागि विद्यालयमा उपलब्ध हुने गरी नि:शुल्क सेनेटरी प्याडको व्यवस्थापनको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
- महानगरपालिकामा शिक्षा, खेलकूद तथा यूवा र प्रज्ञा प्रतिष्ठान सम्वन्धी कार्यक्रम सञ्चालन गर्न रु. १ अर्ब ६५ करोड विनियोजन गरिएको छ।
स्वास्थ्य tkm{M
- महानगरपालिकाले सबै वडाहरुमा रहेका आफ्ना स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिदै आएको निशुल्क आधारभुत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाई सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्यको पहुँच सुनिश्चित गरिनेछ ।
- नेपाल सरकारले निशुल्क बितरणका लागि तोकेका ९८ प्रकारका औषधी तथा स्वास्थ्य सामाग्री नियमित आपूर्तिको सुनिश्चितता गर्न रू १ करोड ९ लाख व्यवस्था गरिएको छ।
- महानगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको विस्तृत अध्ययन गरी आवश्यकता र औचित्यताका आधारमा संस्थाहरुको संख्या तथा दरबन्दी पुनरावलोकन गरी सेवाको सुनिश्चितता तथा संस्थाको दिगो व्यवस्थापन गरिनेछ ।
- नसर्ने रोगहरुको बढ्दो समस्या न्यूनिकरण गर्न ४० बर्ष माथीका नगरबासीहरुलाई कम्तीमा वर्षको एकपटक नसर्ने रोग सम्बन्धी स्क्रीनिङ, परामर्श र उपचार सेवालाई निरन्तरता दिईनेछ।दीर्घ रोगी, अपाङ्गता भएका व्यक्ति तथा ७० बर्ष माथीका जेष्ठ नागरिकहरूलाई स्वास्थ्यकर्मीहरु घरघरमा गई निशुल्क परिक्षण सेवा उपलब्ध गराउने व्यवस्था मिलाईएको छ ।
- गर्भवती, सुत्केरी र नवजात शिशुका लागि विशेष कार्यक्रम संचालन गरिनेछ । महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोकथामका लागि प्राथामिकताका साथ तोकिएका स्वास्थ्य संस्थाहरुबाट नियामितरुपमा निशुल्क स्क्रिनिङ तथा सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिईएको छ ।
- आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतिलाई स्वास्थ्य सेवाको मुलधारमा एकिकरण गरिने छ। समुदायको सहभागितामा योगाभ्यास, जेष्ठ नागरिक आरोग्य कार्यक्रम, स्थानीय जडिबुटीहरुको उत्पादन तथा प्रशोधनलाई बजारीकरण र प्रयोगलाई प्रर्वर्द्धन गरिने छ ।
- पोखरा महानगरपालिकाको ३३ वटै वडाहरूमा डिजिटल पोलिक्लिनिक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
- महानगरपालिकाको समग्र स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न र जनस्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गर्न संघीय कार्यक्रम सहित कूल रु ३५ करोड बजेट विनियोजन गरिएको छ ।
;fdflhs ljsf; tkm{M
- विपन्न, एकल एवं लक्षित वर्गका महिलाहरुको उद्ययमशीलता विकासका लागि सञ्चालित चक्रीय कोषमा आधारित उपप्रमुखसँग महिला कार्यक्रमको निरन्तरताका लागि आगामी आर्थिक वर्ष थप रू. १ करोड व्यवस्था गरिएको छ ।
- समाजमा समस्याका रुपमा रहेको लैङ्गिक हिंसालाई न्यूनीकरण गर्न लैङ्गिक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धताः महिला पुरुष समसचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
- आगामी आर्थिक वर्ष लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रम र महिला तथा बाल प्रतिभा प्रतिस्पर्धा कार्यक्रम संचालन गर्न बजेट व्यवस्था गरिएको छ ।
