
पोखरा ५, फागुन
गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कानुन सचिव शम्भुराज रेग्मीलाई सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार २०८० प्रदान गर्ने घोषणा गरेको छ । स्थापना दिवसको अवसरमा पोखरामा आयोजित समारोहमा निजामती सहित कार्यसम्पादनमा जिल्लाका उत्कृष्ट कार्यालयको घोषणा गरिएको हो । उक्त पुरस्कारको राषि १ लाख रहेको छ ।

बागलुङका रेग्मी खरिदारबाट निजामती सेवामा प्रवेश गरेका हुन् । मधेश प्रदेशमा पनि कानुन सचिव भइ काम गरेका उनी २ वर्षदेखि गण्डकी प्रदेशमा छन् । उक्त पुरस्कार दिइने घोषणाले आफूलाई निकै हर्सित भएको उनले सुनाए । आफुले २४ वर्षदेखि निरन्तर लागेकाले त्यसको प्रतिफल स्वरुप एउटा सम्मान हात परेको उनको भनाई थियो ।
त्यसै गरी अन्य तीन जनालाई उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । ७५ हजार राशिको उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारबाट जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय पर्वतमा कार्यरत विष्णुहरि अधिकारी (इन्जिनियर आठौं), मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत प्रदीपचन्द्र सुवेदी र यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा कार्यरत समीना पुन (मेकानिकल इन्जिनियर सातौं) पुरस्कृत हुने भएका छन्।
यसैगरी, प्रदेश निजाती सेवा पुरस्कारबाट ६ जनालाई पुरस्कृति हुने भएका छन्। जसको पुरस्कार राषि ५० हजार रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत सातौं शिव लम्साल, आर्थिक मामिला मन्त्रालयका कानुन अधिकृत तेजेन्द्रप्रसाद ढकाल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका आयुर्वेद चिकित्सक डा. शंकर गौतम, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका अधिकृत छैटौं (प्राविधिक) सुरेशकुमार श्रेष्ठ, गोरखा असपताली सिनियर अनमी प्रतिमा श्रेष्ठ, पर्यटन तथा उद्योग कार्यालयका सहायकस्तर पाँचौंका अर्जुनप्रसाद काफ्लेले उक्त पुरस्कार प्राप्त गर्ने गर्ने भएका हुन् । उनीहरुलाई गणतन्त्र दिवस अवसरमा हस्तान्तरण गरिने भएको छ ।

यसैबिच प्रदेश सरकारले गैर सरकारी संस्था निक साइमन्स इन्स्टिच्यूट नेपाललाई सम्मान गरेको छ । सन् २००६ देखि अनवरत रुपमा गण्डकी प्रदेशमा स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै प्रदेश सरकारले धन्यवाद सहित सम्मान गरेको हो । प्रदेश सरकारले यही फागुन ३ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले पोखराक्लिकलाई बताइन्।