नकरात्मक भित्र सकरात्मक पक्ष खोजौंस् आर्थिक मामिला मन्त्री आलेमगर,तेक्वान्दो संघ गण्डकीको तेश्रो साधरण सभा

-


     पोखरा क्लिक     
     माघ २६ गते २०८० मा प्रकाशित


पछिल्लो समय नेपाली समाज नकरात्मकतर्फ उन्मुख भएकोप्रति गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले चिन्ता व्यक्त गर्नुुुभएको छ । शुक्रबार नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको तेश्रो वार्षिक साधरण सभाको पोखरामा उद्घाटन गर्दै उहाँले सो भनाई राख्नुभएको हो । उहाँले पछिल्लो समय हरेक कुरालाई नकरात्मक तरिकाले मात्रै लिने गरिएको भन्दै नकरात्मकभित्र पनि सकरात्मक बिषयबस्तु ओल्याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले सिमित श्रोत साधनका कारण खेलकुदका विभिन्न गतिविधिमा मन फुकाएर सहभागि हुन नसकेपनि केही न केही हिसावले जोडिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग सिमिति श्रोत साधन छ, मन फुकाएर सहभागि हुन नसकेको भएपनि केही न केही हिसावले जोडिइरहेका छौं । संघ, प्रदेशमा खेलकुद मन्त्रालय छ तर अपेक्षा अनुसारको बजेट विनियोजन भएको छैन्, आगामी दिनमा पनि यसलाई कसरी सम्बोधन गर्न सक्छौं त्यसमा हाम्रो प्रयास रहनेछ ।’

गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन तेक्वान्दो खेलको ठूलो भूमिका रहेको बताउनुभयो । संघले पोखरामा केही महिनापहिला गरेको माउण्ट एभरेष्ट च्याम्पियनसिपले सुस्ताएको पोखराको पर्यटन प्रर्वद्धनमा पुर्याएको योगदानको भने खुलेर प्रशंसा गर्नुभयोे । खेल क्षेत्रको विकासमा अरुले केही गरेन भन्नुभन्दापनि यसको विकास र विस्तार गर्न सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघका केन्द्रिय महासचिव दिपराज गुरुङले नेपालमा तेक्वान्दो खेलको इतिहासबारे जानकारी दिनुभयो । उहाँले संख्यात्मक हिसावमा धेरै मेडल भित्र्याउन सफल तेक्वान्दो सफल भएको दाबी गर्नुहुदै मुलुकको शान र नेपाली जनताको इज्जत राख्न संघ सफल भएको जिकिर गर्नुभयो । खेलमार्फत कुनैपनि राष्ट्रलाई चिनाउन प्रतियोगिताको आयोजना, पूर्वाधारको विकास नभएसम्म त्यसमा सफलता प्राप्त गर्न नसकिने बताउनुभयो । उहाँले नीति निर्माण गर्ने तहमा त्यसको लागि अध्ययन गर्ने समूह नै नभएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बाशुदेव अधिकारीले संघले देश र जनताको अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएको बताउनुभयो । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले खेल क्षेत्र र खेलाडीका कारण राष्ट्रको इज्जत धानिरहेको अवस्थामा बजेट निर्माणका क्रममा राज्यको आखा पर्न नसकेको प्रति गुनासो गर्नुभयो ।

खेल पदक मात्र नभई जीवन पद्धती, अनुशासन, राष्ट्रिय एकता, स्वास्थ्य, विज्ञान लगायतका पाटोबाट हेरिनुपर्नेमा जोड दिनुहुदै तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन बहादुर गुरुङले खेलकूद प्रविधिमैत्री तेक्वान्दो खेल बिकासमा आजको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा संघका महासचिव रमेश पौडेलले आफ्नो महासचिवको प्रतिवेदन पेश गर्दै तेक्वान्दो खेल बिकासमा सबै संवेदनशील भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष बासुदेव त्रिपाठी, संघका उपाध्यक्ष कमल पराजुली, महासचिव रमेश पौडेल लगायतले बोल्नुभएको थियो ।