- आपत्कालीन अवस्थाका महिला र बालबालिकाहरुको उद्धार, राहत र पुनर्स्थापना कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
- बालवालिकाको संविधान प्रदत्त हकहित र अधिकारलाई सुनिश्चित गर्न, बाल संरक्षणलाई प्रभावकारी बनाउन वडातहसम्म गठन भई क्रियाशील बाल अधिकार समिति, बालमंच लगायतका संस्थाको लागि बजेटको प्रबन्ध गरिएको छ ।
- लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित कार्यक्रम संचालन गरिनेछ। विभिन्न धर्म, जाति, संस्कार र संस्कृतिको जगेर्ना गर्न एवम् सीमान्तिकृत समुदायको सीप र पेशा व्यवसायलाई सहयोग पुर्याउन बजेट व्यवस्था गरिएको छ ।
- सडक मानव व्यवस्थापनका लागि आवश्यक सहयोग गर्न र नेपाल प्रहरीको सहकार्यमा लागू औषध दुर्व्यसनी विरुद्वको कार्यक्रम संचालन गर्न बजेट व्यवस्था गरिएको छ ।
- शहरी गरिबी न्यूनिकरण कार्यक्रम अन्तर्गत लुमन्ती र महानगरपालिकाको साझेदारीमा बिपन्न वर्गको आयआर्जन र आवास निर्माणका लागि रू १५ करोड विनियोजन गरिएको छ |
- सामाजिक विकास अन्तर्गत लक्षित वर्ग तर्फ कुल रू ६ करोड विनियोजन गरेको छु ।
पर्यटन
- समुन्नत पर्यटकीय पोखरा को दीर्घकालिन सोच बमोजिम महानगरवासीको बृहत्तर हितका लागि पोखरालाई नेपालको पर्यटन राजधानी घोषणाका अवसरमा अघि सारिएका रणनीतिक महत्वका विभिन्न नीति, कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि बजेट व्यवस्था गरिएको छ।
- अन्तरराष्ट्रिय गन्तव्यको रूपमा विकसित पोखरालाइ ब्राण्डिङ गर्दै थप पर्यटन प्रवर्द्धन मार्फत पोखरा, गण्डकी प्रदेश मात्र नभएर मुलुककै आर्थिक विकासमा गुणात्मक फड्को मार्न छिमेकी स्थानीय तह सँगको सहकार्यमा पर्यटन लक्षित कार्यक्रमहरू सञ्चालन गर्न रू. १ करोड ५० लाख विनयोजन गरिएको छ।
- आगामी सन् २०२५ लाइ “पोखरा भ्रमण वर्ष २०२५” घोषणा गरी संघ, प्रदेश सरकार र नीजिक्षेत्र सँग समन्वय र सहकार्य गरी पोखरामा पर्यटक आगमन संख्या कम्तिमा १५ लाख पुर्याउन निजि क्षेत्र सँगको साझेदारीमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ।
- पोखराका प्रमुख पर्यटकीय गन्तव्यहरूको आधिकारिक विवरण (Unique Story) तयार गरी महानगर पर्यटकीय गन्तव्य प्रोफाइल तयार गरी “पोखरा सबै मौसमका लागि” अभियान सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
- पोखरा महानगरपालिका वडा नं १ स्थित सीमपानीमा “मुक्तीक्षेत्र प्रवेशद्वार” निर्माण सम्वन्धी कार्य अघि बढाउन आवश्यक बजेट व्यवस्था गरिएको छ ।
- फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा विच निर्माणको काम शुरुआत गर्न रू. २ करोड व्यवस्था गरिएको छ ।
- फेवाताल छेउको ऐतिहाँसिक रत्न मन्दिरलाई प्यालेस म्यूजियमको रूपमा विकास गर्न, सहिदचोक—हल्लनचोक सडक खण्ड पर्यटन प्रवर्द्नन गर्न उक्त क्षेत्रमा वैकल्पिक सवारी व्यवस्थापन गरी पैदलिकरण लागू गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ।
- सिद्वार्थचोक—विन्ध्यवासिनी सडक खण्डमा पर्ने सम्पदा वस्तीको संरक्षण, विकास तथा प्रवर्द्धनका लागि रू १ करोड विनियोजन गरेको छु ।
- पोखरा महानगरपालिका हुँदै मादी र रूपा गाँउपालिका जोड्ने ऐतिहाँसिक रोयल ट्रेकलाई विस्तृत अध्ययन गरी नक्शांकन, विकास र प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
