फोटो पत्रकार रञ्जितलाई पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्रदान

-


     पोखरा क्लिक     
     माघ २९ गते २०८० मा प्रकाशित



पोखरा २८, माघ

पोखराका अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य रन्जितलाई नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौंले आइतबार काठमाण्डौंमा आयोजित २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको अवसरमा उक्त अवार्ड प्रदान गरेको हो ।

नेपाली खेलकुद देखि विभिन्न समसामहिक बिषयमा फोटो पत्रकारिता गर्दै आएका रन्जितले पोखरामा हुने धेरै खेलकुद गतिविधि देखि पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न समेत निसवार्थ भावले लाग्दै आएका छन्। नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अवार्ड प्रदान गरे ।नेपाली खेलकुद क्षेत्रमा अनवरत र निस्वार्थरुपमा खेल क्षेत्रमा येगदान दिएका कारण उनलाई सम्मान गरिएको मञ्चले जनाएको छ ।

त्यसै गरी एथलेटिक्सका दीपक अधिकारी र महिला तर्फ राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भए ।याक एन्ड यति होटलमा सम्पन्न अवार्डमा दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पार्दै उपाधि हात पारे भने महिला तर्फ राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन् । दीपक १६औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् ।

टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन् । वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथ्लेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित भए । विजेताहरुलाई अवार्डको साथमा पल्सर १६० सीसीको मोटरसाइकल प्रदान गरिएको थियो ।

युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए । लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे । खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन् ।

प्रधानलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र महासचिव प्रज्वल ओलीले अवार्ड र ५० हजार रुपैयाँ प्रदान गरे ।एसियन स्पोर्टस जर्नालिस्ट अवार्डबाट हङकङ रेमण्ड चुलाई प्रदान गरिएको छ । उनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अवार्ड प्रदान गरे ।

वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकसँगै पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाए भने विभिन्न ९ विधामा खेलकर्मीहरु सम्मानित गरिएको हो । कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड, पारा एथलिट अवार्ड र एसियाली खेलकुद पत्रकार सम्मान पनि प्रदान गरिएको थियो । लाइफटाइम एचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियाली पत्रकारले जनही ५० हजार रुपैयाँ समेत प्राप्त गरे ।