- मुस्ताङचोक-सहिदचोक खण्ड, चिप्लेढुङ्गा-सभागृह खण्ड र जिरो-विन्ध्यवासिनि खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि रू ३ करोड बजेट व्यवस्था गरेको छु ।
- फेवा फेरो पदमार्ग निर्माणलाई रू ५० लाख र ड्यामसाइड पञ्चासे पर्यटकीय मार्ग विकासका लागि रू ९० लाख व्यवस्था गरेको छु ।
- एशियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने शहरी उत्थानशिलता तथा जिविकोपार्जन सुधार आयोजनाका लागि रू २६ करोड १६ लाख विनियोजन गरेको छु। जसमा एकिकृत पञ्चासे क्षेत्र विकास योजना, ९ ताल जोड्ने साइकल मार्ग, फेवा लेक अर्गानिक ट्रेल, विन्ध्यवासिनि सम्पदा क्षेत्र विकास परियोजना लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।
- पर्यटन तथा शहरी विकासका कार्यक्रम सञ्चालनका लागि कुल रू. ५६ करोड व्यवस्था गरिएको छ।
वन, वातावरण तथा विपद् व्यवस्थापन
- पोखरा महानगरपालिका क्षेत्र भित्रका नदी घाटको संरक्षण, सम्वर्द्धन र नदी नियन्त्रण कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- विपद् व्यवस्थापनका लागि पूर्व तयारी कार्यक्रम मार्फत जोखिम न्यूनीकरण र शहरी सडकमा खाल्डाखुल्डीका कारण सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।
- महानगरपालिकाको फोहरमैलाको अस्थायी व्यवस्थापन र वडा नं. ३३ मा जग्गा प्राप्ति प्रक्रियामा रहेको फोहरमैला प्रशोधन केन्द्र निर्माण कार्य थालनीका लागि आवश्यक सबै कार्य पूरा गर्न बजेट विनियोजन गरेको छु ।
- सन् २०४३ सम्म पोखरालाइ कार्वन तटस्थताको लक्ष्य हासिल गर्न नगरस्तरीय उर्जा योजना (MEP) तथा कार्वन तटस्थ विकासको मार्गचित्र सम्बन्धी रणनितिक कार्ययोजना कार्यान्वयन गर्न बजेट व्यवस्था गरिएको छ।
- अधिक कार्वन उत्सर्जन हुने गतिविधिलाइ निरूत्साहित गर्न कोरियाली अन्तर्राष्ट्रीय सहयोग नियोग कोइकाको सहयोगमा घरघरबाट निस्कने फोहरलाई श्रोतमै वर्गिकरण गरी रिसाइकल र अपसाइकल गरेर पुनःप्रयोगयोग्य सामग्री निर्माण र कोशेलि घर मार्फत बजारिकरण गर्न समुदाय तथा व्यवसायी लक्ष्यित कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
- फेवाताल बेगनासताल लगायत पोखराका सबै ताल तलैयाहरुको संरक्षण गरी तालको सुन्दरता अभिवृद्धि गर्ने प्रकृतिमा आधारित पदमार्ग लगायतका संरचना निर्माणका लागि बजेट व्यवस्था गरिएको छ।
पूर्वाधार विकास
- आगामी आर्थिक वर्षमा आफ्नै भवन नभएका वडा कार्यालयका भवन निर्माण, पोखरा घर र दमकल बहुउद्देशीय भवन निर्माणलाई निरन्तरता दिइएको छ।महानगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य थालनी गर्ने व्यवस्था मिलाइनेछ ।
- बीपी मार्ग सडक स्तरोन्नती गर्न रू ८ करोड विनियोजन गरिएको छ।
- निर्माणको चरणमा रहेका बहुवर्षीय सडक, पुल तथा चालु आर्थिक वर्षमा दायित्व सिर्जना भएका क्रमागत योजनाहरु सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको छ ।
- एक घर एक धारा खानेपानी आयोजना कार्यक्रम लगायतका निर्माणाधिन खानेपानी तथा सरसफाई आयोजनाको निर्माण तथा मर्मत सम्भारको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
- हामी बनाउँछौ हाम्रो महानगर अन्तर्गत स्थानीय उपभोक्ता र महानगरपालिकाको ५०/५० प्रतिशत साझेदारीमा पूर्वाधार आयोजना सञ्चालन गर्न प्राथमिकता दिइनेछ, यसका लागि बजेट विनियोजन गरिएको छ ।
- शहरी सुन्दरतामा प्रतिकुल असर गर्ने सवारी साधन मर्मत वर्कसपहरुलाई व्यवस्थित गर्न अटो भिलेज स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
- विश्व बैंक सहयोगमा सञ्चालित तालचोक-बेगनास, शिसुवा-शिसाघाट तथा बिरौटा-दोबिल्ला-बागमारा-कोत्रे सडकका लागि रू १ अर्ब ६५ करोड विनियोजन गरिएको छ।
;+:yfut ljsf; tkm{M
- पोखरा महानगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरुको क्षमता विकासका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
- सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण र बजार अनुगमन तथा नियन्त्रण कार्य प्रभावकारी रुपले कार्यान्वयन गर्न बजेट व्यवस्था गरिएको छ ।
- नगरप्रहरीलाई साधन र स्रोत सम्पन्न बनाइ ब्यारेकमा व्यवस्थापन गरिनेछ। महानगर कानूनको परिपालनामा नगर प्रहरीको भूमिका सुदृढ बनाइनेछ ।
- कर्मचारीहरुलाई सार्वजनिक खरिद, ड्रइङ्ग डिजाइन, लागत अनुमान तथा योजना व्यवस्थापन सम्बन्धमा दक्ष जनशक्तिद्वारा तालिम र प्रशिक्षण कार्यक्रम संचालन गर्न बजेट विनियोजन गरिएको छ ।
- न्यायिक समितिको काम कारवाहीलाई प्रबिधिमैत्री बनाई थप प्रभावकारी बनाउन जनस्तरमा प्रचार गर्ने उद्देश्यले नागरिक, जेष्ठ नागरिक, विद्यार्थी, श्रमिक र संचारकर्मी सँग न्यायिक समिति कार्यक्रम संचालनका लागि बजेट व्यवस्था गरिएको छ ।
- महानगरपालिकाबाट प्रवाह हुने सेवा र गरिने विकास निर्माण सम्बन्धी कार्यको सार्वजनिक परीक्षण गर्न एवं सरोकारवाला र प्रभावित वर्गद्वारा आफ्ना गुनासा र पीरमर्का आदानप्रदान गरी सेवाको गुणस्तर सुधार गर्न सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ नियमित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।
- महानगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवालाई सहज, सरल र पारदर्शी बनाउन प्रविधिको उच्चतम उपयोग गरिनेछ।
- सार्वजनिक सम्पत्तिको यथार्थ विवरणको अभिलेख राखी यसको संरक्षण र सम्वर्द्धन गर्दै उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने नीति अनुसार सार्वजनिक सम्पत्तिको लगत संकलन, विपद् प्रतिकार्यका लागि खुला स्थान पहिचान एवं सोको प्रोफाइल तयार गर्नका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
- राजस्व सुधार गर्न स्वयंसेवक परिचालनका लागि रू २ करोड व्यवस्थापन गरिएको छ।
;efWoIfHo”,
अव म माथिका नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
- आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथमिकताहरु पूरा गर्न प्रस्तावित कार्यक्रमहरुका लागि रु. ७ अर्व ५१ करोड ३२ लाख ८३ हजार विनियोजन गरेको छु । उक्त बजेटको खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकार अनुदानवाट रू ४ अर्व २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानवाट रू ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयवाट रू १ अर्व ५५ करोड ५१ लाख ४० हजार व्यहोरिनेछ । त्यसै गरी संघीय राजश्व बाडँफाँटबाट रू ३८ करोड ३३ लाख ७५ हजार व्यहोरिने छ । प्रदेश राजश्व वाँडफाँट ९ करोड ७२ लाख २० हजार व्यहोरिने छ । स्थानिय राजस्व बाँडफाँटबाट रु १ अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट रू ५४ लाख २४ हजार व्यहोरिने छ। नगर विकास कोष ऋण रू ४ करोड ४८ लाख ८० हजार व्यहोरिने अनुमान छ।
- पोखरा महानगरपालिकाको आर्थिक विधेयक, २०८१ तथा विनियोजन विधेयक, २०८१ सम्मानित सभामा पेश गरेको छु ।
सभाध्यक्ष्य ज्यू,
अव म आगामी आर्थिक वर्ष २०८१/ ८२ को राजश्व परिचालन नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
राजश्व परिचालन नीति
- राजश्व प्रशासनलाई बढी विश्वसनीय र यथार्थपरक बनाउन नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयले तयार गरेको स्थानीय संचित कोष व्यवस्थापन प्रणालीमा समाविष्ट भइ आएको राजस्व मोड्युल लागू गरिने छ । अनलाइन प्रणालीका माध्यमबाट कर भुक्तानीको व्यवस्था मिलाइनेछ ।
- महानगरपालिका र वडा कार्यालयमा करदाता शिक्षा कार्यक्रम संचालन गरिनेछ । करदातालाई करको दायरामा ल्याउन स्वयंसेवक परिचालन गरिनेछ
- महानगरपालिकामा दर्ता भएका व्यवसायलाई पहिचान हुनेगरी बर्गीकरण गर्न अध्ययन गरिनेछ।
- करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउन समग्र राजस्व प्रणालीलाई करदातामैत्री बनाइनेछ।महानगरपालिका क्षेत्रमा रहेका करदाताहरुलाई करको दायरामा ल्याउन अनलाइन प्रणालीबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइनेछ ।
- राजस्व संकलन प्रणालीलाई प्रभावकारी बनाउन राजस्व महाशाखा अन्तर्गत अनुसन्धान तथा प्रवर्द्धन शाखा स्थापना गरिनेछ । साथै द्रुत कार्य समूह गठन गरी कर सम्वन्धी गुनासा तथा उजुरीहरु तत्काल फर्छ्योट गर्ने व्यवस्था कार्यान्वयनमा ल्याईनेछ।
- राजश्वको ठूलो हिस्सा ओगट्ने आय ठेक्कालाई समय सिमा भित्र व्यवस्थापन गर्न वार्षिक कार्ययोजना वनाई कार्यान्वयन गरिनेछ ।
- सम्पत्ति कर वास्तविक मूल्यांकन र व्यवसाय कर कारोवारका आधारमा तिर्ने प्रणालीको विकास गरिनेछ । महानगरको राजश्वलाई महानगरकै विकासमा उपयोग गर्ने र राजश्व आयआर्जन गर्दा प्राकृतिक स्रोत साधन संरक्षण र वातावरणमा प्रतिकूल असर नपर्ने गरी कार्यान्वयन गरिनेछ ।
कर छुट
- पोखरा महानगरपालिकामा रहेका सरकारी निकाय, सार्वजनिक संस्थानहरु, संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएका मुनाफा रहित संस्थाहरुको लागि कानुन बमोजिम कर छुटको व्यवस्था कायम गरिनेछ ।
- चालु आर्थिक वर्षको सम्पुर्ण बहाल कर असोज मसान्त भित्रमा अग्रीम भुक्तानी गरेमा बहालकरमा आर्थिक ऐन बमोजिम १० प्रतिशत छुट दिईनेछ ।
- पोखरा महानगरपालिका क्षेत्रभित्र संचालित उद्यम व्यवसायले चालु आर्थिक वर्षको व्यवसाय कर पौष मसान्त भित्रमा दाखिला गरेमा व्यवसाय करमा आर्थिक ऐन बमोजिम १० प्रतिशत छुट दिइनेछ।
- नक्सापास परामर्श सेवा कार्यविधि अनुसार परामर्शदातालाई सम्झौता गर्दा लिँदै आएको धरौटी रकम आगामी आ.व. देखि खारेज गरिएकोछ।
अन्त्यमा,
प्रस्तुत बजेट तर्जुमा गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, राजश्व परामर्श समिति, विषयगत समितिहरू, शहरी योजना आयोग, महाशाखा, शाखा र सम्पूर्ण कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
बजेट तर्जुमा जति महत्वपूर्ण छ यसको कार्यान्वयनवाट यसको सार्थकता झल्किन्छ । यसर्थ, बजेट कार्यान्वयनमा नगरसभासदज्यूहरु, कर्मचारी, नागरिक समाज एवं सम्बद्ध सबै सरोकारवालाहरुवाट रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद ।जय पोखरावासी ।।